पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन सकिएनः व्यवसायी



 

नेपाल समाचारपत्र
काठमाडौं
पर्यटन क्षेत्रमा आबद्ध उद्यमी व्यवसायीहरूले पर्यटन विकास र प्रवद्र्धनमा सरकारको उच्च प्राथमिकता रहेको भनिए पनि त्यसबाट अपेक्षित प्रतिफल आउन नसकेको गुनासो गरेका छन्। भूकम्पपछि पर्यटन क्षेत्र झनै जीर्ण बन्दै गएको विश्लेषण व्यवसायीको छ।

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा आयोजित पर्यटन क्षेत्रका चुनौती तथा विकासका सम्भाव्यता विषयक छलफल कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले तीन वर्ष अघिको भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक महत्त्वका सम्पदाहरू आजसम्म पनि टेकोकै भरमा रहनु दुःखद भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवको ध्यानाकर्षण गराएका हुन्।

सडकलगायतका पूर्वाधार क्षेत्रको विकास र मर्मत हुन नसकेका कारण नयाँ पर्यटकीय गन्तव्यहरूको विकास हुन नसकेको पर्यटन व्यवसायीको भनाइ रहेको छ। नेपाल आउन चाहने पर्यटकको लागि आवश्यक अन्तर्राष्ट्रिय विमानस्थलको अभाव तथा हवाई सञ्जालको कमी हुनु, भएका पर्यटकीय क्षेत्रहरू पनि उचित रेखदेखको अभावमा जीर्ण बन्दै जानुलगायतका कारणबाट पर्याप्त सम्भावना हुँदाहुँदै पनि पर्यटन क्षेत्र अगाडि बढ्न नसकेको धारणा व्यवसायीहरूले राखेका छन्।

पर्यटन क्षेत्रको विकासका लागि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्। गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्नुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४सैं घण्टा सञ्चालन गर्न मिल्ने गरी स्तरोन्नती गर्नुपर्ने लगायतका विषयमा सरकार गम्भीर नभएको उनीहरूको भनाइ थियो। त्यसैगरी राष्ट्रिय ध्वजावाहकको क्षमता वृद्धि गर्नुपर्नेमा पनि व्यवसायीहरूले विशेष चासो देखाएका थिए।

पर्यटकीय महत्त्वका पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणलाई तीव्रताका साथ सम्पन्न गर्ने विषयलाई सरकारले गम्भीरताका साथ नलिएको आरोपसमेत व्यवसायीले लगाए। नेपाल–भारत सीमा क्षेत्रमा पर्यटकहरू माथि गरिने व्यवहारमा परिवर्तन गरिनुपर्ने र भारतीय ५ सय र हजार दरका नोटको समस्या समाधान गरी भारतीय २ हजार दरका नोट चलनचल्तीमा ल्याउन हालसम्म पहल हनु नसकेको उनीहरूको भनाइ रहेको छ।

साना ठूला सबै स्तरका होटलहरूलाई राज्यले गर्ने व्यवहार समान हुनुपर्ने, प्रमुख पर्यटकीय क्षेत्रहरूमा सडक, खानेपानी, शौचालयको उचित प्रबन्ध गर्नुपर्ने सुझाव व्यवसायीहरूले दिएका थिए। त्यसैगरी नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा नियमित प्रचारप्रसार गर्न विभिन्न देशमा कार्यरत नेपाली कुटनीतिक नियोग तथा गैरआवासीय नेपालीलाई परिचालन गरिनुपर्ने व्यवसायीहरूले बताएका छन्। नेपालमा माइस पर्यटनको निकै धेरै सम्भाव्यता रहेकाले यसको प्रचारप्रसारमा सरकारले विशेष रणनीति अख्तियार गर्नुपर्ने, नेपाल आउने पर्यटकलाई बहुप्रवेशाज्ञा लगाउने व्यवस्था गरिनुपर्ने लगायतका सुझावहरू उनीहरूले राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पर्यटन मन्त्री देवले नीतिगत सुधार सहित महत्त्वपूर्ण पूर्वाधार विकासका लागि मन्त्रालयले कार्य अगाडि बढाई सकेको जानकारी गराउनु भएको थियो। निजी क्षेत्रका गुनासो र सुझाव सुनिसकेपछि मन्त्री देवले भन्नुभयो–‘राम्रो मान्छेहरूको टिम बनाएर तपाईहरूले देख्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। आवश्यक पूर्वाधार विकासका लागि हामीले काम थाली सकेको छौं। तपाईहरू आ–आफ्नो तहबाट पर्यटन क्षेत्रको विकासमा लाग्नु होस मेरो पूरा सहयोग रहने छ।’

पर्यटन क्षेत्रको समुचित विकासका लागि अन्य मन्त्रालयहरूसँग समेत समन्वय गरी कार्य गर्ने प्रतिबद्धता जनाउनुहुँदै मन्त्री देवले पर्यटन क्षेत्रको विकासका लागि तत्काल के–के गर्न आवश्यक छ संस्थागत रूपमा सुझाव दिन महासंघसँग आग्रह गर्नुभयो। साथै उहाँले आफूले आगामी ६० दिनमा गर्ने प्रमुख कार्ययोजनाहरू सार्वजनिक समेत गरिसकेको जानकारी गराउनुभयो।

महासंघका अध्यक्ष भवानी राणाले मुलुक विस्तारै अगाडि बढ्ने आशा पलाईरहेको अवस्थामो पर्यटन क्षेत्रको विकासका लागि धेरै चुनौतीहरू रहेको बताउनुभयो। कमजोर पूर्वाधार नै पर्यटन विकासको सबैभन्दा ठूलो चुनौती रहेको स्पष्ट पार्नुहुँदै अध्यक्ष राणाले अन्तर्राष्ट्रिय विमानस्थल, सडक सञ्जाल विस्तारसहित नयाँ पर्यटन गन्तव्यको विकासमा राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो। महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटन क्षेत्रका लागि एक दुई वटा महत्त्वपूर्ण काम मात्र सम्पन्न गर्न सके पनि नेपालको आर्थिक विकास तीव्र रूपमा अगाडि बढ्ने ध्ँँरण्ँँ राख्नुभयो। धेरै कुरा भन्दा पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण कार्यलाई तत्काल अगाडि बढाउन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थललाई छिटो सम्पन्न गर्न मन्त्री देवलाई आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्