१८ देशका ८० महिला उद्यमी काठमाडौंमा, ठूला कम्पनीको नेतृत्वमा महिला आउनुपर्नेमा प्रमको जोड



 

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले अब महिला ठूला कम्पनीको नेतृत्व तहमा आउनुपर्ने बताउनुभएको छ। सोमबार अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलनको उद्घाटन गनुहुँदै प्रधानमन्त्री देउवाले महिला साना तथा मझौला खालका उद्यममा मात्र सीमित हुन नहुनु बताउनुभएको हो।

सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आर्थिक विकासका लागि महिलाहरूको सहभागिता अतुलनीय रहेको बताउनुभयो। उहाँले आर्थिक रूपले एक महिला सक्षम तथा आत्मनिर्भर हुनु भनेको सिंगो परिवार नै समृद्ध हुनु रहेको बताउनुभयो। उहाँले भन्नुभयो–‘नेपाली महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षण गर्न लगानीमैत्री वातावरण तयार गर्ने काम सरकारको प्राथमिकतामा छ।’

पूरै देशको उत्थानका लागि महिलामा लगानी बढाउन आवश्यक रहेको औंल्याउनुभयो। देउवाले नेपालको संविधानले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा उल्लेख्य रूपमा महिला सहभागितालाई सुनिश्चित गरेको बताउँदै संविधानले महिलालाई सशक्त तथा अधिकार सम्पन्न बनाउन मद्दत पुगेको बताउनुभयो।

प्रधानमन्त्री देउवाले महिला परिवर्तित समयअनुसार व्यापार र उद्यममा आउनेक्रम बढेको बताउनुभयो। महिलाहरूलाई साना तथा मझौला उद्यमतर्फ आकर्षित गर्न नियम कानुनमा सुधारको आवश्यकता रहेको उहाँको भनाइ छ।
दक्षिण एसिया महिला विकास मञ्चद्वारा आयोजित उक्त सम्मेलनमा सार्क सदस्य राष्ट्रलगायत १८ देशका ८० महिला उद्यमी तथा नीति निर्माताको सहभागिता रहेको छ। दुई दिने सो सम्मेलनमा पर्यटन, कृषि तथा सूचना प्रविधिका क्षेत्रमा संलग्न महिला उद्यमीले हासिल गरेका सफलता, भोग्दै आएका समस्या एवम् लगानीका बारेमा छलफल हुने बताइएको छ। उद्यमशीलता विकाससम्बन्धी रणनीतिमा केन्द्रित रहने सम्मेलनका सहभागी सम्बद्ध विज्ञहरूले सार्कमा महिला अरू क्षेत्रभन्दा तुलात्मक रूपमा पछाडि रहेको बताएका छन्।
विश्व व्यापार संगठनका अनुसार यस क्षेत्रको कुल व्यापारको १० प्रतिशत हिस्सा मात्र महिलाको छ। तीमध्ये पनि साना तथा मझौला व्यापार⁄उद्यममा महिला संलग्न छन्।

उद्घाटन समारोहमा बोल्दै आयोजक संस्थाका अध्यक्ष प्रमिला आचार्य रिजालले महिलालाई उद्योग व्यवसायमा थप आकर्षण गर्न सम्मेलन आयोजन गरिएको जानकारी दिनुभयो। उहाँले यस क्षेत्रमा भएका ज्ञान र प्रविधिलाई एक आपसमा बाँड्न पनि सम्मेलन प्रभावकारी हुने दाबी गर्नुभयो। त्यस्तै सार्क सचिवालयका महासचिव अमजद हुसेनले महिलाको आर्थिक तथा सामाजिक सुधार ल्याउन महिला उद्यमशीलता विकास गर्न जरुरी भएको बताउनुभयो।

उद्घाटन समारोहमा उद्योगपति विनोद चौधरीले नेपालका महिला राजनीतिक रूपमा धेरै अगाडि रहेको बताउनुभयो। तर, उद्योग व्यवसायमा भने सहभागिता न्यून रहेको उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्