नाडालको १६औं ग्रान्डस्लाम उपाधि



 

न्युयोर्क, (एजेन्सी)
यूएस ओपन टेनिसमा पुरुष सिंगल्समा उपाधि जितेपछि शीर्ष वरीयता प्राप्त राफाल नाडालले करिअरमा १६औं ग्रान्डस्लाम उपाधिसंख्या पुर्याएका छन्।

३१ वर्षीय स्पेनी खेलाडीका लागि यो उपाधिसँगै यस वर्ष सुखद पनि बन्यो। नाडालले सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने रोजर फेडेररसँग दूरी पनि कम गरे। फेडेरर र नाडालबीच तीन ग्रान्डस्लाम उपाधिसंख्याको फरक रहेको छ। स्विस खेलाडी फेडेररले १९ ग्रान्डस्लाम उपाधि जितेर कीर्तिमान रचेका छन्।

नाडालले न्युयोर्कमा आइतबार राति भएको यूएस ओपनको फाइनल खेलमा दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई ६–३, ६–३, ६–४ ले हराएका थिए। यो खेल जित्न उनलाई २ घण्टा २७ मिनेटको समय लागेको थियो। एन्डरसन फाइनल पुगेलगतै टेनिसका विज्ञहरूले नाडालले १६औं ग्रान्डस्लाम जित्ने तय भएको अड्कल काटेका थिए।

साथै नाडाल र फेडेररले एउटै क्यालेन्डर वर्षमा चारैवटा ग्रान्डस्लाममध्ये २–२ वटा उपाधि जितेको यो ११ वर्षपछिको अवसर थियो। नाडालले यसै वर्षको फ्रेन्च ओपनको उपाधि जितेका थिए। त्यस्तै फेडेररले अस्ट्रेलियन ओपन र विम्बल्डन उपाधि जितेका थिए। यस्तै यी दुई खेलाडीले वर्षमा चारैवटा ग्रान्डस्लाम उपाधि जितेको चौथो अवसर पनि थियो।

प्रतिक्रिया दिनुहोस्