रहेनन् ठाडोभाका शिरोमणि भेडीखर्के



 

नवराज पहाडी, लमजुङ

ठाडोभाका शिरोमणि भेडीखर्के साइँला (दीर्घराज अधिकारी) को निधन भएको छ।
उनको ८४ वर्षको उमेरमा लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित सुन्दरबजारस्थित निवासमा सोमबार साँझ ५ः३५ बजे निधन भएको हो। ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका संरक्षकसमेत रहेका उनी जेठी छोरी लीला र ज्वाइँ शमशेर लौडारीको साथमा बस्दै आएका थिए।

गत भदौ २० गतेमा उनको उपचारका लागि काठमाडौं लगिएको थियो। वीर अस्पतालमा गरिएको ३६ घण्टाको उपचारबाट आफैं शौचालय जान सक्ने अवस्थामा फर्र्केपछि उनलाई लमजुङ ल्याइएको उनका ज्वाइँ एवं ठाडोभाका लोककला प्रतिष्ठानका सदस्य शमशेर लौडारीले बताए। उनका अनुसार भेडीखर्केलाई दमका साथै ज्वरो, खान मन नहुने आदि समस्या थियो। लौडारीका अनुसार उनको शरीरमा पानीको मात्रा निकै कम रहेको चिकित्सले बताएका थिए।
सोमबार बिहान १० बजेबाट उनको स्वास्थ्यमा अचानक गिरावट आएको थियो।

उनको बोली बन्द भएको थियो, मानिसलाई चिन्न छाडेका थिए। उनको स्वास्थ्य स्थिति बुझ्न र उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पतालमा भए पनि लगौं भन्ने अनुरोध गर्न पुगेकालाई उनकी छोरी लीलाले करिब २० दिनअघि भेडीखर्केले आफू यो वर्ष नबाँच्ने तथा मलाई तिमीहरूको काखमा मर्न दिँदैनौं भनेको बताइन्। ‘बुबाले यो घर छाडेर कतै जान्न भन्नुभएको छ, त्यसैले उपचारका लागि अन्यत्र लग्न पर्दैन’ –उनले भनेकी थिइन्।

यसैबीच, ठाडोभाका लोककला प्रतिष्ठान नेपालले एक शोक वक्तव्य प्रकाशित गर्दै उनको निधनले गहिरो दुःख लागेको जनाएको छ। प्रतिष्ठानले नसोचेको घटना बेहोर्नुपरेको उल्लेख गर्दै उनको निधनले नेपाली लोककलाका क्षेत्रमा ठूलो नोक्सानी भएको जनाइएको छ। ‘ठाडोभाका शिरोमणिजस्तो व्यक्तित्वलाई समय छँदै राज्यले चिन्न नसक्नु दुःखद स्थिति हो’ –प्रतिष्ठानको विज्ञप्तिमा भनिएको छ।
भेडीखर्के साइँलाको अन्तिम संस्कारका लागि आज मंगलबार बिहान शवयात्राका साथ पाउँदी आर्यघाट लगिने भएको छ।

प्रतिक्रिया दिनुहोस्