निर्माणक्षेत्रका समस्या र जिम्मेवार पक्ष



रामराज शर्मा
जीवनदेवी बन्जरा

घटना १ः खानेपानी तथा सरसफाइ मन्त्रालयका निवर्तमान सचिवले एक टेलिभिजन वार्तामा बताएअनुसार उहाँ आफैं मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कार्यको अनुगमन गरिरहेकै बखतमा उहाँकै सामुन्ने ट्रेन्च भत्किएर तीनजना कामदारको घटनास्थलमै मृत्यु भयको थियो। काठमाडौंको मुटु सीतापाइलामा भएको उक्त दुर्घटनामा मृत्यु हुनेका परिवारलाई ११ लाख रुपियाँ क्षतिपूर्ति दिएर उम्काइयो। उक्त ट्रेन्च २.५ मिटर गहिरो रहेको कुरा उहाँले नै बताउनुभएको छ। दुर्घटनापश्चात् सो दुर्घटनाको कारण केलाउँदै अब यस्ता दुर्घटना दोहोरिन नदिन के–के सावधानी अपनाउनुपर्ला भनेर कुनै समीक्षा भए⁄नभएको केही बताइएको छैन।

घटना २ः जुलाई ९ को एक टेलिभिजन कार्यक्रममा प्रसारित गरेअनुसार चित्लाङ (थानकोट सडकको कालोपत्र गर्ने काम भर्खर सम्पन्न भयको थियो। तर काम सम्पन्न भएको दुई महिना पनि नबित्दै सडकमा पुनः खाल्डाखुल्डी देखा पर्न थालिसकेको छ। भिडिओमा प्रस्टै देखिन्छ, उक्त कालोपत्र निकै थोरै मोटाइको छ र कुनै बल प्रयोग नगरीकनै हातका औंलाले उप्काउन सकिन्छ। केही महिनाभित्रै बाटोले पुनः पुरानै स्वरूपमा फर्किन शुरु गरिसकेको छ। स्थानीय बासिन्दाका अनुसार उनीहरूले विरोध गर्दागर्दै पनि उक्त सडक न्यून गुणस्तरमा सम्पन्न गरिएको थियो।

घटना ३ः श्रावण १३ र १७ गते प्रकाशित दुई छुट्टाछुट्टै समाचार र फोटोहरूका अनुसार इलामको चुलाचुली गाँउपालिकामा निर्मित झोलुंगेपुलको एकछेउको एप्रोच मार्ग भत्किएको छ। उक्त भाग भत्किनाले पुल सर्वसाधारणले प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको देखिन्छ। एक त पुलको लम्बाइ नै खोलाको चौडाइभन्दा कम देखिन्छ अनि तल्लो र माथिल्लो तटमा नदी नियन्त्रणका कुनै संरचना छैन। खोलाको चौडाइभन्दा छोटो र एकछेउ भत्किन पुगेको हुनाले कैयौं वर्षदेखिको गाउँलेहरूको सपना तुहिएको छ। गाउँपालिका अध्यक्षले पुल अब सेल्फी खिच्नका लागि मात्र उपयुक्त रहेको आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्।

घटना ४ः जुलाई १६ मा स्याङ्जा पुतली बजार नपाकी नवनिर्वाचित मेयर सडक निर्माण निरीक्षणमा निस्कनुभयो। भर्खर कालोपत्रे गरिएको हरिपालास्थित सडक उक्त समयमा बीचबाटोबाट २ चिरा परेको देखिन्छ। कालोपत्रेको मोटाइ ठीक नै छ तर लगभग आठ इन्च जति चौडा उक्त धाँजाले सडक मर्मत नगरीकन प्रयोग गर्न नमिल्ने अवस्था देखिन्छ। फेसबुकमा पोस्ट गरिएको उक्त अनुगमनको फोटो छिनभरमै व्यापक भयो र ठेकेदार अनि इन्जिनियरलाई गालीको वर्षा शुरु भयो। कसैले ठेकेदारलाई जेल हाल भन्ने माग तेस्र्याय त कसैले इन्जिनियरलाई कालो मोसो दल्नुपर्ने निष्कर्ष निकाले। तर, के कारणले बाटोमा धाँजा पर्यो भन्ने कसैले सोचेन।

माथि उल्लेख गरिएका केही प्रतिनिधिमूलक समस्या हुन्। देशभर हजारौं निर्माणकार्य एकसाथ भैरहेका हुन्छन् र यस्ता घटना पनि प्रशस्तै भैरहेका छन्। निर्माणकार्यमा दुर्घटना, कमसल निर्माण र ढिलाइ किन अनि कसका कारण भैरहेको छ भनेर हामी कारण केलाउन लाग्ने भन्दा एक–अर्कालाई दोष थोपर्ने गर्दछौं। साथै भविष्यमा यस्तो नहोस् भनेर समीक्षा नगर्ने हुनाले बारम्बार उस्तै प्रकृतिका समस्या झेल्दै आइरहेका छौं।

अब माथिका चार समस्यालाई केलाउने प्रयत्न गरौं। निर्माणकार्य गर्दा सबैभन्दा उच्च प्राथमिकता कामदारको सुरक्षा र स्वास्थ्यलाई दिनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो। जुनसुकै निर्माणकार्यमा पनि ‘सेफ्टी फस्ट’ भन्ने सिद्धान्त लागू हुन्छ। कामको प्रकृतिअनुसार छुट्टाछुट्टै सुरक्षा उपकरण र वस्त्रहरू प्रयोग गर्नुपर्ने हुन्छ। उपयुक्त र सुरक्षित काम गर्ने वातावरण छ⁄छैन र कामदारले सुरक्षा उपकरण वा वस्त्र पहिरिएको छ⁄छैन, जाँच गर्ने एक सुरक्षा अधिकारी नै हुन्छन्। आवश्यक सुरक्षाविना काम गरे वा गराएमा धेरैजसो देशमा कानुनबमोजिम कारबाही हुने गर्दछ। सीतापाइलामा तीनजनाको मृत्यु हुनुमा कमजोर निर्माण सुरक्षा वा हेलचेक्र्याइँ रहेको प्रस्टै छ। अनुगमनको क्रममा रहनुभएका सचिवले सेल्फी खिच्ने, टेलिभिजनलाई अन्तर्वार्ता दिने तथा कफी समय भन्दै फेसबुकमा फोटो अपलोड गर्नुभएको देखियो तर निर्माणकार्य सुरक्षित वातावरणमा गरिएको छ⁄छैन, सुरक्षाका उचित उपकरण र माध्यम अपनाएको छ⁄छैन, निर्माण गुणस्तर के–कस्तो छ तथा कामको प्रगति टार्गेटअनुसार छ⁄छैन ? जस्ता महत्वपूर्ण चेक–जाँच नगरेको प्रमाण उक्त दुर्घटनाले प्रस्ट पार्दछ। यसबाट प्रस्ट हुन्छ कि तीनजनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाको जिम्मेवार ठेकेदारका सुरक्षा अधिकारी तथा अनुगमन गर्ने सरकारी अधिकारी नै हुन्।

चित्लाङ–थानकोट सडकको दुर्दशा हेर्दा प्रस्ट हुन्छ कि काम र बजेट सिध्याउने ध्याउन्नमा निर्माण कम्पनी र सरकारी कर्मचारीको मिलेमतोमा गुणस्तर विहीन काम गरेर जनता झुक्याउन सफल भएको देखिन्छ। सडकको सब–बेसमा आवश्यक कम्प्याक्सन नगरीकन कालोपत्रे गरिएको र उक्त कालोपत्रे पनि निकै पातलो गरेको देखिन्छ। स्थानीय बासिन्दाहरूको विरोधका बाबजुद पनि सरकारी अधिकारी र निर्माण कम्पनीबीचको मिलेमतोमा यस्तो हुने गरेको प्रमाण हो यो।
हाम्रा धेरैजसो निर्माण कम्पनीले अनुमानित लागतभन्दा आधा नै थोरै रकममा काम गर्छु भनेर कबोल गर्दै काम फुत्काएका हुन्छन् अनि कसरी गुणस्तरको काम होस् त ? त्यसमध्ये पनि कति सरकारी अधिकारीलाई खुशी पार्न छुट्टै नजराना नदिने हो भने बिल नै पास नहुने अवस्था पनि आउन सक्छ। कन्क्रिट मिक्स गर्ने ठाउँमा आँखा झिमिक्क पार्न पाएको छैन, उता केही बकेट थप बालुवा र गिट्टी मिसाउँछन्, के गरुन् त उपाय छैन। यस्ता कारणले धेरै ठेकेदारहरूबाट हुने काम निम्न गुणस्तरका हुने गरेका छन्। काम सम्पन्न गरिसकेपछि उक्त निर्माणको कम्तीमा एक वर्ष ठेकेदारले मर्मत–सम्भार गर्नुपर्ने कानुन प्रभावकारीरूपमा कार्यान्वयन नहुनु पनि न्यून गणस्तरको अर्को कारण हो।

चुलाचुली गाउँपालिकाको झोलुंगे पुलको अवस्था हेर्दा दयनीय नै देखिन्छ। नदीको उपल्लो र तल्लो तटीय किनारमा नदी नियन्त्रणका संरचनाविना नै नदीको चौडाइभन्दा छोटो झोलुंगे पुल डिजाइन गर्ने कस्तो इन्जिनियर होला ? पहिलो चरणको फोटो हेर्दा प्रस्ट्र हुन्छ कि पुलको दायाँ किनारको ढुंगाको गाह्रो दबेर उक्त गाह्रोमाथि अडेको कन्क्रिटको स्ल्याब भाँचिन पुगेको छ, पछिल्लो फोटो हेर्दा उक्त स्ल्याब कामै नलाग्ने गरी भत्केको छ। यी कुराहरूबाट प्रस्ट हुन्छ कि उक्त ढुंगाको गाह्रोको जग भासिएर उक्त समस्या आएको हो। झोलुंगे पुलको मुख्य संरचना अहिलेसम्म ठिक्कै छ तर यस्तै डिजाइन गरिएको हो भने मुख्य पुलको आयु पनि धेरै नहुन सक्छ। पुलको सर्भे र डिजाइन पूर्णतः गलत देखिन्छ। यो समस्या डिजाइन गर्ने डिजाइनरको कारणले भएको र निर्माण कम्पनीको गल्ती नभएको जस्तो देखिन्छ। निर्माण क्रममा स्थानीयहरूले पुलको जगको बारेमा प्रश्न गरेको तर ठेकेदारले जे डिजाइन र नक्सा छ सोही अनुसार मात्र काम गर्ने बताएको भनेका छन्। तसर्थ सम्पूर्ण जिम्मा डिजाइन अर्थात् इन्जिनियरले लिनुपर्दछ।
स्याङ्जाको हरिपालास्थित सडकको समस्या सडकको छेउतिरको जमिनको ठूलो भाग लच्किएर भएको प्रस्ट देखिन्छ। उच्च गुणस्तरको कालोपत्रे हुँँदा पनि सडकको बीचभागमा लगभग आठ इन्च जतिको धाँजा परेको छ। यो समस्या डिजाइनर र निर्माणकर्ता दुवैको कारणबाट भएको होइन। पूर्णतया प्राकृतिक समस्या हो। धेरै पहिला नै निर्माण सम्पन्न भैसकेको सडकको स्तरोन्नतिको काम गर्दा डिजाइनरले त्यस्ता किसिमका समस्या हेर्दैनन् र आवश्यक पनि हुँदैन। तर गालीका वर्षा निर्माण कम्पनी र इन्जिनियरमाथि ओइरिएका छन्। हामी कतिपय मुद्दाहरूमा वास्तविकता नबुझी आगो ओकलिरहेका मात्र हुन्छौं, समस्याको जरो के हो, बुझ्नतिर लाग्दैनौं।

समग्रमा, निर्माणकार्यमा आउने समस्याहरू डिजाइनर, इन्जिनियर, निर्माण कम्पनी र प्राकृतिक जुनसुकै पक्षबाट पनि सिर्जना भएका हुन सक्छन्। सधैँ ठेकेदार वा इन्जिनियरलाई एकोहोरो दोषारोपण गर्नु उचित होइन। समस्या कुन पक्षबाट सिर्जना भएको हो ? बुझ्नु जरुरी छ। न सबै डिजाइन पूर्ण हुन्छ, न सबै निर्माण कम्पनी पूर्ण छ्न्, तर अनुभवी र ख्यातिप्राप्त डिजाइनरबाट डिजाइन गर्ने वा चेक गर्ने, उचित प्रक्रिया र मापदण्डबाट निर्माण कम्पनी छनोट गर्ने, निर्माण प्रक्रियाको नियमित निरीक्षण तथा अनुगमन गर्ने, निर्माण सम्पन्न गरिसकेपछि कम्तीमा एक वर्ष मर्मत–सम्भारको दायित्व निर्माण कम्पनीकै हुने नियमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने, प्रत्येक निर्माणकार्यमा स्थानीय सरकार र जनतालाई सहभागी गराउने जस्ता काम गर्ने हो भने अधिकांश निर्माणको गुणस्तर बढ्न गई माथि भनेजस्ता समस्याको न्यूनीकरण गर्न सहयोग पुग्छ।
(लेखक शर्मा जलविद्युत् विशेषज्ञका रूपमा बेलायतमा कार्यरत हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्