अमेरिकामा “भाग्यले बाँचेकाहरू” ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड



 

नेपाल समाचारपत्र
काठमाडौं
लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू–नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स’ ले अमेरिकामा पनि उत्कृष्ट अवार्ड जित्न सफल भएको छ।

अमेरिकाको जर्जिया राज्यस्थित म्यारियट्टा शहरमा आइतबार राति सम्पन्न म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरू’ सर्वोत्कृष्ट डकुमेन्ट्री बन्न सफल भएको हो। विश्वका १४ वटा देशका ५५ वटा फिल्म प्रतिस्पर्धामा थिए। त्यसमध्ये भाग्यले बाँचेकाहरू डकुमेन्ट्री विधामा सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएको म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका कार्यकारी निर्देशक डा. रिचर्ड ताभेरनारोले जानकारी दिए।

भाग्यले बाँचेकाहरू टिमका तर्फबाट जर्जियास्थित मानार्थ नेपाली पर्यटनदूत राजा घलेले अवार्ड थापेका थिए। नेपालबाट भाग्यले बाँचेकाहरू मात्र सो महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट भएको थियो।

नेपालको महाभूकम्पमा परी चामत्कारिक रूपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ ले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। ‘अमेरिकामा पनि अवार्ड जित्न सफल भएकोमा धेरै खुसी लागेको छ। हामीले गरेको काम संसारभर सम्मानित हुनु गर्वको कुरा हो’, भाग्यले बाँचेकाहरूका निर्देशक गणेश पाण्डेले भने– ‘अन्तर्राष्ट्रिय जगत्मा यसले नेपालको इज्जत र गरिमा बढाउने काम गरेको छ।’

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको भाग्यले बाँचेकाहरूको छायांकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकका रूपमा काम गरेका छन्।

प्रतिक्रिया दिनुहोस्