डोटीमा आयो ट्रान्सफर्मर आन्तरिक लोडसेडिङ अन्त्य हुने



SONY DSC

 

विमल विष्ट, डोटी
टीको दिपायलमा रहेको विद्युत् सबस्टेसनमा नयाँ फेडर तथा ट्रान्सफर्मर आइपुगेको छ। नयाँ फेडर तथा ट्रान्सफर्मर आएसँगै यहाँको आन्तरिक लोडसेडिङ अन्त्य हुने डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ।

३ हजार किलोवाट विद्युत् सप्लाइ गर्ने ३ एमपीए क्षमताको एक ट्रान्सफर्मर तथा ५ वटा नयाँ फेडरहरू दिपायलमा ल्याइएको डोटी साना जलविद्युत् कार्यालय दिपायलका निमित्त प्रमुख पदमराज भट्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘ट्रान्सफर्मर तथा नयाँ फेडरहरू आएका छन्, जडान हुने काम भइरहेको छ, चाँडै नै यहाँको आन्तरिक लोडसेडिङ अन्त्य हुनेछ।’

विद्युत्मा भएको भोल्टेज घटबढका कारण गएको वर्ष कात्तिक २५ गते दिपायल पिपल्लास्थित ११ सय केभीए विद्युत् सप्लाइ गर्ने विद्युत् सबस्टेसनमा आगलागी भई ट्रान्सफर्मर तथा फेडर जलेका कारण यहाँका २ जिल्ला डोटी र अछाममा दैनिक आन्तरिक लोडसेडिङ हँुदै आएको थियो। विद्युत्मा भएको आगलागीले उपकरणहरू जल्दा पुरानो कञ्चनपुरबाट ल्याइएको १५ सय केभीएको ट्रान्सफर्मरले २ जिल्लाको विद्युत् धान्नुपर्ने अवस्था रहेको बताउँदै निमित्त प्रमुख भट्टले भन्नुभयो– ‘एक वर्ष जति दुःख भयो, अब ठूलो क्षमताको ट्रान्सफर्मर र नयाँ फेडरहरू आएका छन्, अब केही दिनमै यहाँका दुई जिल्लामा चौबीसै घन्टा बिजुली हुनेछ।’ डोटीमा नयाँ फेडरहरू तथा ट्रान्सफर्मर आएपछि लामो समयदेखि आन्तरिक लोडसेडिङको मार खेप्दै आएका यहाँका स्थानीयबासी तथा उद्योगपतिहरू निकै खुसी भएका छन्।

अन्तरिक लोडसेडिङको मारले यहाँका कतिपय उद्योग कलकारखाना करिब–करिब बन्द हुने अवस्थामा पुगेका थिए। दिपायलमा ल्याइएको ट्रान्सफर्मर दाङको लमही विद्युत् सबस्टेसनमा नयाँ अपग्रेड गरी त्यहाँ रहेको पुरानो ट्रान्सफर्मर हो भने फेडरहरू भने नयाँ भएको बताइएको छ।

दिपायलमा फेडर तथा ट्रान्सफर्मर आएसँगै विभिन्न पार्टीका नेताहरूले आफूहरूको पहलमा आएको दाबी गर्दै सामाजिक सञ्जालमा राख्न थालेपछि विद्युत्स्थित एक जना कर्मचारीले कुनै पनि दलका नेताको पहलमा फेडर तथा ट्रान्सफर्मर नआएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘बाहिर जसले जे भने पनि हुन्छ, क्षेत्रीय विद्युत् कार्यालयको निर्देशन तथा दिपायल विद्युत् कार्यालयका पूर्वप्रमुख ललितनारायण चौधरीको विशेष पहलमा फेडर तथा ट्रान्सफर्मर आएको हो, जनता ठग्ने काम नगरौं।’

प्रतिक्रिया दिनुहोस्