मन्त्रिमण्डल विस्तार गलत



 

नेपाल समाचारपत्र
काठमाडौं
मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन गरेकामा निर्वाचन आयोगले आपत्ति जनाएको छ।

आउँदो मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लंघन भएको आयोगले निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिमण्डल पाँचौंपटक विस्तार गरेर ५४ सदस्यीय बनाउनुभएको छ। आयोगले सरकारलाई दिएको निर्देशन उल्लंघन गरेको र अब उप्रान्त यस्तो कार्य नगर्न पनि सरकारलाई सचेत गरेको आयोगले जनाएको छ।

आयोगको सोमबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्नसक्ने बताउँदै भन्नुभयो– ‘यस्तो कार्य नगराउन सरकारसमक्ष आग्रह गरेका छौं।’ ‘सरकारको यस्ता कार्यले निर्वाचनको स्वच्छता, निष्पक्षता प्रभावित हुन सक्छ।’ –प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो।

आयोगले भदौ १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ७ बुँदे निर्देशन दिइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तारले त्यसको उल्लंघन भएको पनि आयोगको निष्कर्ष रहेको छ।

आयोगका अनुसार निर्देशनको बुँदा नम्बर १ मा नेपाल सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष वा सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा नेपाल सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै राजनीतिक नियुक्ति नगर्ने उल्लेख छ। मन्त्रिपरिषद् विस्तारले आयोगले दिएको ७ बुँदे निर्देशनको उल्लंघन भएको आयोगले जनाएको छ।

दुई दिनअघि आयोगले उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई आचारसंहिता उल्लंघन गरेकोमा स्पष्टीकरण सोधेको थियो। आयोगका अनुसार सरकारी पक्षबाटै कर्मचारी सरुवा बढुवा गरेर आचारसंहिता उल्लंघन गर्दै आएको आयोगले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्