सेनाको अस्पतालमा बिरामीको भीड



 

विमल विष्ट, डोटी
सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरमा रहेको नेपाली सेनाको अस्पतालमा सर्पदंशलगायतका अन्य विभिन्न प्रकारका बिरामीको चाप लाग्ने गरेको छ। सो अस्पातलले सर्पदंशलगायत अन्य विभिन्न किसिमका बिरामीको समयमै सफल उपचार गर्न थालेपछि बिरामीको चाप लाग्ने गरेको स्थानीयबासी बताउँछन्।

करिब हप्ता दिनभित्र मात्रै विषालु सर्पले टोकेका ४ जना बिरामीको सफल उपचार गरी निको पारिसकेको उक्त अस्पतालका जीओपीडी प्रमुख प्राविधिक उपसेनानी डाक्टर सर्वेश्वर रोक्काले बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीसँग एन्टिस्नेक भेनमलगायत अन्य बिरामीका लागि औषधि पर्याप्त मात्रामा भएकाले पनि बिरामीहरू बढ्दै गएका हुन सक्छन्, अहिले सर्पले टोकेका बिरामीहरू प्रायः बढी छन्।’

सेनाले सर्पले टोकेकादेखि अन्य बिरामी भएकालाई पनि उपचार गर्ने भएकाले उक्त अस्पतालमा बिरामीको भीड लाग्ने गरेको शिखरनगरपालिका–२ कालागढका स्थानीय रामसिंह कार्कीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पछिल्लो समय सेनाले सिभिललाई समेत उपचार सेवा दिएको छ, बाहिरी अस्पतालभन्दा त्यहाँ खर्च पनि कम हुने भएकाले स्थानीयको भीड लागेको हो।’ ‘गर्मी मौसम छ, सर्प घरछेउमा मुसालगायतका आहारा खोज्न निस्केको हुन्छ, नदेखिएर मान्छेले च्याँप्दा सर्पले टोक्ने मुख्य कारण भएको बताउँदै डाक्टर रोक्काले भन्नुभयो– ‘घरआँगन सफा राखौं, सर्पले टोकिहाले नआत्तिऊँ, जति सक्दो चाँडो अस्पताल वा डाक्टरकहाँ पुर्याऊँ।’

प्रायः गरी सर्पले टोकेका बिरामी आत्तिने भएकाले ज्यान जाने खतरा बढी हुने गरेको समेत डाक्टर प्राविधिक उपसेनानी डाक्टर रोक्काले बताउनुभयो। उहाँले भन्नुभयो– ‘सर्पले टोकेका बिरामी आत्तिने गरेका कारण ज्यान गरेको पाइएको छ, सबै सर्प विषालु हुँदैनन्, सर्पले टोकियो भन्दैमा आत्तिहाल्नुपर्दैन।’ त्यस्तै सर्पले टोकेको ठाउँभन्दा माथिपट्टि निकै बलियो कपडाले बेसरी कसेर नबाँध्न र हल्का गरी बानी चाँडो अस्पताल आउन समेत डाक्टर रोक्काले सबैलाई आग्रह गर्दै भन्नुभयो– ‘यहाँ सर्पले टोकेका बिरामीलाई घाउमाथि बेस्सरी कसिने गरी बाँधेको पाएँ, त्यसरी बाँध्दा पछि बिरामीको टोकेको ठाउँको भाग पूरै काट्नुपर्ने हुन्छ, हल्का गरी बाँध्दा बिरामीको शरीरमा विष फैलिँदैन।’

प्रतिक्रिया दिनुहोस्