वर्षाको समयमा पनि खानेपानीको हाहाकार



सरिता चलाउने, सल्यान ।जिल्लाका अधिकांस स्थानमा वर्षातको समयमा पनि खानेपानीको हाहाकार भई रहेको छ । वर्षाका कारण मुलुकभर बाढिले क्षति गरी रहदा सल्यान जिल्लाका अधिकांस स्थानमा पनि खानेपानीको हाहाकार भई रहेको छ ।  जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ अधेरीका झन्डै ९८ घरधुरीमा वर्षातको समयमा समेत खानेपानीको समस्याले पिरोल्न छोडेको छैन् । वर्षात होस वा सुख्खा समय १२ महिना खानेपानीको समस्या भोग्दै आइरहेको सुमित्रा वि.क.ले बताउनु भयो । उहाँले भन्नु भयो १२ महिना खानेपानीको समस्या छ, पानी समस्या भएपछि अहिले धेरैजसो बसाई सराई सारेर अन्यत्र गई सके आफ्नो पुर्खेउली थलो छोड्न नसक्नेहरु मात्रै बस्दै आएका छौ ।
अन्यत्र वर्षातको समयमा मुहान रसाउने गरेको भएपनि यो ठाउँमा पनि मुहान नरसाउने गरेको उहाँले बताउनु भयो । वर्षातमा मुहान रसाउने भएको भएपनि धेरै राहत मिल्ने थियो तर हाम्रो दुखारी भाग्य भन्नु पर्छ मुहानै रसाउदैन विकले भन्नु भयो । खानेपानीको समस्याका कारण १५० घरधुरी भन्दा बढि रहेको अधेरी गाउँ आजभोली ९८ भन्दा कम घरधुरी मात्रै रहेको छ ।  एक गाग्री पानीका लागि २ घण्टा हिड्नु पर्ने बाध्यता रहेको अर्का स्थानीय हिरालाल पुनले बताउनु भयो । राती २/३ बजे उठेर पानी लिन नजाने हो भने पानी नपाइने पुनले बताउनु भयो । उहाँले भन्नु भयो वर्षातको समयमा २ घण्टाजति हिडेर ज्यामिरेको खोलामा गई पानी ल्याउने गछौं । खोलामा गएर पनि चाहेजति पानी भर्न पाइदैन, सबै घरधुरीले एक एक गाग्री भरेर कुवाका पानी बचेमा दोहो¥याउने गछौं । मान्छेले खानेपानी नपाएपछि पशुपन्छि खुवाउन झनै समस्या भएको पुनको भनाई रहेको छ । सुख्खाको समयमा ३ घण्टा लगाएर कुपिण्डे तालमा पानी लिन आउने गरेको पुनले बताउनु भयो । स्कुले बालबालिका देखि घरका सबैलाई पानी बोक्दै हैरानी भईरहेको छ पुनले बताउनु भयो । गाउँमाथि कुनै पनि मुहान नभएको र बस्तीदेखि धेरै तल मुहान भएकाले धेरै लगानी लाग्ने भन्दै सरकारी तथा गैर सरकारी निकायले वास्ता नगर्ने गरेको हुकुम बहादुर गिरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्