भ्रष्टाचारीलाई मन्त्री बनाउन नपाएको झोंकमा ‘पेन्सन’ सरहको सरकारी सुविधा माग



नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसका साँसदहरुले भ्रष्टाचारीलाई मन्त्री बनाउन नपाएको झोंकमा ‘पेन्सन’ सरहको सरकारी सुविधा माग गरेका छन । प्रमुख सत्तारुढ नेपाली कांग्रेस पूर्व सांसदहरुलाई पनि पूर्वपदाधिकारीलाई राज्यले दिँदै आएको पेन्सनसरहको सुविधा दिनुपर्ने पक्षमा उभिएको हो । यसअघि भ्रष्टाचारीलाई चुनाव लड्न दिने कानुनका लागि छाति थापेर उभिएको कांग्रेसफेरी सांसदहरुलाई पनि राज्यका पूर्वपदाधिकारीलाई जस्तै सुविधा दिन माग गरेको छ ।

कांग्रेस सांसदहरुले जनताबाट निर्वाचित पूर्व सांसदहरुलाई राज्यले तत्काल सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका हुन । उनीहरुले राज्यले पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीको मान्यता नदिएकोमा पनि आपत्ति समेत जनाएका छन् । नेपाली कांग्रेसका सचेतक इश्वरी न्यौपानेले पूर्व सांसदहरुलाई राज्यले अपमानजनक व्यवहार गर्न नहुने जिकिर गरेका छन ।

उनले पूर्व सांसदहरुको सम्मानका लागि पनि राज्यले तत्काल सुविधा दिनुपर्ने माग गरेका छन । व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको आजको बैठकमा ‘पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै काँग्रेस सचेतक न्यौपानेले पूर्व सांसद जस्तो सम्मानित व्यक्तित्वहरुलाई राज्यले बेवास्ता गरेको बताएका थिए । कांग्रेसकै अर्का सांसद अर्जुनप्रसाद जोशीले पनि निष्ठापूर्वक जनताको सेवा गरेका पूर्व सांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिन सरकारसँग माग गरे । उनले जनताका प्रतिनिधिहरुलाई अब पनि अपमानित गर्ने काम राज्यले गर्न नहुने तर्क पनि गरे । त्यही बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने जनतामाथि एकपछि अर्को पीडा थपिएको बेला पूर्व सांसदहरुलाई सुविधा दिने विषय उठाउनु सामयिक नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्