मध्यमोदी जलबिद्युत आयोजनाको काम सुस्त, पच्चीस प्रतिशत मात्रै काम



दुर्गाप्रसाद शर्मा, पर्वत ।
औधोगिक घरना चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य २५ प्रतिशत मात्रै पुरा भएकोे छ ।
आगामी असारमा निर्माण सम्पन्न गर्ने भनिएपनि आयोजनाको सुरुङ्ग खन्ने बाहेक अन्य पुर्बाधारको काम सुस्त भएको हो ।
आयोजना पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकामा निर्माण भैरहेको छ । आयोजनाको निर्माण कार्य २०७१ मंसिरबाट. शुरु भएको थियो ।
आयोजनाले दिएको जानकारी अनुसार सुरुङ निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ भने हेडर्वक्स र बिद्युतगृहको निर्माण कार्य सुस्तगतिमा रहेको छ । सुरुङ्ग खन्ने काम तिब्र गतिमा भएपनि बिभिन्न कारणले हेडवक्र्स र पावरहाउसको काम सोचे जसरी अगाडी बढाउन नसकिएको आयोजना प्रमुख हरिराम देबकोटाले बताए । ‘अहिले सम्म सबै संरचना गरि २५ प्रतिशत मात्रै सकिएको छ’ उनले भने ‘दशैं तिहारपछि निर्माण कार्यलाई तीब्र बनाउँछौ’
आयोजनाको कुल २ हजार ६ सय ९३ मिटर लामो सुरुङ्ग मध्ये हालसम्म ५५ प्रतिशत खन्ने काम सम्पन्न भएको छ । हाल सम्म १ हजार पाँच सय ४६ मिटर सुरुङ्ग खनिएको निर्माण कम्पनी हिमाल हाईड्रका डेपुटी प्रोजेक्ट म्यानेजर एलबी थापाले जानकारी दिए । मुहानदेखि १ हजार १ सय २५ र पावरहाउसतर्फबाट ४ सय २१ मिटर सुरुङ्ग निर्माण कार्य सकिएको हा । बाँकी रहेको झण्डै साढे ११ सय मिटर सुरुङ खन्ने काम आगामी जुन महिनासम्म सम्पन्न हुने बिश्वास लिएको उनले बताए ।

सुरुङ्ग खन्ने क्रममा सोचे भन्दा कम्जोर भू बनोट भएकाले धेरै कठिन भएको छ भने खर्च समेत बढेको छ । धेरै जसो कमेरे माटो भएकाले संरक्षणको काम बढी गर्नुपरेको थापाले जानकारी दिए । ‘भित्री भाटमा कडा चट्टान भेट्नै गाह्रो छ।’उनले भने ‘राम्रो साइड त कहिलेकाही भेटिँदा पनि खुसी मान्नुपर्ने हुन्छ’ कडा चट्टान हुँदा बिष्फोट गरि निर्माण कार्य गर्न छिटो र फलाम राखेर बनाउनु नपर्ने हुँदा लागत समेत सस्तो पर्छ ।

आयोजनाको शिलान्यास लगत्तैका केही महिना कामअघि बढ्न सकेको थिएन। चौधरी ग्रुपसँग मिलेर निर्माणमा साझेदारी गर्न प्रतिबद्धता जनाएको भारतीय कोस्टर कम्पनी प्रालिले पछि लगानीमा चासो नदेखाउँदा करिब चार महिना ढिला काम सुरु भएको थियो। अहिले हेडर्वक्स र डिसेन्डरको काम केही भएको छ भने पावर हाउसमा फाउण्डेसन खन्ने काम शुरु भएको छ । पावरहाउस देखि हेडवक्र्स सम्मको पहुँच मार्ग खोल्ने काम भने भएको छ ।
कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर २ बेतेनीसम्म २ हजार ६ सय ९३ मिटरको सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ। यहाँ उत्पादित बिद्युत चार किलोमिटर लामो प्रसारण लाईन मार्फत देउपुर –पोखरा १३२ केभी सबस्टेशन देउपुरमा जडान गरिनेछ । उक्त प्रसारण लाईन र सबस्टेशन निर्माणको प्रकृया भने भर्खर शुरु भएको छ । आयोजनामा प्राइम बै्रकको नेतृत्वमा सात वटा बैंकले लगानी गर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्