संसदमा श्रमिकको प्रतिनिधित्व गराउन जोड 



काभ्रे, (नेस) । पेसागत महासंघ नेपालले आगामी संसदीय निर्वाचनमा श्रम क्षेत्रको प्रतिनिधित्व हुनेगरी कम्तिमा १० प्रतिशत उम्मेदवार उठाउने वातावरण बनाइनुपर्नेमा जोड दिएको छ । प्रदेश संसद, प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा श्रमिकको प्रतिनिधित्व सुनिश्चित गराउन महासंघले जोड दिएको हो ।
महासंघको काभ्रे जिल्ला अधिवेशनका अवसरमा बोल्दै महासंघका बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले यस्तो धारणा राख्नु भएको हो । बदलिँदो परिस्थितिमा अब ट्रेड युनियनको भूमिका राष्ट्रियताको संरक्षण गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकासमा योगदान पु¥याउन र श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्न संसदमा श्रमिकको प्रतिनिधित्व अपरिहार्य रहेको उहाँको भनाई थियो । सो अधिवेशनले सर्व सम्मवत् रुपमा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । अध्यक्षमा हरिश्चन्द्र लामिछाने, उपाध्यक्षमा हरेराम हुमागाई, महिला उपाध्यक्षमा भावना पाण्डे, सचिब आत्माराम महत, सहसचिवमा रुपेन्द्र अधिकारी र कोषाध्यक्षमा सरिता सापकोटा चयन हुनु भएको छ । त्यसैगरी भोलानाथ सापकोटा, रामहरि बन्जारा, शारदा नेपाल, गिता श्रेष्ठ, रबिन्द्र पोखरेल, बेली परियार, सरस्वती ढकाल, हुएन्द्र राना मगर, झलक दर्लामी कार्य समिति सदस्य रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्