स्टेफेन्स युएस ओपन च्याम्पियन



 

न्युयोर्क, (एजेन्सी)
स्लोन स्टेफेन्सले युएस ओपनअन्तर्गत महिला सिंगल्सको उपाधि जितेर टेनिसमा अदभूत शैलीमा पुनरागमन गरेकी छन्।

स्टेफेन्सले शनिबार राति भएको अल अमेरिकी फाइनल खेलमा मेडिसन किजलाई ६–३, ६–० को सिधा सेटमा हराएकी हुन्। २४ वर्षीया खेलाडीको यो पहिलो ग्रान्डस्लाम उपाधिसमेत हो। उनले पहिलो पुरस्कार राशि २८ लाख ४० हजार पाउन्डसमेत हात पारिन्। स्टेफेन्सले खुट्टा भाँचिएपछि कोर्टबाट धेरै समय विश्राम लिएकी थिइन्। उनले विम्बल्डनमा खेलेर यस सिजनमा प्रतिस्पर्धा गर्न शुरू गरेकी थिइन्। ८३औं स्थानमा रहेकी उनी युएस ओपनमा तल्लो स्थानमा रहने पहिलो महिला विजेता खेलाडी बनिन्। यसअघि सन् २००९ मा वरियताविहीन खेलाडीका रूपमा बेल्जियमकी किम क्लाइस्टर्सले युएस ओपन जितेकी थिइन्।

स्टेफेन्सले फाइनलमा सानदार खेल खेलेकी थिइन्। उनले प्रतिद्वन्द्वीको ३० अनफोर्स इरर (अनावश्यक गल्ती) तुलनामा मात्र ६ गल्ती गरिन्। स्टेफेन्स पाँच साता अगाडि ९ सय ३४औं स्थानमा थिइन्। फाइनल खेल्न अगाडि कीज उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको थियो। तर फाइनलमा उलटफेर नतिजा निकालेर स्टेफेन्स विलियम्स दिदीबहिनीपछि ग्रान्डस्लाम जित्ने अमेरिकी खेलाडीसमेत बनेकी छिन्। ग्रान्डस्लाममा विलियम्स दिदीबहिनीपछि अर्की अमेरिकी खेलाडीले पछिल्ला दुई दशकदेखि उपाधि जित्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्