शंखमुल राष्ट्रिय फुटसल लिग च्याम्पियन



 

नेपाल समाचारपत्र
काठमाडौं
शंखमुल फुटसल एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियन बन्न सफल भएको छ। प्रतियोगिताअन्तर्गत आइतबार भएको फाइनलमा शंखमुलले एक्सटेप किक अफ फुटसललाई पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो। बासँबारीस्थित चौर रिक्रिएसन सेन्टरमा आइतबार भएको फाइनलमा एक्सटेप किक अफ फुटसललाई ५–४ को साँघुरो गोलअन्तरले पराजित गर्दै शंखमुल एन्फा रेडबुल फुटसल लिगको च्याम्पियन बनेको हो।

निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा शुरूआती अग्रता भने किक अफले लिएको थियो। खेलको १५औं मिनेटमा सुमन डंगोलले गोल गर्दै किक अफलाई सुरुवाती अग्रता दिलाएका थिए। तर गोल बेहोरेको दुई मिनेटपछि नै सुरज राउतले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। यस्तै खेलको २०औं मिनेटमा अभय रानाले गोल गरेपछि पहिलो हाफसम्म शंखमुल २–१ ले अगाडी रहन सफल भयो।

दोस्रो हाफको सुरुवातमै शंखमुलले आक्रमणलाई तेज पार्दै लगातार दुई गोल गर्यो। जसअनुसार सुरज राउतले व्यक्तिगत दोस्रो गोल गर्दा शंखमुलका गोलरक्षक अनिष श्रेष्ठले समेत उत्कृष्ट गोल गर्दै टिमलाई ४–१ को स्थितिमा राखे। तर मनि लामाले दोस्रो हाफको २३औं मिनेटमा एक गोल गर्दै गोल भिन्नतालाई ४–२ ले कम गरे। तर किकअफ यतिमा रोकिएन। दोस्रो हाफको २९औं मिनेटमा सुमनले व्यक्तिगत दोस्रो गोल गरेपछि किक अफले खेललाई ३–४ को स्थितिमा ल्याएका थिए। यता निर्मल गुरुङले ३६औं मिनेटमा शंखमुलका तर्फबाट पाँचौ गोल गरे। तर गोल फर्काउन भरमग्दुर प्रयासरत किकअफका राजिन पाण्डेले खेलको ४०औं मिनेटमा चौथो गोल गरे पनि उपाधि जित्न त्यो पर्याप्त बनेन।

उपाधि जितेसँगै शंखमुलले पाँच लाख रूपियाँ प्राप्त गर्यो। यस्तै उपविजेतामा सीमित किक अफले २ लाख ५० हजार हात पारे। यस्तै व्यक्तिगत विधातर्फ शंखमुलका सुरज राउत उत्कृष्ट खेलाडी, शंखमुलकै अनिष श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए। उत्कृष्ट प्रशिक्षकको उपाधि पनि शंखमुलकै प्रकाश परियारले हात पारे। किक अफका राज शाही उत्कृष्ट डिफेन्डर चुनिँदा सामाखुशी फुटसलका विनोद गुरुङ उदियमान खेलाडी घोषित भए। सबै उत्कृष्टहरूले जनही २०–२० हजार प्राप्त गरे।

भाद्र १५ गतेदेखि २५ गतेसम्म भएको फुटसल च्याम्पियनसिपमा काठमाडौंका १६ फुटसल टिमले सहभागिता जनाएको थियो। च्याम्पियनसिपको सबै खेलहरू एरिना फुटसल बौद्ध र चौर रिक्रिएसन सेन्टर बाँसबारीमा भएको थियो। नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउनका लागि यस प्रतियोगितालाई खेलाडी छनोटका रूपमा लिएको छ। एन्फा फुटसल कमिटीका अध्यक्ष रमेश रायमाझीले केही दिनमै खेलाडी छनोट गरिने जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्