आँधी इरमा फ्लोरिडामा क्यारेबियाली क्षेत्रमा २५ को मृत्यु, इरमालाई पछ्याउँदै अर्को सामुद्रिक चक्रवात होसे



 

टेलाहायस्सी, (एजेन्सी)
पुनः क्याटगरी ४ को शक्ति हासिल गरेको सामुद्रिक आँधी इरमा अमेरिकी राज्य फ्लोरिडामा प्रवेश गरिसकेको छ। उक्त सामुद्रिक आँधीसँगै तटीय क्षेत्रमा विध्वंशकारी हुरीसँगै परेको भीषण वर्षाले सडकहरू भरिँदै गरेको र अहिलेसम्ममा कम्तीमा ३ जनाको मृत्यु भएको जनाइएको छ। आँधीका कारण १० लाखभन्दा धेरै घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

६३ लाख नागरिकलाई सुरक्षित स्थानतर्फ जान आदेश दिइएको छ भने दक्षिण क्यारोलिना र जर्जियामा पनि नागरिकलाई सोही आदेश जारी गरेपछि यो संख्या बढेर ६८ पुगेको जनाइएको छ। करिब १ लाख नागरिक सरकारी सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन्।

मोन्रोय काउन्टीमा कि वेस्टमा जेनेरेटर बोकेको एउटा ट्रकका चालकले सन्तुलन गुमाएपछि दुर्घटनाग्रस्त भएको र उनको मृत्यु भएको उक्त इलाकाको स्थानीय कार्यालयले जनाएको छ। त्यस क्षेत्रमा हावाको वेग १ सय ३० माइल प्रतिघण्टा रहेको जनाइएको छ।

यस आँधीका कारण क्यारेबियन क्षेत्रमा मात्र मृत्यु हुनेको संख्यामा बढेर २५ पुगेको छ। फ्लोरिडामा यसको शक्ति चाँडै क्याटागोरी ६ मा पुग्ने पूर्वानुमान गरिएको छ।

फ्लोरिडाका गभर्नर रिक स्कटले फ्लोरिडाको किमा २ सय किलोमिटर प्रतिघण्टाको वेगमा हुरी चलिरहेको जानकारी दिए। हजारौं नागरिक आपत्कालीन शिविरमा आश्रय लिएर बसेका छन् भने हजारौं घरमा विद्युत् सेवा बन्द भएका छन्।

आन्ध्र महासागरमा इरमाको तान्डव नसकिँदै अर्को सामुद्रिक चक्रवात होसे उठिसकेको जनाइएको छ। उक्त आँधीमा २ सय ३३ किलोमिटर प्रतिघण्टाको वेगले हुरी चलिरहेको बताइएको छ।

होसे सामुद्रिक चत्रवात पनि इरमाकै मार्गमा अगाडि बढिरहेको र इरमासँग प्रभावित क्यारेबियन द्वीपहरूमा राहत कार्यलाई यसले बाधा पुर्याइरहेको छ। क्यारेबियाली क्षेत्रमा फ्रेन्च द्वीप सेन्ट मार्टिन्सर सेन्ट बार्थेलेमीमा इरमाको वितण्डापछि सामुद्रिक चक्रवात होसेको खतरा बढेको छ।

यद्यपि ती द्वीपहरूमा उच्च सतर्कता जारी गरिएको छ। फ्रान्सको मौसम विभागले स्थिति अत्यन्त खतरनाक भएको जनाएको छ।

इरमा प्रवेशपछि पनि अमेरिकाको फ्लोरिडा राज्य सरकारले नागरिकहरूलाई आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ जान भनिरहेको छ। नागरिकलाई सडकमा ननिस्कन आह्वान गरेको छ। फ्लोरिडाका गभर्नर रिक स्कटले नागरिकलाई अहिलेसम्म पनि सुरक्षित स्थानतर्फ जान ढिलो नभएको बताए।

सामुद्रिक आँधी इरमाले सबैभन्दा धेरै टेम्पा र सेन्ट पिटर्सबर्ग शहरलाई प्रभावित पार्ने अनुमान गरिएको छ। ३० लाख आवाद रहेको टेम्पा वे क्षत्रेमा १९२१ पछि कुनै शक्तिशाली सामुद्रिक आँधी आएको छैन।
ती क्षेत्रमा इरमासँग सोमबार समुद्रमा ठूला छाल आउने आशंका गरिएको छ। गभर्नर रिक स्कटले इरमाका कारण तटीय इलाकामा १२ फिट अग्ला छाल उठ्न सक्ने र यो नागरिकका लागि जोखिम हुने बताए। मियामी सिटी र ब्रोबार्ड काउन्टीमा कफ्र्यु लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्