एमालेको गढमा कांग्रेस–माओवादी केन्द्रको तालमेल



 

गोकुल घोरसाइने, बारा
नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रभाव क्षेत्र मानिएको निजगढ नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेलसहित प्रचार तीव्र पारेका छन्। लामो समयदेखिको एमाले वर्चश्व अन्त्य गर्न भन्दै दुई पार्टीले मेयर उपमेयरसहित केही वडामा समेत तालमेल गरेका हुन्। गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका सुरेश खनाल मेयर र माओवादी केन्द्रका बेनीबहादुर मोक्तान उपमेयर पदको प्रतिस्पर्धामा छन्।

‘जित्ने योजना बनाएर प्रचार तीव्र पारिएको छ, गठबन्धनबाट मेयर पदका उम्मेदवार सुरेश खनालले भने– ‘निजगगढको विकास र समृद्धिका लागि तालमेल भएको हो।’ उनले जनताको मागअनुसार माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नुपरेको समेत जानकारी दिए। नगरपलिकाका वडा नं. ५ र ६ मा दुई दलको तर्फबाट नेपाली कांग्रेसका सहदेव गौतम र केशव राउत अध्यक्ष पदको प्रतिस्पर्धामा छन्।

यी दुवै वडामा माओवादी केन्द्रको भागमा २⁄२ सदस्य पद मात्र परेको छ। लामो समयदेखि एमालेको एकलौटी प्रभावमा रहेको निजगढमा कांग्रेस माओवादी गठबन्धनपछि दुवै दलका कार्यकर्ता उत्साहपूर्वक चुनाव प्रचार अभियानमा छन्। ‘मतदाताको पनि राम्रो रेस्पोन्स छ’, उपमेयर पदका उम्मेदवार बेनीबहादुर मोक्तानले भने– ‘यसपटक संयुक्त प्यानलका उम्मेदवारहरूको जित हेर्ने जनताको चाहना छ।’

कांग्रेस माओवादी केन्द्र गठबन्धनविरुद्ध एमालेले मेयर नारायण खड्का र उपमेयर पदमा लीलादेवी लामिछानेलाई उम्मेदवार बनाएको छ। यसअघि निजगढ गाविस–७ बाट २ पटक वडाअध्यक्ष निर्वाचित खड्का स्थानीयस्तरमा लोकप्रिय मानिन्छन्। व्यवसायमा समेत सक्रिय खड्का राजनीतिक रूपमा भने कम अनुभवी देखिएका छन्। मेयर पदमा खड्काको उम्मेदवारीसँग एमाले कार्यकर्ता पनि उत्साहका साथ प्रचार अभियानमा खटेका छन्। तर सक्रिय राजनीति बाहिरकाले टिकट पाएको भन्दै एमाले टिकटका आकांक्षीमध्ये केही कार्यकर्ताको असन्तुष्ट छन्।

उपमेयरका प्रत्यासी लामिछानेको भने पार्टी कार्यकर्ता र आम मतदातामा पनि शालीन र क्षमतावान् व्यक्तिको पहिचान बनाएकी छिन्। ‘टिकट कसले पायो पाएन, मुख्य कुरा त्यो होइन’, एमाले नगर अध्यक्ष दिलबहादुर लामाले भने– ‘मतदाता यसपटकको चुनावमा पनि एमाले उम्मेदवारलाई नै विजयी तुल्याउन आतुर छन्।’ उनले कांग्रेस माओवादी गठबन्धनका बाबजुद यसपटक मेयर उपमेयरसहित वडाहरूमा पनि एमाले उम्मेदवार नै विजयी हुने दाबी गरे।

 

जिल्लाको पूर्वोत्तर भागमा पर्ने निजगढ नगरमा एमालेले ३ दशक अघिदेखि पकड बनाउँदै आएको छ। ०४३ सालको चुनावमा हाल बारा क्षेत्र नं. ६ बाट व्यवस्थापिका संसद् सदस्य पुरुषोत्तम पौडेलले तत्कालीन माले पार्टीको तर्फबाट गाउँ पञ्चायतको प्रधानपञ्चमा जितेपछि निजगढमा एमालेको वर्चश्व शुरू भएको हो। त्यसपछि दुवै स्थानीय निर्वाचनमा प्रमुख उपप्रमुख र ९ मध्ये ८ वडामा एमालेले अत्यधिक मतान्तरले जितेको थियो। यसअघिको संसद् र संविधानसभा दुवै चुनावमा पनि एमालेले नै अग्रता बनाएको थियो।
साविकको लाल– रतनपुर र भरतगंजसिगौल गाविससमेत जोडिएपछि निजगढ नपामा एमालेका लागि चुनौती थपिएको हो। भरतगंजसिगौलमा पनि एमालेको वर्चश्व रहे पनि लालरतनपुरमा भने कांग्रेसको पकड केही बलियो छ। यो गाविसमा यसअघि भएको स्थानीय निकाय चुनावमा नेपाली कांग्रेसका उम्मेदवार नै विजयी हँुदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्