मीराको संगीतमा आयो एल्बम



 

व्यवसायी तथा गीतकार कृष्णबहादुर थापाको म एक जात हराएको मान्छे बोलको गीतिसंग्रहको आइतबार राजधानीमा मआयोजित विशेष कार्यक्रमका लोकार्पण गरिएको छ। प्रमूख अतिथि सूचना तथा सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेत, संगीतकार दीपक जंगम, राजु सिंह, गायिका तथा संगीतकार मीरा राणा, अभिनेत्री भुवन चन्द थापालगायतले सो एल्बमको विमोचन गरेका हुन्।

आश म्युजिकले बजार व्यवस्थापन गरेको एल्बममा कूल ६ गीत रहेका छन्। विमोचित एल्बमको सबै गीतमा कृष्णबहादुर थापाको एकल शब्द रचना रहेका छन्। एल्बममा संगृहित म एक जात हराएको मान्छे बोलको गीतमा स्वर मीरा राणा तथा संगीत राजु सिंह, भनूँ कि नभनूँ बोलको गीतमा स्वर अञ्जु पन्त तथा संगीत मीरा राणा, तिम्रो आँखामा बोलको गीतमा स्वर मीरा राणा तथा संगीत दीपक जंगम, आशिष छ तिमीलाई बोलको गीतमा स्वर स्वरूपराज आचार्य तथा संगीत मीरा राणा, तिम्रो विश्वसमा मैले बोलको गीतमा स्वर निशा देशार तथा संगीत मीरा राणा र स्वप्निल तिम्रो बोलको गीतमा स्वर नवगायक सविन सुवेदी तथा संगीत मीरा राणाकै रहेको छ।

कार्यक्रममा म एक जात हराएको मान्छे र भनूँ कि नभनूँ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो। साथै गायिका निशा देशारले तिम्रो विश्वासमा मैले र नवगायक सविन सुवेदीले स्वप्निल तिम्रो बोलको गीत गाएर प्रस्तुत गर्दा कार्यक्रमको माहोल नै संगीतमय बनेको थियो।

कार्यक्रममा बोल्दै संगीतकार राजु सिंहले गायिका मीरा राणासँग सहकार्य गर्न पाउँदा आफू निकै भाग्यमानी भएको बताए। ‘यो एल्बममा काम गर्न पाउँदा मैले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेँ र नेपाली सांगीतिक इतिहासका लागि एउटा उत्कृष्ट एल्बम बनेको छु सिंहले भने। त्यसै गरी संगीतकार दीपक जंगमले कुनै पनि एल्बमको विश्लेषण गर्नका लागि त्यसको गहिराइमा पुग्नुपर्ने चर्चा गरे। ‘यसर्थ कुनै पनि एल्बमका बारेमा टीका टिप्पणी गर्नुभन्दा पनि त्यो प्रयासलाई बधाइ दिनुपर्छ’ –उनको भनाइ थियो, ‘नेपाली सांगीतिक इतिहासमा एउटा इतिहास नै कोरेकी गायिका राणा यो एल्बमसँग जोडिनु भनेको नेपाली सांगीतिक इतिहासको श्रीवृद्धिमा सहयोग पुग्नु हो।’

गायिका तथा संगीतकार मीरा राणाले ३ महिनाअघि सांगीतिक कार्यक्रमका क्रममा कृष्णबहादुर थापासँग बेलायतमा भेट भएको र थापाकै आग्रहमा यो एल्बम तयार भएको बताइन्। कार्यक्रममा गायिका राणा, नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द थापाले पनि एल्बमको सफलताका लागि शुभकामना दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा सूचना तथा सञ्चारमन्त्री बस्नेतले गीतसंगीतबिना मान्छेको जीवन अधुरो हुने चर्चा गर्दै मानवजीवनमा संगीतको निकै महत्त्व रहेको बताए। ‘यस्तो असहज परिस्थितमा पनि नेपाली सांगीतिक क्षेत्रलाई माया गर्ने संगीतप्रेमीहरूलाई धन्यवाद दिन चाहन्छु –उनले भने।

उनले आफ्नो कार्यकालमा आफूले नेपाली संगीतिक क्षेत्रमा गर्नसक्ने सहयोगका लागि सदैव तत्पर रहने विश्वास पनि दिलाए। फरक प्रसंगमा मन्त्री बस्नेतले सबैलाई नजिकिँदै गरेको निर्वाचनमा होमिन पनि आग्रह गरे। त्यस्तै गीतकार थापाले एल्बममा रहेका गीतहरूको बारेमा चर्चा गर्दै आफूले पहिलेदेखि नै लेख्ने गरे पनि गीतसंगीतले परिचय दिलाउने भएकाले एल्बम प्रकाशन गरेको बताए।

प्रतिक्रिया दिनुहोस्