व्यवस्थित पार्किङसँगै दरबार क्षेत्रको अस्तव्यस्तता हट्यो



 

सुनील महर्जन, ललितपुर
जथाभावी हुने सवारी पार्किङलाई व्यवस्थित गरिएसँगै विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्र वरपर देखिने अस्तव्यस्तता हटेको छ।

ललितपुर महानगरपालिकाले स्थानीयसँग सहकार्य गरेर पार्किङका लागि छुट्टै ठाउँको तोकेपछि अस्तव्यस्तता हटेको हो। महानगरपालिकाले हाल पार्किङका लागि मंगलबजारको भीमसेन मन्दिरअगाडि, हःखा कोतपाटी, प्रहरी चौकीको पुरानो भवन, महापाल खुला ठाउँ तोकेको छ। महानगरपालिका, ट्राफिक प्रहरी र नेपाल प्रहरीले स्थानीयवासीको सहयोगमा एक महिनाअघि फुटपाट पसल हटाएको थियो। यसलगत्तै महानगरपालिकाले स्थानीयकै सहयोगमा पार्किङलाई व्यवस्थित गरिएको छ।

यसअघि सडकको छेउछाउ र बाटोमा जथाभावी पार्किङ र फुटपाटले गर्दा दरबार क्षेत्रको वातावरण अस्तव्यस्त देखिन्थ्यो। पाँच मिनेटमै पुग्न सकिने महापालदेखि मंगलबजारसम्म र मंगलबजारबाट लगनखेलसम्मको बाटोमा हिँडेर पुग्न पनि घन्टौं लाग्ने गर्दथ्यो। पार्किङ व्यस्थापनसँगै दरबार क्षेत्रको अस्तव्यस्तता हटेको स्थानीयवासी बताउँछन्। दरबार क्षेत्र वरपरमा हुने ट्राफिक जाम, ध्वनी प्रदूषणमा कमी आएको हःखा टोलका स्थानीयवासी उत्तमराज शाक्यले बताउनुभयो।

गत असारमा सम्पन्न महानगरपालिकाको २५औं नगरपरिषद्मा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले खुला ठाउँमा राखिँदै आएको सःशुल्क पार्किङ हटाउने निर्णय गर्नुभएको थियो। उहाँले पछि सो निर्णय परिर्वतन गर्नुभयो। निर्णय लागू गर्दा विशेषतः बढी भीडभाड हुने पाटनदरबार क्षेत्रको वातावरण झनै अस्तव्यस्त देखिन सक्ने भएपछि प्रमुख महर्जनले आफ्नो निर्णयमा परिर्वतन गर्नुभएको बुझिएको छ।

प्रमुख महर्जनलाई आफ्नो निर्णय पुनःविचार गर्नमा स्थानीयको मतले पनि धेरै प्रभाव पारेको थियो। स्थानीय टोल सुधार समिति, व्यवसायी र स्थानीयवासीहरू पार्किङलाई व्यवस्थित बनाउनुपर्ने पक्षमा उभिएको थियो। ‘जथाभावी शुल्क लिनु हुन्न, तर बढी भीडभाड हुने, देशविदेशबाट पर्यटकहरू ओइरिने दरबार क्षेत्रमा पार्किङले क्षेत्र आवश्यक छ।’ –ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष अजरमान जोशीले भन्नुभयो।

त्यसपछि पार्किङ शुल्क उठाउने जिम्मा लिएका विभिन्न टोलसुधार समितिसँग भएको पुरानो सम्झौतालाई नवीकरण गरिएको महानगरपालिका राजस्व महाशाखाका प्रमुख डिल्ली शाक्यले नेपाल समाचारपत्रलाई बताउनुभयो।
‘सम्झौता नवीकरण गर्दा एक⁄दुई वटा शर्त राखेका छौं। ‘जथाभावी पार्किङलाई व्यवस्थित गर्ने र पार्किङबाट उठेको रकमको एक हिस्सा महानगरपालिकालाई बुझाउने र अर्को सार्वजनिक हितका लागि खर्च गर्ने रहेको छ।’ –महाशाखा प्रमुख शाक्यले भन्नुभयो।

अहिले भीमसेन मन्दिरअगाडि र हःखा कोतपाटीको पार्किङ शुल्क उठाउने जिम्मा क्रमशः मंगल टोल सुधार समिति र हःखा टोल सुधार समितिले पाएको छ। भीमसेन मन्दिरअगाडि विशेषतः मोटरसाइकल र हःखा कोतपाटीअगाडिको ठाउँमा मोटरको मात्र पार्किङ शुल्क उठाउने गरेको छ।

शर्तबमोजिम पार्किङबाट उठ्ने शुल्कको एक हिस्सा महानगरपालिकामा बुझाइसकेपछि बाँकी पारदर्शी तरिकारले सामाजिक हितमा खर्च गर्दै आएको हःखा टोल सुधार समितिका अध्यक्ष शरणकुमार शाक्यले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो। पार्किङबाट उठेको रकम सार्वजनिक महत्वको विषय, कार्यक्रम, धार्मिक, सामाजिक र परम्परा जर्गेना गर्ने कार्यहरूमा खर्च गर्दै आएको अध्यक्ष शाक्यले बताउनुभयो।

पार्किङलाई व्यस्थिति गरिएपछि स्थानीयलाई बाटोमा हिँड्न सहज भएको हःखाका स्थानीयवासी ईश्वराज शाक्ले बताउनुभयो। आनन्दकासाथ दरबार क्षेत्रमा अवलोकन गर्ने वातावरण बनेको पनि घुम्न आउने पर्यटकहरू बताउँछन्।
पार्किङलाई व्यस्थित गरिएकाले अहिले मोटरसाइकल र हेलमेट हराउने घटना कसैको मुखबाट सुन्न नपरेको महानगरी प्रहरी प्रभाग, मंगलबजारका प्रमुख एवं प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्