दिगो समाधान खोज



 

एक सातादेखि राजधानीमा थुप्रिएको फोहोर आइतबार बिहानबाट उठ्न थालेको छ । राजधानीको फोहोर व्यवस्थापन गरिँदै आएको ओखरपौवा ल्यान्डफिल्ड साइटका जनताले फोहोर फ्याँक्न नदिएपछि राजधानीको फोहोर उठ्न सकेको थिएन । शनिबार काठमाडौं र ललितपुर महानगरपालिकाका उपमेयरहरूसहितको टोलीले ल्यान्डफिल्ड साइटका प्रभावितहरूसँग छलफल गरेपछि अहिलेका लागि फोहोर उठाउन सहमति भएको छ । स्थानीयले फेरि अर्को माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गर्न सक्ने सम्भावना भने अझै बाँकी रहेको छ । त्यसैले फेरि समस्या सृजना नहुने गरी यसको दिगो व्यवस्थापन गरिनु जरुरी छ ।

राजधानीबाट हरेक दिन उत्पादन हुने ८ हजार मेट्रिक टन फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रले चासो देखाएको भए पनि नगरपालिकाका कर्मचारी, केही उच्च सरकारी अधिकारीको निहित स्वार्थका कारण फोहोरमा बेला–बेलामा समस्या आउने गरेको छ । राजधानीको फोहोर व्यवस्थापनमा दिगो समाधान खोज्नुपर्नेमा राज्यले त्यसतर्फ ध्यान दिन नसकेको कारण यो समस्या पटक–पटक आउने गरेको छ । हरेक वर्षजस्तो राजधानीको फोहोरमा राजनीति हुने गरेको सबैलाई थाहा भएकै विषय हो । यसरी पटक–पटक समस्या आउँदासमेत दिगो समाधानका लागि उपाय नखोजिनुलाई शंकाको दृष्टिले हेरिनुलाई अन्यथा लिन मिल्दैन । फोहोर व्यवस्थापनलाई स्थायीरूपमा अन्त्य गरिनुपर्नेमा टालटुलेरूपमा ल्यान्डफिल्ड साइट सञ्चालनमा ल्याउनुले राज्य यस विषयमा कत्तिको गम्भीर छ भन्ने स्पष्ट पार्छ ।

एक हप्तासम्म राजधानीको फोहोर नउठ्नुमा स्थानीय निकाय मात्र होइन, राज्यसमेत संवेदनशील हुन नसकेको भान हुन्छ । संसारभरबाट नेपाल आउने विदेशीको पहिलो पाइला टेक्ने राजधानीमा जताततै फोहोरका डुंगुर देखेपछि विदेशीले नेपालको बारेमा कस्तो धारणा बनाऊलान् ? यसतर्फ राज्य सञ्चालकहरूको ध्यान जान नसक्नुलाई के भन्ने ? आमजनताको प्रश्न रहँदै आएको छ । स्थानीय जनतासँग विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्र्दै राजधानीलाई समय सुहाउँदो अवस्थामा राख्न पहल गर्नुपर्दछ । जनतासँग सम्झौता गरिरहने तर सम्झौता कार्यान्वयन नगर्ने हो भने यसले भविष्यमा अन्य समस्या निम्त्याउनेछ । यसतर्फ सबे निकायको ध्यान जानु जरुरी छ । ल्यान्डफिल्ड साइटका स्थानीय जनतामा देखिएको त्रासलाई अन्त्य गर्न सरोकारवाला निकायले ध्यान दिन सकेनन् भने यसको असर सर्वदा परिरहनेछ । त्यसैले राजधानीको फोहोर व्यवस्थापनका लागि दियो योजना बनाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्