दशैंको अग्रिम टिकट बुकिङ मंगलबारबाट



 

रोविन पौडेल, काठमाडौं
गलबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले व्यवसायीको माग सम्बोधन हुने आश्वासन दिएसँगै यातायात व्यवसायी अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन्।

बैठकमा यातायात व्यवस्था विभाग, सरोकारवाला तथा व्यवसायीको पनि सहभागिता रहेको थियो। शनिबार बसेको बैठकमा सरकारी पक्षले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने तथा यात्रुका सामान छतमा राख्न दिने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत बनेका हुन्। सरकारी पक्षले वैज्ञानिक भाडादर कायम गरिने तथा यात्रुका झिटीगुन्टा छतमा राख्न अनुमति दिने बताएपछि व्यवसायी तयार भएको राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष्ँ विजय स्वाँरले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘यात्रुका लगेज छतमा राख्न सरकारले अनुमति दिएको छ। व्यावसायिक प्रयोजनका सामान तथा यात्रु छतमा राखे कारबाहीमा पर्ने सहमति भएको छ।’

मंगलबारबाट नयाँ बसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकीलगायतका स्थानबाट अग्रिम बुकिङ खुला हुने यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो। उहाँले दशैंमा यात्रुलाई सुरक्षित तथा सहजरूपमा घर पुर्याउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। यसमा यातायात व्यवसायीले पनि सहयोग गर्ने उहाँको विश्वास छ।

यसैबीच महासंघले टिकट काउन्टरमा हरियो ज्याकेट ज्याकेटलगायका तथा घाँटीमा परिचयपत्र लगायतका आधिकारिक व्यक्तिबाट मात्रै टिकट काट्न आग्रह गरेको छ। महासंघले दशैंको समयमा हुनसक्ने सम्भावित ठगी तथा कालोबजारी तथा अनियमितता कम गर्न यस्तो गर्नुपरेको जनाएको छ। यद्यपि, मौसमको खराबी तथा प्राकृतिक प्रकोपका कारण हुनसक्ने ढिलाइ तथा असुविधाको जिम्मेवारी आफैं लिन पनि आग्रह गरेको छ। महासंघले त्यसो भएको खण्डमा अर्को गाडीको व्यवस्था गरेरै भए पनि यात्रुलाई गन्तव्यमा सुरक्षित पुर्याउने विश्वास दिलाउन महासंघका वरिष्ठ उपाध्यक्ष स्वाँरले बताउनुभयो।

बैठकमा सरकारी पक्षले राजमार्गका खाल्डाखुल्डी पुर्ने, कतै गाडी फसे गाडी तान्ने इक्युपमेन्ट तयारी अवस्थामा राख्ने लगायत आश्वासन दिएको थियो।
शनिबारको छलफलमा व्यवसायीले वैज्ञानिक भाडा समायोजन प्रक्रिया अघि नबढेसम्म टिकट बुकिङ नखोल्ने जनाएका थिए। तर, मन्त्री बलायरले व्यवसायीको मागमा विषयमा सरकार गम्भीर रहेको भन्दै दशैंमा यात्रुलाई सहज रूपमा घर जाने वातावरण बनाउन अनुरोध गर्नुभएको थियो।

यसअघि भदौ २२ गते बुकिङ खोल्ने सहमति भए पनि आफ्नो माग पूरा नभएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खोलेका थिएनन्। व्यवसायीको गाडीको छत राख्न पाउनुपर्ने तथा वैज्ञानिक भाडादर कायम गर्नुपर्नेलगायत माग राखेका थिए। यसैबीच भदौ २८ गतेबाट नारायणगढ–मुग्लिन सडक रातको समयमा पनि खुल्ला हुने भएको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक रातमा पनि खुलाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको हो।
यसविषयमा चितवनमा स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी तथा सरोकारवालाबीच बिहीबार बसेको बैठकले सो निर्णय गरेको थियो। बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णय पनि गरेको जानकारी दिइयो। नारायणगढ–मुग्लिन सडक गत असार २५ गतेदेखि रातको समयमा बन्द गर्ने गरिएको थियो। रातीको समयमा पहिरोको जोखिम बढेपछि सवारी साधन रोकिएको र मौसममा सुधार आएसँगै तथा चाडपर्वलाई मध्यनजर गर्दै रातीको समयमा पनि सडक खुल्ला गर्ने निर्णय गरिएको हो।

बैठकले सडक कालोपत्रे गर्ने कार्य तथा छोटोछोटो दूरीमा आवागमनलाई असर नपर्ने गरी गर्ने, खाल्टाखुल्टी पुर्ने, धुलो उड्ने ठाउँमा पानी छर्कने, रातको समयमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्