फोहोर व्यवस्थापनमा दीर्घकालीन पहल जरुरी



 

केही सातायता काठमाडौं उपत्यकाका व्यस्त चोक, सडक र गल्लीमा जथाभावी फालिएको फोहोरमैलाले उपत्यका प्रदूषित र दुर्गन्धित बनेको छ । बढ्दो ट्राफिक जामले अस्तव्यस्त बनेका सडक आसपासमा फोहोर थुप्रिन थालेपछि सडकको आवागमनसमेत प्रभावित बन्न थालेको छ । निकै चहल–पहल हुने सुकिला र व्यस्त बजारसमेत फोहोर मैलाले दुर्गन्धित बनेका छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल ल्यान्डफिल साइट आसपासका स्थानीयले विभिन्न माग राखेर फोहोर ओसार्न अवरोध गरेपछि उपत्यकामा फोहोर थुप्रिएको हो । भक्तपुरबाहेक काठमाडौं र ललितपुरका १८ वटा स्थानीय निकायको दैनिक करिब ८ सय टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

सिसडोलबासीले विभिन्न माग अघि सार्दै फोहोर व्यवस्थापन कार्यमा अवरोध पुर्याएपछि अहिले समस्या थपिएको हो । स्थानीयले लामो समयदेखि रोकिएको जग्गाको मुअब्जा वितरण गर्नुपर्ने, ल्यान्डफिल साइटमा पुर्याइएको पुर्नुपर्ने, फोहोरबाट निस्किएको तरल पदार्थ ‘लिचेड’लाई व्यवस्थित गर्नुपर्ने माग अघि सारेका छन् । त्यसै गरी ल्यान्डफिल साइटका लागि उपयोग हुने जग्गाको क्षेत्र ९ सय मिटरसम्म अधिग्रहण गर्नुपर्ने, रोग संक्रमण फैलन नदिन आसपासका क्षेत्रमा औषधि छर्किनुपर्ने, स्वास्थ्य सेवा र सडकको स्तरोन्नति, प्रभावित स्थानीयलाई घरभाडा दिनुपर्नेलगायतका माग अघि सारेपछि फोहोर व्यवस्थापनमा समस्या आएको हो । ल्यान्डफिल साइट सञ्चालनमा आउनुअघि भएका सम्झौता कार्यान्वयन नभएकाले अहिले बाध्य भएर फोहोर व्यवस्थापनमा अवरोध गर्नुपरेको स्थानीय बासिन्दाको तर्क छ ।

सो क्षेत्रमा २०६२ देखि फोहोर व्यवस्थापन हुँदै आएको छ । ३ वर्षे सम्झौताका साथ त्यहाँ फोहोर व्यवस्थापन शुरु गरिएको थियो । तर पटक–पटक सम्झौता अवधि बढाउँदै त्यही फोहोर ओसार्ने गरिएकाले स्थानीय बासिन्दासँग भएका सम्झौता कार्यान्वयन नभएको बताइन्छ । सोही कारणले पटक–पटक काठमाडौंमा फोहोर मैलाको समस्या दोहोरिने गरेको छ । पछिल्लो पटक त्यहाँ फोहोर व्यवस्थापन कार्य जटिल बन्दै गएपछि काठमाडौं र ललितपुर महानगरपालिकाका उपमेयरद्वय हरिप्रभा खड्की र गीता सत्यालसहित केही वडाका प्रतिनिधि र नगरका कर्मचारीको टोली शुक्रबार साँझ सिसडोल पुगेको थियो । निकै लामो छलफलपछि स्थानीय बासिन्दाले अघि सारेका माग क्रमशः सुधार्न दुवै महानगरका पदाधिकारी र स्थानीय शनिबार बिहान सहमत भएपछि अवरुद्ध बनेको फोहोर व्यवस्थापन कार्य सुचारु भएको छ ।

तर यो पहल पक्कै पनि स्थायी समाधान भने होइन । त्यसो त उपत्यकाको फोहोर व्यवस्थापनका लागि २०६६ सालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल अघि सारियो । तर सो विषय अझै टुङ्गोमा पुग्न सकेको छैन । यससँगै फोहोरबाट ‘मोहोर’ बनाउने विविध अवधारणासहित फोहोरबाट इन्धन निकाल्ने चर्चासमेत अघि सारियो । यस्ता अवधारणा कार्यान्वयन भए पनि फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान हुनेमा आशंका छ । सिसडोलको विकल्पका रुपमा नुवाकोटकै बञ्चरेडाँडामा अर्को ल्यान्डफिल साइट प्रस्ताव गरिएको छ । तर ल्यान्डफिल साइटको पूर्वाधार कार्य अघि नबढाइँदा राजधानीको फोहोर व्यवस्थापन अझै वर्षौंसम्म जटिल बन्ने निश्चित छ । ल्यान्डफिल साइट निर्माणका लागि त्यहाँ जग्गासमेत छुटइइएको भए पनि सरकारले सो विषयलाई प्राथमिकतामा नराखेको सरोकारवालाहरु बताउँछन् । बञ्चरेडाँडामा कम्तीमा ३० वर्ष फोहोर व्यवस्थापन गर्न सकिने विज्ञहरुको तर्क छ । तर यो परियोजनालाई सरकारले प्राथमिकतामा नराखेसम्म कार्यान्वयन नहुने निश्चित छ । त्यसैले फोहोर व्यवस्थापनमा राज्यले दीर्घकालीन समाधानको पहल अघि बढाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्