पल्सर स्पोर्टस अवार्डको तयारी पूरा



 

नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्न गइरहेको पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा गरेको छ।

नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित पुरस्कारको रूपमा रहेको स्पोर्टस अवार्ड अन्तर्गत मञ्चले बर्ष २०७३ मा खेलक्षेत्र मार्फत नेपाललाई बिश्वमै चिनाउन सफल खेलाडी तथा यस क्षेत्रमा योगदान दिदै आइरहेका व्यक्तित्वहरूलाई सम्मान गर्न गइरहेको हो।

आज एक समारोहकाबीच मञ्चले अवार्डको लागि सम्पूर्ण तयारी पूरा रहेको जानकारी दिएको थियो। समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट, पूर्व अवार्ड विजेता पारस खड्का र दीपक विष्ट तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले अवार्डको महत्त्वका बारेमा प्रकाश पार्दै मञ्चलाई शुभकामना दिएका थिए।राखेप सदस्य सचिव केशव कुमार बिष्टः बजाज पल्सर स्पोर्टस अवार्डलाई जान्नको लागि यसको नाम नै काफी छ। यो एउटा ऐतिहासिक महत्व बोक्ने दुरगामी पुरस्कार सम्मान हो। यो पुरस्कार जित्ने हरेक खेलाडीको एउटा सपना हुन्छ र मलाई लाग्छ यसको भब्य सफलताको लागि नेपाल सरकार र राखेपले जति सक्दो त्यति सहयोग गर्नु पर्छ। राष्ट्रिय खेलकुद परिषद् आउँदो वर्ष यस पुरस्कार सम्मानको लागि बजेट छुटाउनका लागि तत्पर भएर लाग्नेछ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठः यो नेपाली खेलकुदकै सबैभन्दा लोकप्रिय सम्मान हो। मञ्चले सधै नयँँ प्रयोग गर्दै आइरहेको छ र यसपटक पनि केहि नयाँ देख्न मिल्नेमा म विश्वस्त छु। जसरी नेपाली महान चाड दशैं र तिहारका लागि कुरिरहेका हुन्छन् त्यसरी नै खेलाडी यो समारोहका लागि कुरिरहेका हुन्छन्।

किर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टः एउटा सानो कोठाबाट शुरू भएको वर्ष खेलाडी सम्मान आज जुन स्थितिमा छ त्यो अकल्पनीय नै छ। म यसलाई राष्ट्रिय पुरस्कार भन्न रुचाउँछ । यही पुरस्कारका कारणले नै खेलाडीलाई अझ बढी मिहिनेत गर्ने प्रोत्साहन मिलेको छ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काः म सानै थिए जब म पहिलोपटक युवा खेलाडीको मनोनयनमा परेको थिए। त्यति बेला पुल्चोकमा एउटा सानो हलबाट यो पुरस्कारको शुरूवात भएको थियो र आज जसरी भब्य भएको छ यसले मञ्चले खेल र खेलाडी प्रति देखाएको लगाव र आफुले गरेको मिहिनेतलाई स्पष्ट पार्छ। बर्ष खेलाडी पुरस्कार भनेको नेपाली खेलाडीहरूको उपलब्धीको सहि सम्मान हो।

स्पोर्टस अवार्ड अन्तर्गत मञ्चले बर्ष खेलाडी पुरुष, महिला तथा युवा, बर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट, पारा एथ्लिट र स्पेशल अवार्ड मार्फत सम्मान गर्नेछ। बर्ष खेलाडी युवा, बर्ष प्रशिक्षक तथा पिपुल्स च्वाइसका मनोनयनहरू यसअघिका कार्यक्रमहरू मार्फत सार्वजनिक भैसकेका छन् भने अन्य बिधाका बिजेताहरू समारोहको दौरान नै घोषणा गरिनेछ।

पिपुल्स च्वाइस अवार्ड बाहेक अन्य सबै बिधाका बिजेताहरू मञ्चको खेलाडी छनोट समिति र कार्य समितिले गर्नेछ। पिपुल्स च्वाइस अवार्डको बिजेता एसएमएस भोटिङ मार्फत गरिने जानकारी मञ्चले दिएको छ।यसअघि उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस अवार्डका बिजेतालाई बजाज पल्सर मोटरसाइकल दिइदै आइएको थियो भने यस बर्ष बर्ष प्रशिक्षकलाई पनि मोटरसाइकल प्रदान गरिनेछ। अन्य बिजेताहरूले नगद रु ५० हजार प्राप्त गर्नेछन्।
हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा. लि. को मुख्य प्रायोजन रहेको पल्सर स्पोर्टस अवार्डमा इन्टरनेशनल सोसाइटी फर मेडिकल एजुकेशन, सुर्य नेपाल प्रा. लि., रुस्लान फुटबल, साहस स्पोर्टस, रोयल सिंगी होटल, डिस मिडिया नेटवर्क लिमिटेडको डिस होम एक्सन स्पोर्टस, टिएचटी लाइभ ३३१३१, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, एभरेष्ट बैंक र एभिन्युज टेलिभिजन साझेदारको रूपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्