जेष्ठ नागरिक समाजको साधारणसभा सम्पन्न



 

नेपाल समाचारपत्र
काठमाडौं
जेष्ठ नागरिक समाज नेपाल केन्द्रीय समिति काठमाडौंले १०औं साधारणसभा तथा ११औं वार्षिकोत्सव कार्यक्रम कलंकीस्थित पिनाकल स्कलर्स एकेडमीको प्रांगणमा सम्पन्न गरेको छ। समाजका अध्यक्ष श्री श्यामप्रसाद श्रेष्ठको सभापतित्व र कामनपा–१४ की वडा अध्यक्ष शोभा सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा समाजका कोषाध्यक्ष चित्रबहादुर अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। जसमा आव २०७४ मसान्तसम्मको जम्मा आय ७ लाख ३६ हजार ९ सय ५५ रुपियाँ र ब्यय २ लाख ९९ हजार १ सय ३७ रुपियाँ गरी संस्थामा बाँकी रकम ४ लाख ३७ हजार ८ सय २८ रुपियाँ रहेको उहाँले बताउनुभयो। यसै गरी वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले सम्पूर्ण जेष्ठ नागरिकहरू आफूले सकुन्जेल सन्ततिका लागि काम गर्ने गरेको तर आफूलाई सहयोग आवश्यक हुँदा परिवारबाटै अपहेलित हुनुपर्ने र आफ्नै घरमा स्याहारसुसार नपाएर वृद्धाश्रममा जानुपर्ने बाध्यतासमेत भएकाले यस्तो अवस्था आउन नदिन संस्थाले संघर्ष गरिरहेको बताउनुभयो।

संस्थाले जेष्ठ नागरिक ऐन कार्यान्वयनमा जोड दिएको, स्थानीय बटुवालाई घामपानीबाट बच्न प्रतीक्षालय निर्माण गरेको, सार्वजनिक शौचालय निर्माण, कलंकीमाई मन्दिरमा दैनिक प्रकाशित पत्रिकाहरू पढ्ने व्यवस्था मिलाएको, निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको र जेष्ठ नागरिक मन्त्रालय स्थापनाका लागि सरकारलाई दबाब दिइरहेको बताउँदै आगामी दिनमा जेष्ठ नागरिकलाई मनोरञ्नका लागि धार्मिक पुस्तकहरूका साथै टिभीबाट भजनकिर्तन हेर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो। साधारणसभाले चिरञ्जीवी कँडेलको अध्यक्षतामा १५ सदस्यीय नयँँ कार्यसमिति चयन गरेको छ।

उक्त अवसरमा ९८ वर्षीय जेष्ठ नागरिक नुन्छेलाल तन्दुलकार र ८७ वर्षीय जेष्ठ नागरिक बुद्धिप्रसाद अधिकारीलगायत संस्थाका संस्थापक पदाधिकारीलाई सम्मान गरिएको थियो। सम्मानित हुने पदाधिकारीमा निवर्तमान अध्यक्ष डिल्लीबहादुर कार्की, वर्तमान अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, संस्थापक कोषाध्यक्ष टाँकाराम उप्रेती, संस्थापक सहसचिव रामप्रसाद घिमिरे, छन्दबहादुर खत्री संस्थापक सदस्य रामशरण उप्रेती संस्थापक सदस्य र कार्यसमितिका जेष्ठ सदस्य गिरीराज गौतम थिए।

कार्यक्रममा नेपाल महिला उत्थान चौतारी, लान्यन्स क्लब अफ काठमाडौं भिजन, लियो क्लब अफ काठमाडौं भिजनले स्वयंसेवकका रुपमा सहयोग गरेका थिए भने मिसन पोलिक्लिनिक कलंकीले निःशुल्क आँखा जाँच, सुगर तथा ब्लडप्रेसर जाँच गरेको थियो।

प्रतिक्रिया दिनुहोस्