नानीको जूनकिरी रूप



 

रंगकर्मी नानी थापा फेरि एकल नाटकसहित मञ्चमा देखिएकी छिन्। उनी आफ्नै लेखन र निर्देशनमा एकल अभिनय गर्दै जूनकिरी नामक नाटकमा देखिएकी हुन्।

हेटौंडास्थित मानव सेवा आश्रमको सहयोगार्थ नानीको एकल लेखन, निर्देशन र अभिनयमा जूनकिरी नामक नाटक बिहीबार हेटौंडाको ओम्याक्स सिनेमा हलमा पुनः मञ्चन गरिएको हो। गत वर्ष भाद्र ११ गते मञ्चन गरिएको नाटक हेटौंडाको मानव सेवा आश्रमको आह्वान र संयोजनमा पुनः मञ्चन गरिएको लेखक निर्देशक तथा प्रस्तुतकर्ता थापाले बताइन्। नानीका अनुसार उनले यो नाटक आफ्ना रंगकर्म गुरु अशेष मल्लप्रति दक्षिणास्वरूप अगाडि ल्याएको पनि खुलाइन्।


१३ वर्षको उमेरदेखि नै नाटक खेल्न शुरु गरेकी नानीको पहिलो एकल नाटक पुतली थियो। विद्रोह, बेचिएकी चेली र अ ब्युटिफुल वुमनपछि जूनकिरी उनको पाँचौ नाटक हो भने छैटौं एकल नाटकको रूपमा जिन्दगी जिन्दावाद लिएर आउने थपाले बताइन्। अशक्त, अनाथ, अपाङ, असाहय एंव मनोरोगी भई सडकका पेटी एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका सहयोगापेक्षी मानवहरूको उद्धार, औषधोपचार, पारिवारिक पुर्नमिलनको सेवामा जुट्दै आइरहेकी उनले मानवसेवा आश्रमको सेवा कार्यमा टेवा पुयार्उने उद्देश्यले यो नाटक मञ्चन गरिएको बताइन्। नाटक कमल कोइरालाले संयोजन गरेका छन् भने लाइटमा सुमित डंगोल, ध्वनिमा पवन जन्वालले साथ दिएका छन्। ‘जूनकिरी त्यो नाटक हा,े जसलाई हरेक तप्का र तहका हरेकवर्गले एकपटक हेर्नै पर्दछ’ –उनले भनिन्।

नाटक हेर्न हेटौंडाका उच्च अधिकारीहरुको साथमा समाजसेवी, विद्यार्थी, महिला र सर्वसाधारण गरी करिब ६ सय दर्शक सहभागी भएको नानीले बताइन्। सामाजिक यथार्थपरक नाटक जूनकिरीमा यसको पात्र स्वयम् जूनकिरी र आकाशकी जून, जो दुबै सूर्यको उज्यालोमा भन्दा पनि अन्धकार रातमा बढी चम्किन्छन्। अस्तित्व प्राप्त गर्दछन्। उनीहरुबीचको यहीं समानता र केही भिन्नतालाई बिम्बका रूपमा प्रस्तुत गर्दै एउटी सामान्य गाउँकी युवती कसरी व्यवसायिक हाइ प्रोफाइल कल गर्ल हुन पुग्छे भन्ने कथा नाटकले बोलेको छ। एक दशक जीवनकालको यात्रामा उसंग जोडिएका र छुट्टिएका केही पात्रहरुको कथा पनि संगसंगै बुन्दै लैजान्छे जूनकिरीले। एक आँटिली र बिद्रोही स्वभावकी जूनकिरीले नाटकभित्र महिला सशक्तिकरणको एउटा दरिलो संदेश बोकेर समाज, कानुन, राज्य व्यवस्था र विश्व समुदायलाई नै कडा व्यंग्य गर्छे। ऊ नाटकबाट चुनौती दिन पनि पछि हटेकी छैन भने कथाभित्र आमाबाबा र आफूले प्रेम गरेको युवकका लागि अत्यन्तै उदार प्रेम र समर्पणको भाव नाटकभित्र छताछुल्ल पोख्ने कोसिस पनि गर्छे।
साहित्यमा रुचि भएकी जूनकिरीले नाटकभित्र गीत, नृत्य, कबितालगायत हास्य, करुणा, शृङ्गार, वीर, रौद्र, विभत्स, भयानकलगायत लगभग अभिनयका नौवटै रसबाट पात्रको मनावैज्ञानिक विचलनलाई प्रस्तुत गर्छे। जूनकिरीले समाजमा भइरहेका, दैनिक जीवनमा देखिइरहेका, सुनिरहेका, भोगिरहेका र अनुभवलाई ती घटनाका पात्रहरुको प्रतिनिधि भएर जीवन्त रुपमा मञ्चन गर्ने भरपुर प्रयत्न गर्दछे।

‘आधुनिक युवापुस्ताहरुको सोच र अनेकन भ्रमहरुलाई चिर्दै किशोर अवस्थामा देखिन सक्ने विभिन्न समस्यालाई उनीहरु स्वयं, परिवार र समाजले सही ढङ्गले समाधान र सम्बोधन गर्नुपर्नेलगायत सामाजिक विभेद तथा बेथितिको बिरुद्धमा जूनकिरीले ज्योति छर्दै नाटक मञ्चन गरिएको हो’ –नानीले भनिन्।

आर्थिक सहयोग जुटाउने सामाजिक सोचले हेटौंडामा पुनः मञ्चन गरिएको नाटक सिन्धुपाल्चोकको माझी बस्ती पुनर्निर्माणको सहयोगार्थ भोलि सोमबारदेखि असोज ५ गतेसम्म राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हरेक दिन दुई सो मञ्चन गरिने नानीले बताइन्।

प्रतिक्रिया दिनुहोस्