स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे



 

विनोदसिंह विष्ट, बैतडी
घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै बैतडीको ग्रामीण भेगका महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढ्दै गएको हो।

विगत ३ वर्षको तथ्यांकलाई हेर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढ्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार आर्थिक वर्ष २०७१⁄७२ बैतडीमा कुल गर्भवती महिलाको ५७ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् भने आर्थिक वर्ष २०७२⁄७३ मा बढेर ६६ प्रतिशत पुगेको छ।

यस्तै आर्थिक वर्ष २०७३⁄७४ मा भने केही घटेर ६४ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०७३⁄७४ मा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या घट्नुको मुख्य कारण दोहोरो बसाइ रहेको पब्लिक हेल्थ नर्स जोशीले बताउनुभयो। ‘बैतडीका अधिकांश मानिसको बसाइ तराई अर्थात् कैलाली कञ्चनपुरमा छ’, उहाँले भन्नुभयो– ‘दोहोरो बसाइ तथा सुविधा सम्पन्न अस्पतालमा सुत्केरी गराउन बाहिर लैजाने गरेका छन्।’

आर्थिक वर्ष २०७१⁄७२ बैतडीमा ५ हजार १०२ जना गर्भवती चेकजाँचका लागि स्वास्थ्य संस्थामा आएकोमा ३ हजार ६ सय १८ स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् भने आर्थिक वर्ष २०७२⁄७३ मा गर्भवतीको संख्या ५ हजार ५० रहेकोमा ३ हजार ९ सय ६८ स्वास्थ्य संस्थामा सुत्केरी भएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। आर्थिक वर्ष २०७३⁄७४ मा ५ हजार ४ सय ८४ गर्भवतीले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य परीक्षण गराएकोमा ३ हजार ९ सय मात्रै बैतडीका स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्यांक रहेको छ।

स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्था जाने गरेका हुन्।’
यसका साथै बैतडीका १ सय २६ ठाउँमा सुरक्षित प्रसूति केन्द्र सञ्चालनमा रहेका छन्। जिल्लाभरि १ सय ६० सुरक्षित प्रसूति केन्द्र सञ्चालन गरी हरेक गर्भवती महिलाले स्वास्थ्य संस्था अर्थात् सुरक्षित प्रसूति केन्द्रमा सुत्केरी भएपछि बैतडीलाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्