छुट्टाछुट्टै दुर्घटनामा १० को मृत्यु



 

काठमाडौं, (नेस)
शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने ३ दर्जनभन्दा बढी घाइते भएका छन्। पूर्वी चितवनको राप्ती नगरपालिका–१, पिप्लेमा दुई बस एक आपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा २४ जना घाइते भएका छन्।

नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख ८७०६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ९१२५ नम्बरको बस एक आपसमा ठोक्किएको हो। दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन सकेको छैन। मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो।

घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेज र १० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। ५ जनाको अवस्था गम्भीर रहेको रहेको ट्राफिक प्रमुख पन्तले जानकारी दिए। त्यसैगरी नुवाकोटको थानाभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। काठमाडौंनजिकै रहेको नुवाकोटको खरानीटारमा बा१ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङमा दुर्घटना भएको हो। दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जनाको काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटकाअनुसार शशी बोगटी, लक्ष्मी न्यौपाने, ठूली माया तामाङ, नवराज विक, सविना तामाङ, लालबाबु तामाङ र उजेली मिजारको मृत्यु भएको छ। घाइतेमध्ये ८ जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये नवीन श्रेष्ठ र सरस्वती गिरीको आईसीयूमा र अन्यको हाई केयर युनिटमा उपचार भइरहेको छ। अन्य घाइतेको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये ३ जनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया दिनुहोस्