मेक्सिकोको भूकम्पमा आकाशमा रहस्यमय चम्किलो प्रकाश, भूकम्पमा मर्ने कम्तिमा ३२



 

मेक्सिको सिटी, (एजेन्सी)
मेकिसको दक्षिण भागमा ८ दशमलव २ म्याग्निच्युडको भुकम्प आउँदा राजधानी मेक्सिको सिटीमा रहस्यमय हरियो र निलो चम्किलो प्रकाश देखेको जनाइएको छ।
१ सय वर्षपछि उक्त देशमा आएको सबैभन्दा शक्तिशाली उक्त भूकम्पका कारण कम्तिमा ८ वटा देशमा सुनामीको चेतावनी दिइएको छ भने कम्तिमा ३२ जनाको मृत्यु भइसकेको छ।

कमै मात्र सुनिने गरेको यस प्रकारको घटनामा उक्त प्रकासको भिडियो एकजना प्रत्यक्षदर्शीले खिच्न भ्याएका छन्। भूकम्प आउँदा प्रकाश देखिएको कुरा दशकौंदेखि विश्वभरिबाट आइरहेको भएपछि केहीले यसलाई प्राकृतिक घटना भन्ने गरेको छ। केहीले भने यसलाई संरचनामा क्षति पुगेर भएको भन्ने गरेका छन्।
भूकम्प आउँदा र कहिलेकाँही भूकम्प अगाडि नै अनौठो प्रकाश निस्कने गरेको चर्चामा आउनु सामान्य घटना हो। केहीले त्यस्तो प्रकाशका लागि विद्युतीय ट्रान्सफर्मर वा भूकम्प गएका क्षेत्रनजिक हुने स–साना विस्फोटहरू जिम्मेवार हुने बताएका छन्।

भूकम्प अनुसन्धानसम्बन्धी एउटा वैज्ञानिक सोधपत्रले पृथ्वीको सतह नजिकको चार्ज परमाणु यसको कारक हुनसक्ने उल्लेख गरेको छ।

हावामा रहेका चार्ज परमाणुले प्रकाश उत्सर्जित प्लाज्मा बनाउँछ। उक्त सोधपत्रले भूकम्प आउनुअगाडि ती प्रकाश कहिलेकाहीँ कमजोर हुने पनि उल्लेख गरेको छ।
शुक्रबार ट्रेस पिकोसबाट १ सय १९ किलोमिटर दक्षिण–दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाइ आएको भूकम्पबाट पहिलो हताहतीको समाचार चिपास राज्यका गभर्नरले दिएका हुन्। मेक्सिकोमा सन् १९८५ पछिको सबैभन्दा शक्तिशाली भूकम्प हो।
प्यासिफिक सुनामी वार्निंग सेन्टरले भूकम्पका कारण सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ। उक्त संस्थाले ग्वाटेमाला, एल साल्भाडोर, कोस्टा रिका, निकारागुवा, पानामा, होन्डुरस र इक्वेडोरका नागरिकका लागि उक्त चेतावनी जारी गरेको हो।

सुनामीका कारण कुक आइल्यान्ड, इक्वेडोर, फिजी, फ्रेन्च पोलिनेसिया, ग्वाटेमाला र किरिबाटीमा ३० सेमीदेखि १ मिटरसम्मको छाल आउन सक्ने पूर्वानुमान गरिएको छ।

मध्यराति मेक्सिकोको तटीय क्षेत्रमा आएको उक्त भूकम्प कारण देशको दक्षिणी भागमा केही भवनहरूमा नराम्ररी क्षति पुगेको जनाइएको छ। बेलिज र ग्वाटेमालासम्म महशुस गरिएको उक्त भूकम्पको केन्द्रबिन्दु सहतबाट ४३ माइल मुनि भएको अमेरिकी भूगर्भ सर्वेक्षणले अनुमान गरेको छ।

सन् १९८५ मा आएको विनासकारी भूकम्पले कयौं भवन भत्किएको र हजारौं जनाको ज्यान लिएको थियो। चियापास राज्यका गभर्नर म्यानुयल भेलास्कोले भूकम्पले धेरेजसो घर तथा भवनहरू ध्वस्त भएको र केही अस्पतालमा विद्युत् आपूर्ति पनि बन्द भएको जानकारी दिए।

उनले दक्षिणी राज्यको तटीय इलाकामा बस्ने नागरिकहरूलाई सुनामीको सतर्कताका लागि सुरक्षित स्थलमा जान आह्वान गरेका छन्।

भूकम्पको झट्का करिब एक मिनेट महशुस गरिएको थियो। भूकम्पपछि पनि ४ दशमलव ९ देखि ५ दशमलव ७ म्याग्निच्युडको पराकम्पनहरू महशुस गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्