स्टेफेन्स र किजबीच उपाधि भिडन्त



 

न्यूयोर्क, (एजेन्सी)
न्युयोर्कमा जारी यूएस ओपन महिला सिंगल्सतर्फको उपाधिका लागि स्लोन स्टेफेन्स र मेडिसन किजबीच प्रतिस्पर्धा हुने भएको छ।

यी दुवैजना पहिलो पटक ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन्। योसँगै वर्षको अन्तिम ग्रान्डस्लामका रूपमा परिचित यूएस ओपनमा महिलातर्फको उपाधि अमेरिकाबाट बाहिर नजाने पक्का भएको छ। सेमिफाइनलमा पुग्ने सबै अमेरिकी नै भएपछि यसअघि नै उपाधि अमेरिकामा नै रहने पक्का भएको थियो।

बिहीबार राति भएको सेमिफाइनल खेलमा स्टेफेन्सले दुई पटकको यूएस च्याम्पियन भेनस विलियम्सलाई तथा किजले कोको भेण्डेवेगेलाई पराजित उपाधि भिडन्त तय गरेका हुन्। ८३औं वरियताकी स्टेफेन्सले नवौं वरियताको भेनसलाई तीन सेटमा स्तब्ध तुल्याएकी थिइन्।

पहिलो सेटमा ६–१ ले नतिजा आफ्नो पक्षमा पारेकी स्टेफेन्सले दोस्रो सेटमा ६–० ले पछि परेकी थिइन्। तर निकै प्रतिस्पर्धात्मक निर्णायक सेटमा भेनसले लगातार गल्ती गरेपछि स्टेफेन्सले ७–५ ले नतिजा आफ्नो पक्षमा ल्याइन्। २४ वर्षीया स्टेफेन्स खुट्टाको चोटबाट मुक्त हुँदै झन्डै एक वर्षपछि कोर्टमा फर्केकी हुन्। त्यसयता स्टेफेन्सले १६ खेलमध्ये १४ खेलमा जित हात पार्न सफल भएकी छिन्।

यस्तै अर्को सेमिफाइनल खेलमा किजले कोकोलाई ६–१, ६–२ को सोझो सेटमा पाखा लगाएर पहिलो ग्रान्डस्लाम जित्न निकट पुगिन्। १५औं वरियताकी किजले वरियताबिहीन कोकोलाई सजिलै पाखा लगाउन सफल भएकी हुन्। महिला सिंगल्सतर्फको फाइनल शनिबार हुनेछ। सन् २००२ मा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले आफ्नै दिदी भेनसलाई हराएयता १५ वर्षपछि पहिलोपटक न्युयोर्कमा उपाधिका लागि घरेलु महिला खेलाडी फाइनलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्