विभिन्न देशमा पुगेर नेपाली मौलिक नृत्य प्रस्तुत गरेर सांस्कृतिक आदानप्रदान गरी नेपाललाई विश्वसामु परिचित गराउँदै आइरहेको एभरेस्ट नेपाल कल्चरल ग्रुपले ग्रिसको स्कोपेलोस तथा सालोनिकी शहरको छुट्टाछुट्टै अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति प्रस्तुत गरेको छ।

एभरेस्ट नेपालका कल्चरल ग्रुपका प्रमुख रामचन्द्र कोइराला (आरसी) को संयोजकत्व तथा निर्देशक मिराज कोइराला र शीतल आचार्य (सीता) को अगुवाइमा गएको टोलीले नेपालको परम्परागत लोकसंस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो। मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, झोडा, सतार, शेब्रु, धिमाल, यती झाँक्री, सोरठीका साथै दर्जनांै नृत्य प्रदर्शन गरिएको कोइरालाले जानकारी गराए।

मेलामा रामचन्द्र, मिराज र शीतलका साथमा शम्भु शाही, कृष्ण रेउले, रुपिन डंगोल, राजु गिरी, सपना महर्जन, अनिता अधिकारी (अनु), सिम्रन शाही, प्रमिला रिजाललगायतका कलाकार सहभागी भएका थिए।

सो अवसरमा ग्रुपका निर्देशक मिराज कोइराला र शीतल आचार्यले स्कोपेलोस तथा सालोनिकी शहरका नगरपालिका प्रमुख तथा आयोजकलाई भेटी नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न सकिने र भविष्यमा यससम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बताए। ‘मेलामा सहभागिता जनाउँदा कतिपय राष्ट्रका नागरिकले नेपालको नामै नसुनेको, सगरमाथा (एभरेस्ट) को नाम सुनेको तर कहाँ पर्छ भन्ने पनि थाहा नभएको, बुद्ध जन्मिएको देश भनेर पनि थाहा नपाएको बताए’, रामचन्द्र भन्छन्– ‘त्यति बेला मन नै भक्कानिएर आउँछ, एकदमै दुःख लाग्छ। नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृतिलाई विश्वभर नेपाललाई चिनाउने र नेपाली संस्कृतिमार्फत् विश्वभर राजदूतको काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवास्ता गर्दा पनि निराशा छाउँछ। कलासंस्कृतिको प्रवद्र्धन तथा संवद्र्धन गर्ने संस्था, कलाकारहरू राष्ट्रको सम्पत्ति हुन् भन्ने राज्यले बुझ्नु जरुरी छ।’

LEAVE A REPLY