प्रा. कपिल अज्ञात
सबै मानिसमा कवि हुने सामथ्र्य हुँदैन। कवि वा लेखक हुनु सौभाग्यको कुरा हो। कविमा पनि स्रष्टा र द्रष्टा दुवै गुणले युक्त हुनु सुन्दर कुरा हो। यस्तो गुण भएका कविलाई राजशेखरले कारयित्री र भवयित्री दुवै प्रतिभाले सम्पन्न कवि मानेका छन्। हुन पनि सुन्दर रचना गर्न सक्ने र सुन्दर रचनाको पनि सुन्दर समीक्षा गर्न सक्ने लेखक समाजमा दुर्लभ हुन्छन्। यस्ता दुर्लभ व्यक्तित्वमध्ये प्रा.डा. नारायणप्रसाद खनाल एक हुन्।

हालै प्रा.डा. खनालको प्रज्ञाद्योतित संस्कृतमनीषी प्रा.डा. वेणीमाधव ढकाल (२०७४) नामक बृहत् ग्रन्थ प्रकाशित भएको छ। बृहत् आकारमा ४५३ पृष्ठमा २९५ पृष्ठमा लेखकीय अन्तश्चक्षुको गहन विवेचनात्मक दृष्टिको भारी मिहिनेत परेको देखिन्छ। यति ठूलो व्यापक र विस्तृत विश्लेषणात्मक ग्रन्थको विशेषता र महत्त्वको आंकलन कसरी गर्ने भन्ने समस्या मेरा सामु प्रस्तुत छ। फेरि यो सरल प्रकृतिको समीक्षात्मक लेखन होइन, मौलिक, अनुदित, हिन्दी–संस्कृत–नेपाली भाषा निबद्ध निबन्ध, काव्य–महाकाव्य आदि विविध विधाका गहन कृतिको गम्भीर विश्लेषण गरिएको प्रबन्ध लेखन पनि हो। साङ्गोपाङ्गो ग्रन्थको स्वरूप र व्याख्या विश्लेषण महनीय स्थिति हेर्दा एक विषयमा विद्यावारिधि गरिसकेका प्रा.डा. खनालको यो महाविद्यावारिधि हो अर्थात् पी.एच.डी.पछिको डि.लिट. हो। केही दिन केही महिनाले यो सम्भव हुने कार्य नभएर वर्षौँ वर्षको अनवरत मिहिनेतको महान् उपलब्धि हो। यो प्रा.डा. खनालकै जीवनको महान् यज्ञ भने हुन्छ, जो स्वयं ‘कार्यं वा साधयेयम् देहं वा पातपेयम्’को दृढ अठोटका साथ कर्ता भएर प्रा.डा. वेणीमाधव ढकाललाई यजमान बनाई यति ठूलो यज्ञ सम्पन्न गरेका छन्। यो उनकै जीवनको मात्र नभएर नेपाली साहित्यकै पनि विशेष उपलब्धि हो।

यस्तो मानक ग्रन्थको निर्माण हुनु महान् संयोगको पनि परिणाम हो। हिन्दी, संस्कृत र नेपाली तीनै भाषामा पोख्त भई गहन ग्रन्थको रचना गर्ने अनि धर्म, संस्कृति र पुराणका ग्रन्थहरूको पनि टिकाटिप्पणी, व्याख्या र अनुवाद गर्ने विशिष्ट तथा क्षमतावान् एकजना कवि–विद्वान् अनि फेरि त्यस्तै विशिष्टतम क्षमता भएका अर्का प्रवीण समालोचकको कस्तो अद्भूत संयोग ? एक विशेष भाव साक्षात्कार गर्ने अर्को विशेष भाव दर्शन गरी विश्लेषण गर्ने जस्ता स्रष्टा व्यक्तित्व उस्तै द्रष्टा व्यक्तित्व। यो विधि–विधाताकै देन हो। अन्य कुनै समालोचक भए स्रष्टाको एक पक्ष र पाटो मात्रै केलाउन सक्थे, सबै पक्ष र पाटा पर्गेल्न सीमित ज्ञान भएका समालोचकबाट सम्भव थिएन, यहाँ त कवि वा लेखकले जति भाषामा लेखेका छन् जे–जति विधा र विषयमा लेखेका छन्, तत्तत् विषयको ज्ञान र प्रबुद्ध चेतना भएका व्यक्तिले लेख्न पाउनु शोधनायक र शोधकर्ता दुवैको निम्ति सुखद र गौरवबोधको विषय पनि हो।

प्रा.डा. खनालले नेपाली शोककाव्यहरूको गहिरो अध्ययन, चिन्तन र मनन गरेका छन् भन्ने तथ्य कृतिभित्र उनले प्रस्तुत गरेका विवरण सूची, अन्य पत्रपत्रिकामा प्रकाशित शोकसम्बन्धी समीक्षा अनि अधिकांश शोककाव्य अनुसन्धानको निर्देशक एवं भूमिका लेखनबाट पनि पुष्टि हुन्छ। प्रा.डा. ढकालका पनि अधिकांश काव्य शोकभावमै विरचित देखिन्छन्। नेपाली शोककाव्य परम्परामा प्रा.डा. ढकालले पुर्याएको महत्त्वपूर्ण योगदानलाई प्रा.डा. खनालले विस्तृत व्याख्याविश्लेषण र विवेचनासहित प्रकाश पारेको तथ्य पनि यस बृहत् ग्रन्थमा प्रकाशित छ। जुन–जुन विषयको प्रा.डा. खनालले अध्ययन अनुसन्धान गरे त्यही विषयका कृतिहरूको अध्ययन विश्लेषण गर्न पाउनुले व्याख्याविश्लेषण प्रौढ र परिपक्व स्थितिमा भएको बुझिन्छ भने उनको व्याख्या विश्लेषणको उत्कर्ष रूप यस बृहत् ग्रन्थमा पाउन सकिन्छ।
प्रा.डा. खनालमा काव्यको विश्लेषण गर्ने र मूल्याङ्कन गर्ने सूक्ष्मचेत सन्निहित छ। काव्यभित्रका जतिसुकै सूक्ष्म गुण र दोषलाई पनि उधिनेर र पर्गेलेर राख्न सक्छन् तर यसमा उनी विशेषतः गुणद्रष्टा विश्लेषकको रूपमा देखिएका छन्। एक त प्रा.डा. ढकाल गुरु त्यसमा पनि व्यक्तित्व र कृतित्वपरक परिचयात्मक ग्रन्थ भएकाले पनि छिद्रान्वेषण र कटु आलोचनातर्फ लाग्ने कुरै भएन। विशेषतः गुणकै प्रकाश गर्नुपर्ने ध्येय रहेकाले पनि लेखक त्यसमै केन्द्रित देखिन्छन्, गुरुका गुणहरूको यथोचित बखान गर्नु शिष्योचित धर्म पनि हो। यहाँ लेखकले लेखकीय धर्म मात्र नभई शिष्य धर्म पनि पालना गरेका छन्। गुरुको अति प्रिय शिष्य भए पनि लेखक समालोचकीय धर्मका विपरीत कहीँ पनि कोरा प्रशंसाले ग्रन्थको आयतन बढाउने काम गरेका छैनन्। आकारगत दृष्टिले ग्रन्थ जति विशाल भए पनि सम्बन्धित ग्रन्थ नायकका पाटा र पत्र व्यापक हुँदा तिनलाई समेटेर प्रस्तुत गर्नु नै गम्भीर चुनौती हो र यो लेखकद्वारा कुशलतापूर्वक समेटेर प्रस्तुत भएको संक्षिप्त रूपरेखा नै हो तर पनि लेखकको अथक् मिहिनेत, गम्भीर विद्वत्ता र प्रातिभा कौशलताको अद्भूत छटाले यो गहन र सारगर्भित बनेको देखिन्छ।

यसबाट कोही प्रभावित नभई रहन सक्दैन। आकार दिने जस्ता कुराको मिहिनेत अरुले पनि गर्न सक्लान्, व्यापकताको शोधखोज अरुलाई पनि हुन सक्ला, तर जुन भाषिक प्रौढता छ, वस्तु र प्रविधिको समन्वयात्मक संयोजन छ, गुणको पारख गर्ने सूक्ष्म चेत छ, जुन सारगर्भित कथनको सामथ्र्य हो, त्यो सबै प्रा.डा. खनालको मौलिक र अद्वितीय पक्ष हो।

सागरलाई सुमेरु पर्वतले मथेझैँ वेणीसागरभित्र के–के रत्नराशि छन्, तिनको पारख कसरी भएको छ ? त्यो यहाँ प्रस्तुत छ–
१. सन्तान–सुखका सम्बन्धमा
उनीहरू सबै प्रविधि ज्ञान, वाणिज्य, शिक्षा र व्याकरण आदि विषयमा स्नातकोत्तर गरेका आधुनिक उच्च शिक्षा र पूर्वीय उच्च शिक्षाको सङ्गम भई विश्वभूगोलको पूर्व एवं पश्चिमलाई कार्यक्षेत्र बनाएर आ–आफ्ना पेसा र व्यवसायमा सक्रिय रहेकाले सन्तानबाट प्रा.डा. ढकाललाई यथोचित सुख–सन्तोष रहेको पाइन्छ (पृ. १३)।

२. भौतिक कृति ‘शैलेश’ खण्डकाव्यको पारख
नेपाललाई हिमदेश बनाई जसरी मेनका र हिमालयले हिमालमा शासन गरेका थिए त्यसरी नेपालमा शिव र गौरी शासन गरून्, हिमालयमा हिमरत्नका रङ्गझैँ मनुष्यमा बहुरङ्गको प्रकाश परोस्, हिमाली संस्कृति र सभ्यता बढोस्, जनता परसेवक होऊन्, मान्छे मरे पनि देश बाँचिरहोस् भन्दै शैलेशलाई अचल झन्डा उचालेर अनन्तकालसम्म टिकिरहन अनुरोध गरिएको छ (पृ. ७९)।
३. अनूदित ग्रन्थका बारेमा
कुनै पनि ग्रन्थको जटिल ग्रन्थिभेदन गरी एक भाषाबाट अर्को भाषामा सरलीकृत अनुवाद गर्नु आफैंमा एक श्रम साध्य कार्य हो। प्राचीन धार्मिक, पौराणिक, आचार विचार र संस्कारादि निर्णयपरक ग्रन्थहरूको सही अर्थ ठम्याई जनसमक्ष पुर्याउनु कृतविद्यहरूबाट मात्र सम्भव हुने कार्य हो (पृ. १३७)।

यस ग्रन्थमा प्रकाशकीयसहित चारजना ख्यातिप्राप्त विद्वान्का भूमिका, शोधनायकसँग लेखकको अन्तर्वार्ता, पाँच परिच्छेदमा शोधनायकको जीवनीः व्यक्तित्व र कृतित्वसम्बन्धी विस्तृत विश्लेषण एवं परिशिष्टमा लेखकका रचना एवं छायाचित्रले ग्रन्थको पूर्ण प्राविधिक स्वरूप दर्शाउँछन्। यी सबै लेखककै लेखकस्वमा अनुबन्धित सामग्री हुन् तर अन्त्यमा शोधनायकका रचना प्रकाशनले लेखक सम्पादक पनि हुन् कि भन्ने भ्रम उब्जाउँछ र परिशिष्टमा शोध नायकका रचना सङ्गृहीत रहेकाले लेखकको सम्पादनको भूमिका रहे पनि ग्रन्थका आधिकारिक व्यक्तित्व पूर्णरूपमा लेखक नै हुन् भन्ने देखिन्छ। यसले पनि लेखकको गौरव बढाएको पाइन्छ।

लेखक र शोधनायक दुवै संस्कृत पृष्ठभूमिका विशिष्ट विद्वान् हुन्। दुवैमा गुरुशिष्यको पारस्परिक हार्दिक सम्बन्ध पनि छ। पेसामा पनि दुवैले शिखर आरोहण गरेका छन्। दुवैको साहित्यिक साधना र सामाजिक योगदान पनि उच्च छ। सिर्जना र समालोचना दुवैका कृति पनि उत्कृष्ट छन्। दुवै अनुवादक पनि छन् र अनुसन्धानकर्ता पनि हुन्। सम्भवतः सबै तहमा दुवैको उत्तिकै उचाइ र योगदान छ। प्रा.डा. ढकालको समग्र व्यक्तित्व र कृतित्वमा साधिकार लेख्न सक्ने असाधारण व्यक्तित्व नै प्रा.डा. खनाल देखिन्छन्। जुन उचाइमा प्रा.डा. ढकाल पुगेका छन् यत्तिकै गहिराइमा प्रा.डा. खनाल पुगेको अनुभव हुन्छ। यसमा प्रा.डा. खनालको सिर्जनात्मक, व्याख्याविश्लेषणात्मक, समीक्षात्मक, अनुवादात्मक अनुसन्धानात्मक सम्पूर्ण प्राज्ञिक क्षमताको अधिकतम उपयोग भएको छ। प्रा.डा. खनालमा निहित प्रतिभा प्रवीणता, सीप सामथ्र्य र श्रम साध्य आदि समग्र वृत्तिको यो उत्कर्ष रूप हो। यस्ता गहन ग्रन्थका प्रणेता प्रा.डा. खनालप्रति हार्दिक नमन गर्दछु।

अन्त्यमा,
सृजना र समीक्षाका सुन स्वयम् कसी पनि
अनुसन्धानका फेरि शुद्धताका दसी पनि
कालजयी रची ग्रन्थ साधना र उपासना
हुनाले नै तिमीबाट फैलिएको छ वासना।

LEAVE A REPLY