आज उनलाई पटक्कै निद्रा लागेको छैन। यताउता धेरै कोल्टे फेरे तैपनि निदाउन सकेनन्। सँगै सुतेकी श्रीमतीको शरीरको तातोले उष्णता बढाएको जस्तो लाग्यो। पलङसँगैको टेबुलमा राखेको मोबाइल बालेर हेरे, रातको १२ः३६ बजेको रहेछ। उनका मनमा अटाई–नटाई कुरा खेलिरहेका छन्। अझै निद्रा आउने सुरसारै छैन।

उनले मनमनै सोचे– ‘बेलामा आफूले धेरै पढ्न सकिएन। त्यस बेला आफू १५ वर्षको उमेरको हुँदा बल्ल ८ कक्षामा पढिँदै थियो। साथीभाइको लहैलहैमा लागेर पढ्न छोडी देश बनाउने नाममा हिँडियो। आज आएर विदेशीसँग कुरा गर्न पनि दोभासे जाबोको भर पर्नुपरेको छ। विदेशी पाहुनासँग आफैंले खरर्र अंग्रेजीमा कुरा गर्न सके शानै अर्कै हुन्थ्यो नि ⁄ आ, हुन त देशको सबैभन्दा ठूलो पद प्रधानमन्त्री हुन सकिहालियो। तर विशिष्ट व्यक्तिहरूले भनेका गहिरा कुरा बुझ्नका लागि पनि त पढ्नै पर्ने रहेछ। जाबो ८ कक्षा पढेको मैले कति कुरा बुझ्न सकूँला र ? मेरो आन्तरिक कमजोरी थाहा पाएरै होला आजकल मुख्य सचिवले पनि अलि टेर्न छोडेको छ । प्रधानमन्त्री हुनुभन्दा अगाडि मेरो जति धाक र शान थियो आज ती धाक र शान क्रमशः स्खलित हुँदै छन्। अब पढौं भने पनि लाजमर्नु ⁄ तर त्यसो भनेर पनि भएन नि ⁄ विदेशीसँग कुरा गर्न, भाषण गर्न, विद्वान्हरुका गहिरा कुरा बुझ्न सधैँ अर्काको भर, तर के गर्नु ?’

उनी अर्को कोल्टो फेरेर फेरि सोच्न थाले– ‘अब फेरि प्रधानमन्त्री बन्न पाइने होइन होला ? विपक्षीले पनि मेरा विरुद्धमा विष बमन गर्न थालेका छन्। सबैलाई पद बाँडेरै पनि सकिने रहेनछ।’

यसै बेला उनकी श्रीमती निद्रामै उनीतिर फर्किन्छिन्। यसले गर्दा उनको सोचाइ पनि मोडियो। उनी मनमनै भन्छन्– ‘यसले पनि शायद मेरो कमजोरी थाहा पाइसकी होली। प्रधानमन्त्री नहुन्जेलसम्म त आफ्नो क्षमता सबैलाई लुकाएर गुमराहमा राखेकै थिएँ। अब भने सबैले थाहा पाउने भए, थाहा पाए मात्र त केही हुने थिएन तर हेप्नै थालेका छन् र पो मार्यो। जे होस्, अब जसरी भए पनि बी.ए. सम्मचाहिँ पढ्नै पर्ला। अनि मात्र आफ्नो व्यक्तित्व कायम राख्न सकिएला।’
कोल्टे फेरेर निदाउन थाल्छन्। वास्तवमा यो त उनको मनभित्रको एउटा सपना मात्र पो रहेछ।

LEAVE A REPLY