पाँच दिनदेखि बन्द सडक अझै खुलेन



 

नेपाल समाचारपत्र
लमजुङ
पहिरोका कारण अवरुद्ध बनेको बेंसीशहर–चामे सडक खण्ड पाँच दिन बितिसक्दा पनि खुल्न सकेको छैन। उक्त सडक अवरुद्ध भएको शुक्रबार छैटौं दिन हो।

शनिबार राति गएको कडा चट्टानसहितको पहिरोका कारण सडक अवरुद्ध बनेको स्थानीयले बताएका छन्। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेबेंसी नजिकै खसेको पहिरोले बेंसीशहर–चामे सडकमा यातायात सेवा अवरुद्ध गरेको हो। उक्त पहिरो पन्छाउन बढी क्षमताको ‘चेन डोजर’ को व्यवस्था गर्न नसक्दा पाँच दिनसम्म पनि पहिरो पन्छाउन नसकिएको लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताउनुभयो। उहाँका अनुसार सडकभन्दा करिब ३० मिटर माथिबाट खसेको पहिरोले करिब ३० मिटर दूरीमा फैलिएको छ। उक्त पहिरोले यातायात सेवा मात्र हैन पैदाल यात्रीको आवागमनसमेत कठिन हुन गएको छ।

यथासम्भव छिटो पहिरो हटाउन डिभिजन सडक कार्यालय दमौलीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी मैनालीले बताउनुभएको छ। पहिरो ठूलो गएका र कडा चट्टानसमेत भएकाले सडक खुलाउन समस्या भएको डिभिजन सडक कार्यालय दमौलीका लमजुङ–मनाङ खण्ड हेर्ने इन्जिनियर गौतमकुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ। ‘डोजरबाट पहिरो पन्छाउन नसकिएपछि ब्लास्टिङको तयारी गरेका छौं’, श्रेष्ठले भन्नुभयो– ‘ब्लास्टिङका लागि नेपाली सेनालाई अनुरोध गरेका छौं।’

अवरुद्ध बनेको सडक खण्डमा प्रमुख जिल्ला अधिकारी मैनालीसहित नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति र लमजुङमा रहेको श्रीजंग गणका गणपतिसहितको टोलीले निरीक्षण गरेको छ। ‘अब सडकमा खसेका ठूलाठूला ढुंगा ब्लास्ट गर्नुको विकल्प देखिएन’ –प्रमुख जिल्ला अधिकारी मैनालीले भन्नुभयो। उहाँका अनुसार भोलि शनिबारका दिन मात्र ब्लास्टिङको काम हुने नेपाली सेनाको टोली खटिने भएको छ।

सडक निर्माण भएको २३ वर्ष पुग्दा पनि हिमालपारिको जिल्ला मनाङ सदरमुकाम चामे जोड्ने सडकको स्तरवृद्धि हुन सक्केको छैन। सडक स्तरयुक्त नहुँदा यात्रुले प्रायः सास्ती खेप्नुपरिरहेको छ। ट्र्याक मात्र खोलिएको भीरैभीरको सडक निकै जोखिमयुक्त रहेको लमजुङ उद्योग वाणिज्य संघ खुदी एकाइका अध्यक्ष वीरेन्द्र भण्डारीले बताउनुभयो। उहाँका अनुसार अवरुद्ध सडक सञ्चालनमा नआउँदा विदेशी पर्यटक तथा अन्य यात्रुलाई समस्या भएको छ।

लमजुङको सदरमुकाम बेंसीशहरबाट मनाङको सदरमुकाम चामेसम्म ६५ किलोमिटर दूरी रहेको छ। नेपाली सेनाले १९ वर्ष लगाएर तीन वर्षअघि ट्र्याक सम्पन्न गरी सडक विभागलाई जिम्मा लगाएको थियो। उक्त सडकमा एकतर्फी यात्रा गर्न सवारीसाधानलाई ८ घण्टा लाग्छ। यात्रुहरूले उक्त खण्डमा १ हजार भाडा तिरेर पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

पहिरोका कारण सडकमा अवरोध आएपछि खुदीबाट अर्खलेबेंसी हुँदै मनाङतर्फ जाने तथा लमजुङकै बेंसीशहर–रामबजार, स्याँगे सडक खण्डमा चल्ने सवारीसाधन चल्न सकेका छैनन्। पैदल यात्रुसमेत पहिरो खण्डमा जोखिम मोलेर हिँड्न बाध्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्