कृत्रिम पुनर्जन्म



कमल ढकाल

पूर्व जन्म हुन्छ ? पूर्वीय दर्शनले भन्छ। हुन्छ। केही दार्शनिक र वैज्ञानिकले यही जन्ममा कृत्रिम पुनर्जन्म हुन्छ भनेका छन्। एक मान्छेको गुण अर्काे मान्छेमा सार्ने प्रक्रिया नै कृत्रिम पुनर्जन्म (आर्टिफिसियल रिइन्कारनेसन) हो भन्ने संज्ञा उनीहरूले दिएका छन्। कुनै एक सफल मान्छेले २० वर्ष लगाएर गरेको सफलता अर्काे मान्छेमा ५ वर्षमा सरक्कै सार्न सकिन्छ। यो उनीहरूले दाबी गरेका छन्।

कुनै प्रख्यात गायक, सफल लेखक, कलाकार जसको पनि बोल्नेदेखि लिएर हिँड्ने कुरा। उसका दुःखसुख सबै खालको सिको गरेर एक मान्छे अर्काे सफल मान्छेजस्तै बन्न सक्छ। तर त्यसका लागि फ्यानजस्तो हैन ध्यानजस्तो साधना चाहिन्छ। लगातार ५ वर्ष एकचित्त लगाएर लाग्यो भने एक सफल मान्छेको कृत्रिम पुनर्जन्म अर्काे मान्छेमा हुन्छ। विवाद हुन सक्छ तर यो हुन्छ भनेर ग्यारेन्टी गरेका छन्। त्यस्ता संस्था पनि भविष्यमा खोलिन सक्लान्।

मोहमद रफीजस्तै गीत गाउँछु भनेर हिँडेका किशोर कुमार राम्रै गायक बने। किशोर कुमारजस्तै गायक बन्छु भन्ने कुमार सानु प्रख्यात गायक बने। स्वर सम्राट् नारायण गोपालका गीत बेस्कन मन पराएर गाउँदै हिँडेका रामकृष्ण ढकाल प्रख्यात गायक बने। उनलाई नारायण गोपालजस्तै बन्नु थियो। त्यसैमा साधना गरे र चर्चित गायक बने। आार्टिफिसियल रिइन्कारनेसनबारे रामकृष्णलाई सोधेँ मैले। उनले वास्तवमा यसबारे थाहा नभएको बताए। नारायण गोपालजस्तै बन्ने सपना पालेर उहाँका गीत गाउँदा नै आफू गायक भएको उनले बताए। लाउने खाने बस्ने उठ्ने सबै कुरा नारायण गोपालको सिको गर्न पाएकै रहेनछन् उनले। नारायण गोपालकै अगाडि नारायण गोपालको गीत गाउँदा धन्यवाद राम्रो गाउँदा रहेछौ भनेको कुरा उनको जिन्दगीको ऊर्जा बन्यो।

मोहमद रफीजस्तै गीत गाउँछु भनेर हिँडेका किशोर कुमार राम्रै गायक बने। किशोर कुमारजस्तै गायक बन्छु भन्ने कुमार सानु प्रख्यात गायक बने। स्वर सम्राट् नारायण गोपालका गीत बेस्कन मन पराएर गाउँदै हिँडेका रामकृष्ण ढकाल गायक बने। उनलाई नारायण गोपालजस्तै बन्नु थियो। त्यसैमा साधना गरे र चर्चित गायक बने।

ओराली लागेको हरिणको चाल भो बाँचुन्जेलसम्म पनि मरेकै हाल भो छल गर्यो मायाले भनेर १२ वर्षकै उमेरमा नारायण गोपालको गीत गाए। १४ वर्षमा एकल साँझ नै गरे। नारायण गोपालको मृत्युपछि त्यही धार समातेर उनकै गीत र केही नयाँ गीतका कारण चाँडै चर्चित भए। नारायण गोपालको गीत गाउँदागाउँदै पनि म्युजिक नेपालले निकालेको उनको गीत बढी नै बिक्न थाल्यो। जसले जुनियर नारायण गोपालको नाम दियो। कालान्तरमा अहिले रामकृष्णको आफ्नै नाम ब्रान्ड नाम बन्न थाल्यो।

जिन्दगीले यसरी धोका दियो कि भाग्य आफ्नै हो भन्नै सकिन भन्ने रामकृष्ण आफ्नो जिन्दगीमा सिद्धिचरणको कविता ‘भाग्यको लहरमा लहरी लहरी’ भनेजस्तै गरी गायनमा एकपछि अर्काे गर्दै भाग्यले तान्दै लगेको स्विकार्छन्। सानै उमेरमा सबैले गीत मन पराउनुदेखि लिएर गोपाल कर्माचार्य, श्रीमती नीलम राणा, अनि लता मंगेस्करसँग गाउन पाउनु सबैलाई रामकृष्णले लककै संज्ञा दिए। छोरी रानी पनि गायनमै लाग्न खोज्नुले उनलाई थप खुसी बनाएको छ।

निजगढमा जन्मेका उनी चितवन हुँदै राजधानीको बसाइ सबै जिन्दगीका अनप्लान कथाहरू हुन्। सायद यही नदेखिएको र योजना नै नबनाएको कुरा जिन्दगीमा जोतिने कुरालाई भाग्य भनिन्छ। यो भाग्यले पनि उनलाई मद्दत नै गर्यो। यद्यपि कर्म नगरी भाग्य कहाँ आउँछ र ? दिनका दिन रियाज गरेकै ३० वर्षभन्दा बढी भइसक्यो। घाँटीको माया गरी–गरी अरूले कोक स्प्राइट मज्जाले तन्काउँदा उनी भने तातो गर्मीमा पनि तातो चियामा रमाइरहेका हुन्छन्। दुनियाले गाली गरून् वा ताली बजाऊन् खुसी दुःख नगरी १२ वर्षको उमेरदेखि लागिरहनु तपस्या हो। तपस्याकै कारण फल प्राप्त गरे।

गायक रामकृष्ण देख्दै ह्यान्डसम छन्। चढ्दो उमेरमा भुँडीलाई मेन्टन गरेका उनी आफैं हिरो भएर आशीर्वाद नामक फिल्म पनि खेलिसके। म्युजिक भिडियो कति खेले कति। रामकृष्णसँग एक मान्छेले धेरै कुरा सिक्न सक्छ। सानै उमेरमा ठूलो इतिहास बनाएका उनी नेपाली आधुनिक गीति क्षेत्रका खम्बा हुन्। गायकले पनि रोयल्टी पाउनुपर्ने मागलाई लोकतान्त्रिक ढंगमा उठाउन उनकै नेतृत्वमा सिंगर एसोसिएसन बन्यो। पब्लिक ठाउँमा बजाएको पैसा लिन सिंगर एसोसिएसन बनेको उनको भनाइ थियो। आफ्नो अधिकार लिन ३ सयभन्दा बढी गायक सो संस्थामा आबद्ध भएको रामकृष्णले बताए। ‘साँच्चै रोयल्टीलाई व्यवस्थित तवरले लिएर जान सकेको खण्डमा एक राम्रो गायकले महिनाकै १ लाखजति कमाउन सक्ने रहेछ’ –यसो भन्दै थिए उनी।

देख्दा रमाइलो जिन्दगी बनाएका छन् रामकृष्णले। आफूले चाहेकी जस्ती श्रीमती, राजधानीमा घर, सानदार गाडी, चुलबुले छोरी, नाम, दाम, इनाम। एक साधारण मान्छले सोचेको सपना उनको यथार्थता छ। यी सबैको पछाडि साढे दुई दशक एकै काममा निरन्तरता नै हो। मान्छेलाई २५ वर्षपछि त यस्तो बन्छस्, यो काम निरन्तर गर् भनेर भन्दा उसले मरिगए मान्दैन। जब जिन्दगी यता–उता ठोक्किएर ४० पुग्छ अनि पछुताउँदै हिँडेको मान्छे धेरै भेटिन्छ। साँच्चै रामकृष्णलाई आदर्श पात्र बनाउने र उनीजस्तै बन्न चाहनेले वा रामकृष्णको कृत्रिम पुनर्जन्म आफ्नो जिन्दगीमा सार्ने हो भने २५ वर्षको उनको जस्तै काम गर्न तयार हुनुपर्छ।

नेपाल आइडलले उनकै नाममा एक कार्यक्रम नै राख्यो। सबै गीत उनको गाउन लगाएर उनकै अगाडि सम्मान गर्यो। नेपाल आइडलका सबै सहभागीले उनलाई आइडल माने। नेपाल र नेपालीमाझ उनको स्वर कानमै बसिसकेको छ। रामकृष्णले अब अरू कसैलाई कहिले कृत्रिम पुनर्जन्म गराउनेछन्।

प्रतिक्रिया दिनुहोस्