हेयर स्टाइलमा नीलको क्रान्ति



 

रश्मी थापा

सिंगापुरको सैलुनमा पुरुषले महिलाको कपाल काटिरहेको देखेर अचम्ममा परेका नील डेभिड कटुवाल अहिले नेपालको पहिलो सेलिब्रेटी हेयर स्टाइलिस्टका रूपमा परिचित छन्। २०४१ सालमा झापा लक्ष्मीपुरमा जन्मेका उनी सायद नेपालको हेयर स्टाइलको क्षेत्रमा क्रान्तिकारी परिवर्तन लयाउनकै लागि जन्मेका थिए।

कन्काई बोर्डिङ बिर्तामोडबाट एसएलसीसम्मको पढाइपछि महेन्द्र मोरङ क्याम्पसबाट आईकम गरेका उनी विदेश पढ्न जाने सोचले काठमाडांै आएका थिए। ‘पहिले त फेसन डिजाइनिङ पढ्नका लागि अस्ट्रेलिया ट्राइ गरँे, असफल भएपछि २ चोटि लन्डन ट्राइ गरेँ, भिसा रिजेक्ट भयो। जर्मनी, फ्रान्स, क्यानडा गरी ६⁄७ देशमा प्रयास गर्दा पनि असफल भएँ’, नील सुनाउँछन्– ‘बारबार विदेशका लागि ट्राइ गर्दा धेरै पैसा लगानी भइसकेको थियो। आशा भने गुमाएको थिइनँ।’

नेपालबाट गरेको सबै प्रयास असफल भएपछि क्यानडाको भिसा लिन क्यानेडियन एम्बेसी दिल्लीसम्म पुगेका उनी फेरि पनि भिसा नलागेपछि निराश भएर नेपाल फर्के र जर्मनीका लागि प्रयास गरे। यसपटक पनि भिसा रिजेक्ट भएपछि निराश बनेका उनको भेट अचानक ब्रिटिस नागरिक डेभिड भाइनलसँग भयो, जसलाई उनी अहिले आफ्नो गडफादर मान्छन् र गडफादरकै नाम जोडेर नील डेभिड कटुवाल लेख्छन्। जिन्दगीमा अब केही बाँकी छैन भनेर भौंतारिएर हिँडिरहेका बेला पासपोर्ट हराएर भौंतारिइरहनुभएको अवस्थामा उहाँसँग भेट भयो। एउटा विदेशी नागरिकलाई अरूको देशमा समस्या पर्दा सहयोग गर्नु आफ्नो कर्तव्य मानेर ठमेलसम्म पासपोर्ट खोज्न गइदिएँ, तर भेटिएन। अनि भोलि एम्बेसी जान मलाई सहयोग गर्छौ भन्नुभयो, सक्दो सहयोग गरेँ। ४⁄५ दिनपछि पासपोर्ट बन्यो र खुसी भई मलाई हजार पन्ध्र सय डलर दिन खोज्नुभयो। ‘पैसाको जरुरत भए पनि लिन मानिनँ’, नील गफिए– ‘तपार्इं हाम्रा लागि पाहुना हो, मैले पैसाका लागि सहयोग गरेको होइन भनेपछि उहाँ कन्भिन्स भएर गिफ्ट त लिन मिल्छ नि भनेर टिसर्ट र जुत्ता उपहार दिएर जानुभयो।’ नेपालीहरू आत्मीय र सहयोगी हुन्छन् भन्ने छाप बनाएका नीललाई सम्झेर ती ब्रिटिस नागरिकले बेलाबेलामा चिठी पठाउन थालेछन्, आत्मीय सम्बन्ध बढ्दै जान थालेछ। ‘एक दिन फोनकलमा उहाँलाई के लागेछ कुन्नि? अब मलाई अंकल नभन्नु, ड्याड भन्नु भन्दै म तिमीलाई पढाउन चाहन्छु कुन देशमा पढ्छौ भनेर सोध्नुभयो’, नीलले सम्झिए– ‘धेरै देशमा पहिले नै ट्राइ गरेर रिजेक्ट भइसकेको हुनाले लन्डन जान्छु भन्न पनि डर लाग्यो र दिल्लीमा पढ्न चाहेको बताए। उहाँले म यहाँबाट दिल्ली आउँछु र तिम्रो एड्मिसन गराएर फर्किन्छु, तिमीसँग पैसा पनि छैन होला भनेर वेस्टन युनियनमार्फत् ४० हजार रुपियाँ पठाउनुभयो। बुबाआमालाई यो सबै कुरा भन्दा पत्याउनुभएन। उहाँकै सहयोगमा दिल्ली गएर इन्टरनेसनल इन्टिच्युट अफ फेसन डिजाइनिङमा फेसन डिजाइनिङ पढ्न थालें।’

केहीपछि सिंगापुर घुम्न गएका बेला उनी कपाल काट्नका लागि एक सैलुनमा छिरेछन्। त्यहाँ महिलाले पुरुष र पुरुषले महिलाको कपाल काटेको देखेर उनी अचम्ममा परेछन्। ‘त्यति बेलै मेरो मनमा आइसकेको थियो कि नेपालमा त यस्तो चलन छैन। म पनि यस्तै नयाँ पेसा गर्छु। मनमा डर पनि थियो, कतै बुबाले यो काम नगर भन्नुभयो भने के गर्ने? गडफादरलाई आफ्नो पढाइ चेन्ज गर्न चाहेको बताएँ। फेसन डिजाइनिङमा पहिले नै धेरै पैसा खर्च भइसकेको थियो। त्यसैले उहाँले यो अब लास्ट हो, जे गर्छौ सफल हुने गरी गर भन्नुभयो।

जब बुबा (स्व. कृष्णबहादुर कटुवाल, तत्कालीन प्रधानपञ्च) लाई कपाल काट्ने पेसा रोज्न लागेका कुरा बताएँ। बुबाले तैंले यसो गर्न सुहाउँदैन भनेर गाली गर्नुभयो। मैले सम्झाएपछि कन्भिन्स हुनुभयो र जे गर इमानदारीसँग गर कसैलाई दुःखी बनाएर आफू खुसी हुने काम नगर भन्नुभयो’, नील सम्झँदै थिए– ‘उहाँको यही गुरुवचन लिएर आज यहाँसम्म आएको छु।’ दिल्ली पुगेर जावेद हबिबकहाँ हेयर स्टाइलिससम्बन्धी कोर्स पढेपछि उनले लन्डन, थाइल्यान्डमा पनि विभिन्न कोर्स गरेर आफूलाई परिमार्जित गर्दै लगे। थाइल्यान्डमा मिस्टर किवा र लन्डनमा वल्र्डकै नम्बर वन हेयर स्टाइलिस्ट टोनी एन्ड गाइजसँग हेयरस्टाइल र मेकअप सिकेका नील मुम्बई बस्ने योजना बुनेर दिल्लीबाट त्यहाँ पुगे। लन्डनबाट धर्मपिता पनि पुगेछन्। उनले मुम्बईमै काम गर्दा ठूलो पोखरीमा सानो माछाजस्तो हुने तथा आफ्नै देशमा केही गरे आइकन बन्छौ भनेर प्रेरित गरेपछि नीलले सन् २००६ मा काठमाडांैस्थित काठमाडांै मलमा नील डेभिड युनिसेक्स सैलुन सञ्चालनमा ल्याए। ‘त्यो बेला काठमाडांै मल भर्खरै बन्दै थियो, तर सबै स्पेस बुकिङ भइसकेका थिए। एउटा कुनामा सानो ठाउँ खाली थियो, जहाँ मानिसहरू चुरोट खाएर फाल्ने, पान खाएर थुक्ने, गफ गर्ने थलो थियो। मलाई त्यही ठाउँ दिए। महिलाले पुरुष र पुरुषले महिलाको हेयर स्टाइल बनाउने काम यहाँका लागि नौलो थियो। त्यसैले हामीले माया गर्नुपर्छ भनेर सबैले साथ दिए।

तर, युनिसेक्स भनिएकाले नबुझ्नेहरूले यसलाई गलत अर्थ लगाइदिए’, नीलले भने– ‘शुरू–शुरूमा कपाल काट्ने सिटमा महिला बसेको देखेर पुरुष फर्किन्थे, पुरुषलाई देखेर महिला फर्किन्थे। विस्तारै महिला पुरुष एकै ठाउँमा बसेर कपाल काटेकोलाई सामान्यरूपमा लिन थालियो।’ सफलता पाउँदै गएपछि नीलले काठमाडौंको केएल टावर, काठमाडांै मल, सिभिल मलका साथमा उर्लाबारी, दमक, इलाम, बुटवललगायतका स्थानमा पनि यसलाई विस्तार गरेका छन्। नेपालमा मात्र नभई भारतको सिलुगढी, दार्जीलिङ, दुर्गापुर, कोलकातालगायतका स्थानमा पनि उनका सैलुन सञ्चालनमा छन्। यीमध्ये केही स्थानमा उनका सैलुन फ्रेन्चाइजी ब्रान्डका रूपमा सञ्चालित छन्।

‘भारतको जुन स्थानहरूमा आफ्नो सैलुन विस्तार गरेें त्यहाँका सबै मानिसले मलाई साथ दिए। नेपाली ब्रान्ड लिन नमान्ने इन्डियामा मैलेचाहिँ सबैबाट सहयोग पाएँ। अहिले पनि धेरै ठाउँबाट अफर आइरहेको छ। तर, अब नेपालमा वर्षमा ३ र भारतमा वर्षमा ६ ओटा मात्र फ्रेन्चाइजी लिने निर्णय गरेको छु। केही वर्षमा एउटा ब्रान्च र फ्रेन्चाइजी बनाउने सोच छ। उनले काठमाडांैमा दुई, इटहरी, उर्लाबारी, बिर्तामोड गरी ५ र भारतको सिलुगढीमा दुई हेयर एकेडेमी पनि सञ्चालनमा ल्याएका छन्। जसबाट उनले हालसम्म २५ हजार विद्यार्थी जन्माएका छन्।

नील सेलिब्रेटीका लागि पनि प्रिय हेयर स्टाइलिस्ट सावित हुँदै आएका छन्। केकी अधिकारी, रेखा थापा, सुनील थापा, विपना थापा, श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, प्रमोद खरेल, निश्चल बस्नेतलगायतका हेयर स्टाइल बनाएका उनले विभिन्न फिल्म, विज्ञापन, सौन्दर्य प्रतियोगिता, फेसन शो, नेपाल आइडललगायतका लागि हेयर स्टाइलको काम गर्दै आएका छन्। खेलाडीहरू नवयुग श्रेष्ठ, विमल घर्ती मगर, सागर थापा, शक्ति गौचन आदि उनको रेगुलर ग्राहक हुन्। त्यसो त नेपालभित्र सयभन्दा माथि र भारतको सिक्किम, सिलुगढी, आसाम, दार्जीलिङलगायतका स्थानमा हेयर स्टाइल सेमिनार गरिसकेका उनले २००८ मा आँखामा पट्टी बाँधेर २५ मिनेटमा ५ महिलाको ५ स्टाइलको कपाल काटेर चमत्कार नै देखाइदिएका थिए।

उनले राजधानीको सिभिल मलमा एनडीके नील डेभिड कटुवाल मेकअप स्टुडियोसमेत सञ्चालनमा ल्याएका छन्। ‘सन् २००९ मा नै हलिउड मेकअप आर्टिस्ट क्रिस्टिना ब्लेनडरसँग मेकअप कोर्स गरे पनि हेयर स्टाइलतिर नै व्यस्त हुन थालेकाले मेकअपतिर ध्यान दिन सकिरहेको थिइनँ। त्यसैले आफूले सिकेको कलाको सदुपयोग गर्न मेकअप स्टुडियो पनि सञ्चालनमा ल्याएको हुँ। त्यसबाट हामीले पहिलो ब्याचमै २५ जना विद्यार्थीलाई पास गराइसकेका छौं’ –नीलले सुनाए।

उनी हिजोसम्म कपाल काट्ने भनेर हेला गरिएको पेसालाई अंगालेर अरूलाई पनि आफ्नो ब्रान्डप्रति आकर्षित गर्दै सयांै विद्यार्थीलाई रोजगारी दिन सकेकोमा गर्व लागेको बताउँछन्। शुरूमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएर हिँडेका उनले आफ्नो निर्णय परिवर्तन गरेर हेयर स्टाइलिस बने पनि उनमा फेसन डिजाइनप्रतिको मोह भने थियो नै। त्यसैले बीचमा यता फर्किए पनि धेरै सोचेपछि पुनः हेयर स्टाइलको क्षेत्रमा मात्र सक्रिय हुने निर्णय गरे। पहिले सोखका रूपमा रोजेको हेयर स्टाइलिस्टको पेसा हाल उनको व्यापार बनेको छ। ‘पहिले सोखका कारण नै यो क्षेत्रमा प्रवेश गरें। काठमाडौंमा एउटा सैलुन खोलें सबैले मन पराइदिए, निकै चर्चा पायो, अन्य स्थानमा पनि खोल्दै जाँदा पब्लिक फिगर नै बनियो। फ्रेन्चाइजीको डिमान्ड बढ्यो। त्यसपछि व्यापार हुन थाल्यो, तर, पनि म पैसाका लागि सबै थोक गर्दिनँ। मेरो व्यापार चलेन भने पनि मैले आफ्नो खल्तीबाट भाडा तिर्न सक्दिनँ, म समाजसेवा गर्न मन पराउँछु र गर्दै पनि आइरहेको छु –उनले भने। उनले विभिन्न स्थानमा स्कुल तथा अन्य सामाजिक उद्देश्यले बन्न लागेका भवन निर्माणका लागि सेमिनारबाट आएको पैसाले सहयोग गर्दे आइरहेका छन्। हालै तराईमा आएको बाढीबाट प्रभावितका लागि पनि गायक प्रमोद खरेलसँग मिलेर उनले ४ सय बाढीपीडित घरपरिवारलाई राहत सहयोग गरे।

नेपाल आइडलको हेयर डिजाइनिङ गरिरहेका उनी अबको दिनमा आफ्नो छोरा डेनियलको चाहना पूरा गर्न लागिपर्ने बताउँछन्। ‘कुनै बेला मलाई फुटबल मन नै नपर्ने गेम हो। म फुटबल बुझ्दा पनि बुझ्दिनँ। तर, मेरो छोराले ८ वर्षको उमेरदेखि पन्जाबको युनाइटेड क्लबबाट फुटबल खेलिरहेको छ। उसको लक्ष्य भविष्यमा युरोपियन क्लबमा फुटबल खेल्ने छ। अहिले ऊ लन्डनमा ३ महिनाको फुटबल ट्रेनिङ गरिरहेको छ। त्यसैले उसलाई नेपालको फुटबल स्टार बनाउने सपना देखिरहेको छु –नील भन्छन्।

प्रतिक्रिया दिनुहोस्