सगरमाथाको उचाइ नापिँदै



 

प्रशान्त वली, काठमाडौं
सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ। त्यसका लागि नापी विभागले क्रमिकरूपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरू गरेको छ।

सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्तरूपमा गर्ने भने पनि सरकारले चाड पर्वपश्चात् आफै नाप्ने गरी कार्यविधि टुंगो लगाउने कामलाई तीव्र बनाएको जनाएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट नेपाल अन्तर्राष्ट्रिय जगत्मा चिनिएको छ।

विभागले दुई वर्षभित्र सगरमाथाको उचाइको नतिजा प्राप्त गर्ने गरी कार्यविधि ल्याउने तयारी गरेको छ। कार्यविधिमा उचाइ मापन लागत, विधि प्रक्रिया, आवश्यक प्राविधिक तथा अन्य जनशक्तिलगायतका आधार समेटिएका छन्। सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपियाँ खर्च लाग्ने नापी विभागले बताएको छ।

विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयुक्तरूपमा पुनः नाप्नका लागि भारतले नेपालसँग केही महिनाअघि प्रस्ताव राखेको खबर सार्वजनिक भए पनि नापी विभागले यसबारे आफूलाई केही जानकारी नभएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

इन्डो नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरेको भारतका विज्ञान मन्त्री हर्ष वद्र्धनले भारतीय सञ्चारमाध्यमलाई बताउनुभएको थियो।

सर्भे अफ इन्डियाको २५०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री वद्र्धनले आवश्यक प्रक्रिया पूरा भए अबको दुई महिनासम्ममा सगरमाथाको चुचुरोको सर्भे सम्पन्न गर्ने र संयुक्त टोलीले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) र त्रिकोण मितीय विधि गरी दुई विधिबाट उचाइ नाप्ने तयारी भइसकेको बताउनुभएको थियो।

विभागका महानिर्देशक भट्टले भन्नुभयो– ‘अहिले सगरमाथा उचाइ मापनका लागि कार्यविधि बनाउने कार्यलाई अन्तिम रूप दिँदै छौं, दशैंसम्म यो काम पूर्णरूपमा सकिन्छ। नाप्नका लागि आवश्यक प्रक्रिया अघि बढाउँछौं। मंसिरको अन्तिम अथवा पुसदेखि नाप्नका लागि आवश्यक प्रक्रिया थाल्छौं।’

सरकारलाई सगरमाथाको उचाइ वैज्ञानिकताको सम्बन्धमा कार्यक्रमकैरूपमा पार्न आफूले प्रस्ताव पेस गरिसकेको विभागका महानिर्देशक भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

सरकारसँग माग गरिएको बजेट मापन कार्यलाई आधिकारिक तुल्याउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्राविधिक यन्त्र, मापनका लागि खटिनेका लागि विशेषज्ञ तालिम, कर्मचारीमा सो रकम खर्च हुने बताइएको छ।
उचाइ मापनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि भू–उपग्रहमा आधारित जिपिएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमेन्टसमेत विभागमा छ।

अहिलेसम्म सन् १८५२ देखि सन् २०११ सम्म दशपटक सगरमाथाको मापन गरिएको छ। विभागले सन् १९५४ को भारतीय नापी टोलीलाई पहिलोपटक सगरमाथाको उचाइ मापन गर्ने स्वीकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिक रूपमा मान्दै आएको उचाइ भने भारतीय टोलीले गरेको मापनलाई आधार बनाएको छ।

प्रतिक्रिया दिनुहोस्