टेक्सासको हुरिक्यान फ्लोरिडातर्फ



भगवती तिमल्सिना
नर्थक्यारोलाइना, अमेरिका

झन्डै ३ हप्तादेखि अमेरिकाको टेक्सासमा फैलिएको हुरिक्यान अर्थात् सामुद्रिक छाल र वर्षाद्सहितको हुरी आउँदो आइतबार बिहानसम्म फ्लोरिडामा पुग्ने भएको छ। यस विषयमा फ्लोरिडा प्रान्तका सरकार प्रमुखले आम जनतालाई सजग रहन आग्रह गरेको छ।

टेक्सासमा आएको हुरिक्यान र वर्षाद्का कारण अस्तव्यस्त रहेको हिस्टनलगायतका क्षेत्रमा अहिले पनि आवश्यकताअनुसारको सहयोग पुग्न सकेको छैन। यता ड्यालस टेक्सासलगायतका क्षेत्रमा खाद्यान्न, पानी, आवास, पेट्रोलियम पदार्थको अभाव शुरू भएको छ।

त्यहाँका जनतालाई आवश्यक सहयोगको खाँचो रहेको भन्दै अमेरिकी रेडक्रसले सहयोगको आह्वान गर्दै सडक सडकमा र्याली शुरू गरेका छन्। स्थानीय सरकार र जनताले सहयोग गरिहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिस्टनको भारी डुबान परेको क्षेत्र टेक्सासमा एक हप्तामा २ पटक अवलोकन गर्नुका साथै १ करोड डलर सहयोगको घोषणा गर्नुभएको छ।

हुरिक्यानले थुप्रै मानिसको ज्यान जानुका साथै ठूलो आर्थिक क्षति पुर्याएको छ। यस्तो अवस्थाको मौका छोपी व्यवसायीहरूले पेट्रोलियम पदार्थमा कार्टेलिङ गरेको भन्दै स्थानीयले व्यापारीको उछित्तो काढेका छन्। दुःखका बेला व्यापारीले नाफामुखी व्यापार गरेर पेट्रोलियम पदार्थ लुकाउनुका साथै चर्को मूल्यमा विक्री गरेको भन्दै स्थानीयले सरकारसँग गुनासो गरेका छन्।

यता पेट्रोलियम डिलर एसोसिएसनका सीईओले पनि व्यापारीहरूले धेरै पेट्रोलियम पदार्थ खरिद गरी स्टकमा राखेको र जनताले पनि त्यसै गरेका कारण बजारमा अभाव भएको बताएका छन्।

धेरै नियम कानुन भएको मुलुकका रुपमा परिचित विकसित मुलुकमा त यति धेरै कार्टेलिङ हुन्छ भने गरिब मुलुकमा के नहोस् भन्छन् टेक्सासमा बसोबास गर्ने नेपालीहरू। कतिपयले आफ्ना फेसबुकको स्ट्याटसमा समेत उल्लेख गरेका छन्ः नेपालको झल्को दियो टेक्सासमा, ग्यासको लाइनमा बसेर ग्यास नपाउँदा।

यस वर्षको यो हुरिक्यान निकै ठूलो र विनाशकारी भएको सरकारले जनाएको छ। धनजनको क्षति ठूला केमिकल उद्योगको विष्फोट, घर, बाटो, स्कुल, अस्पताललगायतका सबै ठाउँको पुनर्निर्माण गर्नुपर्ने भएको छ। यहाँको जनजीवन निकै कठीन भएको छ।

यतिबेला सरकारले यहाँको जनस्वास्थ्यमा निकै प्राथमिकतामा राखी बाढीले पुरिएको ठाउँमा रहेका कुनै पनि खानेकुरा नखान, पानी पनि उमालेर फिल्टर गरे शुद्धीकरण गरेर मात्र खान, बाढीमा परेका बस्तीका हरेक मानिसको स्वास्थ्य परीक्षण गर्नसमेत आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्