सिसडोल पुगे उपमेयर



 

ईश्वरराज ढकाल, काठमाडौं
उपत्यकाको फोहोर व्यवस्थापन कठिन बन्दै गएपछि स्थानीयबासीसँग वार्ता गर्न राजधानीका दुई महानगरपालिकाका उपमेयरहरू सिसडोल ल्यान्डफिल साइट पुगेका छन्।

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी र ललितपुर उपमहानगरपालिकाका उपमेयर गीता सत्याल शुक्रबार साँझ सिसडोल पुगेका थिए। स्थानीय जनप्रतिनिधिले काम गर्न नसकेको र राजधानीको फोहोर व्यवस्थापनमा चासो नदेखाएको आरोप लागेपछि दुई उपमेयर ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट पुगेका हुन्।

चार दिनदेखि फोहोर व्यवस्थापन हुन नसकी बाटोमै फोहोर थुप्रिएर दुर्गन्धित हुन थालेपछि हतारिएर दुई उपमेयर सिसडोल पुगेका थिए। काठमाडौंका केही वडा अध्यक्ष, वातावरण व्यवस्थापन विभाग प्रमुख रवीनमान श्रेष्ठ, ललितपुरका फोहोर व्यवस्थापन प्रमुखलगायतको टोलीसँगै दुई उपमेयर सिसडोल पुगेका थिए। टोलीले सिसडोल ल्यान्डफिल साइटको सम्पूर्ण क्षेत्र अवलोकन गरेका थिए। दुवै उपमेयरले स्थानीयबासीसँग आज शनिबार फोहोर व्यवस्थापन गर्न हारगुहार गरेका थिए।
तर स्थानीयबासीले फोहोर व्यवस्थापनलाई तीन दिनभित्र व्यवस्थित गरी आफ्ना माग पूरा गरेपछि मात्रै फोहोर व्यवस्थापन गर्न दिने जनाएका थिए। स्थानीय सुष्मा न्यौपानेले जथाभावी फ्याँकिएको फोहोर व्यवस्थित भएपछि मात्रै व्यवस्थापन गर्न दिने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘उहाँहरूले त आजैबाट फोहोर ल्याउने र विस्तारै व्यवस्थित गर्दै लैजाने बताउनुभएको थियो तर हामीले मानेनौं।’ उहाँले आज शनिबारबाट फोहोर ल्याए स्थानीयले अवरोध गर्ने चेतावनी दिनुभयो। ‘दुई वर्षका लागि भनेर फोहोर फ्याँक्ने अनि १३ वर्ष भइसक्दासमेत बेवास्ता गर्ने? यस्तै अवस्था हो भने हामी फोहोर व्यवस्थापन गर्नै दिन्नौं।’ –उहाँले भन्नुभयो।
फोहोर व्यवस्थापन समस्या बन्दै गएपछि महानगर कार्यपालिकाको बैठकले उपमेयर खड्गीको संयोजकत्वमा बनेको समितिले पहिलोपटक सिसडोल अवलोकन गर्न पुगेको हो। दुवै उपमेयरले स्थानीयबासीको माग पूरा गर्दै जाने आश्वासन दिएका थिए। तर स्थानीयले भने आफूहरूको माग पूरा नभई फोहोर व्यवस्थापन गर्न नदिने दोहोर्याएका थिए।

फोहोर व्यवस्थापन गर्न नसक्ने जनप्रतिनिधिको सर्वत्र आलोचना भएपछि एक्कासि सिसडोल पुगेका दुई उपमेयरले आफूहरू माग पूरा गर्न तयार रहेको बताएका थिए। दुवै मेयर विदेश भ्रमणमा गएपछि कार्यभार सम्हालेका उपमेयरद्वय सिसडोल पुग्दा जनता स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए। साँझ करिब साढे ६ बजे सिसडोल पुगेका दुवै उपमेयरसहितको टोलीले करिब एक घण्टासम्म स्थानीयसम्म वार्ता गरेको थियो।

त्यसपछि राति अबेरसम्म सिसडोलमै बैठक बसेर समस्या समाधान गर्न सबैपक्ष लागिपर्ने जनाएका थिए। फोहोर व्यवस्थापनमा असहज बन्दै गएपछि कामपाले बिहीबार सार्वजनिक सूचना जारी गरी स्थानीय सिसडोलबासीसँग फोहोरमैलाको समस्या समाधान गर्न हदैसम्म लचकता अपनाउँदासमेत समस्या समाधान हुन नसकेपछि अल्पकालीन रूपमा घर, अफिस र कम्पाउन्डमै फोहोर व्यवस्थापन गर्न आग्रह गरेको थियो।

स्थानीयले लामो समयदेखि रोकिएको मुआब्जा दिनुपर्ने, तत्काल फोहोर पुर्नुपर्ने लिचेड व्यवस्थापन गर्नुपर्ने, ल्यान्डफिल साइटको क्षेत्र ९ सय मिटरसम्म अधिग्रहण गर्नुपर्ने, ल्यान्डफिल साइटबाट पीडित जनतालाई घरभाडा दिनुपर्नेलगायतका माग दोहोर्याएका थिए। फोहोर संकलन हुन छाडेपछि काठमाडौं र ललितपुरको फोहोर फेरि बाटौमै थुप्रिन थालेपछि सरकारकोसमेत दबाब थेग्न नसकेर दुई उपमेयर सिसडोल पुगेका थिए। हाल सिसडोलमा दुई महानगरसमेत गरी १८ स्थानीय निकायका फोहोर व्यवस्थापन हुने गरेको छ।

सबै स्थानीय निकायको फोहोर बाटोमै थुप्रिन थालेपछि जनप्रतिनिधि तातिएका हुन्। सिसडोलमा फोहोर पुर्याउन नसकेर काठमाडौंको टेकुको ट्रान्स्फर स्टेसन र ललितपुरको बालकुमारीस्थित संकलन केन्द्रमा समेत फोहोरले भरिएको छ।

प्रतिक्रिया दिनुहोस्