जताततै प्रतिबन्धित भारतीय चल्ला !



नेपाल समाचारपत्र, बाँके  । भारतबाट प्रतिबन्धित कुखुराका चल्ला गाडीमै ल्याउने गरिएको छ । बाँके र बर्दियाका छोटी नाका प्रयोग गरेर कारोबारीले कुखुरा चल्ला गाडीमै ल्याउने गरेका हुन् । पछिल्ला दिनमा बाँकेको पश्चिम र बर्दियाको पूर्वी नाकाबाट ठूलो मात्रामा भारतीय चल्ला भित्रिएको पाइएको छ ।
बाँके प्रहरीले जिल्लाको पश्चिमी नाका खजुरा–२, गौघाटबाट एक गाडी चल्ला बरामद गरेको छ । चालकसहित तीन जनालाई ५ हजार १ सय ८२ वटा चल्ला लिएर आउदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
भदौ ५ गते भन्सारमा रहेको सशस्त्र प्रहरीले खजुरा–४ बाट एक गाडी चल्ला बरामद गरेको थियो । गाडीमा आठ हजार भारतीय चल्ला थिए । बर्दियाको जमुनी र बलैगाउँ नाका प्रयोग गरेर कारोबारीले चल्ला बाँकेको नेपालगञ्जतर्फ ल्याउदै थिए ।
प्रहरीले नाकामा राखेका आफ्ना मान्छे या विशेष सुराकीका आधारमा भारतीय चल्ला बरामद गरेको छ । बरामद गरिएका चल्लालाई पशु क्वारेन्टाइनमा बुझाइन्छ । उसले व्यक्ति र गाडीलाई कारबाही र चल्लालाई नष्ट गर्ने गर्दछ ।
भारतमा सस्तो पाइने चल्ला ठूलो मात्रामा ल्याएर कारोबारीले चितवनलगायतको जिल्लाबाट ल्याएको भन्दै बेचबिखन तथा पाल्दे गर्दछन् । भन्सारको सशस्त्र प्रहरीले क्वारेन्टाइनलाई साथमा लिएर यसअघि पोल्टी फर्मबाटै चल्ला बरामद गरेको थियो ।
सरकारले वर्डफ्लु भित्रिन सक्ने भन्दै लामो समयदेखि भारतबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । यद्यपि, सीमावर्ती जिल्ला र छोटी नाकाबाटै सहजै कारोबारीले गाडीमै चल्ला र कुखुरा भित्र्याउने गरेको पाइएको छ । सरकारले प्रतिबन्ध लगाएपनि नेपालगञ्ज र आसपासमा कटान हुने अधिकांश बोइलर कुखुरा भारतबाटै ल्याउने गरिन्छ । छोटी नाकाबाट बिहानै साइकलमा राखेर या भारतीयले नै आफ्ना मान्छेमार्फत ‘सेटिङ’ मिलाएर पसलमै कुखुरा ल्याइदिने गर्दछन् । पशु क्वारेन्टाइन कार्यालयसँग जनशक्ति र साधन स्रोत नहुँदा छोटी नाकामा फैलिन सकेको छैन । उसले प्रहरीले समातेर ल्याइदिएको कुखुरा, चल्ला र अण्डा नष्ट गर्ने गरेको छ ।
बाँकेलाई जहिले पनि वर्डफ्लुको जोखिमपूर्ण जिल्ला मानिन्छ । पछिल्ला दिनमा भने वर्डफ्लु नियन्त्रण र रोकथामका नाममा रकम आउन छोडेको छ । सरोकारवालाले पनि बजेट नआएपछि जनचेतनामूलक कार्यक्रम गर्न छोडेका छन् ।
बाँकेको खजुरामै चल्ला उत्पादन हुने गर्दछ । त्यहाँ उत्पादन भएका चल्ला पहाडी जिल्लाहरुमा जाने गर्दछ । सीमावर्ती जिल्ला बाँके, बर्दियामा भने भारतीय कुखुरा नै पाल्ने गरिएको छ । घरमै खानाका लागि पनि स्थानीयले भारतीय बजारमा गएको बेलामा एक÷दुई वटा बोइलर साइकलमा झुन्ड्याएर ल्याउने गर्दछन् । भारतीय व्यापारीले डोकोमा राखेर भारतीय चल्ला गाउँगाउँमा पु¥याउँछन् । त्यसको पनि नियन्त्रण हुन सकेको छैन । सस्तो र घरमै ल्याउने भएकाले गाउँलेले भारतीय चल्ला किन्ने गरेका छन् । गाउँलेलाई वर्डफ्लु र भारतीय चल्ला प्रतिबन्धित छ भन्ने पनि थाहा छैन । कहिले काही क्षेत्र र मन्त्रालयले नेपालगञ्जमा गर्ने अन्तरक्रियामा गाउँका किसानको उपस्थिति नहुने भएकाले उनीहरु अनविज्ञ छन् ।

प्रतिक्रिया दिनुहोस्