भारतीय सेना प्रमुखको बयान विवादमा, तनावले ठूलो संघर्षको रूप लिन सक्छः रावत



 

नयाँदिल्ली, (एजेन्सी)
भारतका स्थलसेना प्रमुख विपीन रावतले डोकलाम सीमामा १० हप्तासम्म भारत र चीनबीचको तनावलाई लिएर भारतको उत्तरी सीमामा यस प्रकारको तनावले ठूलो संघर्षको रूप लिन सक्ने बताए।

रावतले संघर्षको स्थितिमा पाकिस्तानले पश्चिमी मोर्चामा फाइदा उठाउन सक्ने पनि बताएका थिए। रावतको उक्त बयानलाई लिएर चीनको पनि प्रतिक्रिया आएको छ। नयाँ दिल्लीस्थित सेन्टर फर ल्यान्ड वारर्फेर स्टडिजले आयोजना गरेको एक सेमिनारमा रावतले बुधबार उक्त कुरा बताएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

हालै मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनमा आयोजित ब्रिक्स सम्मेलनमा सहभागिता जनाएका थिए। उनले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उनीहरूबीच सीमामा शान्ति कायम राख्ने विषयमा छलफल भएको थियो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेँग सुआङले रावतको बयानमा प्रतिक्रिया दिँदै भने– ‘भारतले दुई देशबीचको सम्बन्ध कसरी राम्रो बनाउन सक्छ भन्ने विषयमा वार्ता गर्नुपर्छ। चीन र भारत एक–अर्काको महत्त्वपूर्ण छिमेकी हुन्। दुवै देशले क्षेत्रीय शान्ति र सुरक्षाका लागि मिलेर काम गर्नुपर्छ।’

उनले भने– ‘यो भारतको आधिकारीक बयान हो वा होइन भन्ने विषयमा म भन्न सक्दिनँ। के यो उनको निजी धारणा हो वा भारतको यो आधिकारिक सोच हो ?’ ब्रिक्स सम्मेलनपछि राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको थियो।

जिन पिङले मोदीलाई चीन र भारतले जोखिममाभन्दा धेरै विकासका अवसरलाई हेर्नुपर्ने बताएका थिए। उनले प्रधानमन्त्री मोदीलाई शान्तिपूर्ण र लाभपूर्ण सहयोगमा नै दुई देशको भविष्य भएको प्रस्ट पारेको प्रवक्ताले बताए।

भारत र चीनबीच सन् १९६२ मा युद्ध भइसकेको छ र पाकिस्तानसँग पनि भारतको तीन युद्ध भइसकेको छ। पाकिस्तान र चीन सबै परमाणु शक्ति सम्पन्न देश हुन्। रावतले यो उक्त सेमिनारमा विश्वसनीय प्रतिरोधक क्षमताले भारतलाई युद्धबाट बचाउन नसक्ने पनि बताएका थिए।

रावतले भने– ‘परमाणु हतियार प्रतिरोधक हतियार हो। यसले युद्धबाट हामीलाई टाढा राख्न सक्छ तर हाम्रो सन्दर्भमा सायद यो सही छैन।’ दोकलाम सीमामा चीनले सडक निर्माणकार्य शुरू गरेको थियो। यसमा भारतले आपत्ति जनाउँदै आफ्नो सैनिक तैनाथ गरेको थियो। यस घटनालाई लिएर १० हप्तासम्म तनाव जारी रहेको थियो।

प्रधानमन्त्री मोदीको चीन भ्रमणपछि आएको बयानमा रावतले भारत दुई वटा र अर्को आधा मोर्चामा युद्ध लड्न तयार रहेको बताएका थिए। यसको अर्थ चीन, पाकिस्तान र भारतमा सक्रिय विद्रोही समूहसँग रहेको विश्लेषकहरूले बताए।

प्रतिक्रिया दिनुहोस्