फेडेरर यूएस ओपनमा पराजित



 

न्युयोर्क, (एजेन्सी)
अर्जेन्टिनाका हुआन मार्टिन डेल पोट्रोसँग हारेर ग्रान्डस्लाम कीर्तिमानी रोजर फेडेररको यूएस ओपन जित्ने आशा यसपटक पनि तुहिएको छ। बुधबार राति भएको यूएस ओपनअन्तर्गत क्वार्टरफाइनल खेलमा स्विस खेलाडी फेडेरर ७–५, ३–६, ७–६, ६–४ को चार सेटमा पराजित भएका थिए। यो सँगै उनको २०औं ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्य यसपटक पूरा हुन सकेन। यसै वर्ष उनले अस्ट्रेलियन ओपन र बिम्बल्डन जितेर करिअरको १८औं र १९औं ग्रान्डस्लाम उपाधि जितेका हुन्।

अर्जेन्टिनी डेल पोट्रोले यो स्तब्ध नतिजा निकालेपछि यूएस ओपनको सेमिफाइनलमा स्थानसमेत सुरक्षित गरे। उनले फेडेरर र शीर्ष खेलाडी राफाल नाडालबीच यूएस ओपनमा पहिलोपटक आमने सामने हुन सक्ने सम्भावनालाई पनि समाप्त पारे। यी टेनिसका महारथीबीच अहिलेसम्म यूएस ओपनमा एक अर्कासँग भेट भएको छैन। यस्तै फेडेरर हारेपछि स्पेनी खेलाडी नाडालको शीर्ष स्थानमा यथावत् रहने पक्का पनि भयो। उनले रसियाका युवा खेलाडी एन्ड्री रुब्लेभलाई पराजित गरेर अन्तिम चारमा पुगेका थिए।

डेल पोट्रोले न्युयोर्कमा सन् २००९ मा ग्रान्डस्लाम जित्दा फेडेररलाई नै हराएका थिए। आठ वर्षपछि उनले ३६ वर्षीय खेलाडीमाथि पुनः जित हात पारे। फेडेररको लागि यूएस ओपनमा २००८ पछि रित्तो हात नै भइरहेको छ।

यस्तै महिला सिंगल्स उपाधि अमेरिकी खेलाडीले जित्ने तय भइसकेको छ। ३७ वर्षीया भेनस विलियम्स उपाधि दाबेदारीमा सबैभन्दा अगाडि रहेकी छिन्। २००० र २००१ का विजेता भेनससँगै कोको भेन्डेवेगे, स्लोएन स्टेफेन्स र मेडिसिन किज अन्तिम चारमा पुगेका हुन्। यसअघि १९८१ मा चार अमेरिकी खेलाडी अन्तिम चारमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्