दशैंको अग्रिम टिकट अन्योलमा, माग पूरा नभए पनि जनतालाई दुःख दिन्नौंः महासंघ



 

रोविन पौडेल, काठमाडौं

दशैंमा आफन्तसँग टीका लगाउने उद्देश्यले घर जान टिकट काट्न पाउने आसमा नयाँ बसपार्क पुगेका उदयपुर कटारीका युवराज कार्की रित्तो हात फर्किनुपर्यो। कार्की र उनका ४ जना साथी एकाबिहानै बसपार्क पुगेका थिए। कामै छाडेर टिकट काट्न पुगेका कार्की समयमै बसपार्क पुगे पनि उनीहरूले टिकट पाएनन्। घर जाने टिकट नपाएपछि उनीहरू चिन्तित देखिन्थे।

अग्रिम टिकट लिन आएका उनी टिकट नपाउँदा सास्ती पाएको गुनासो गर्छन्। टिकट खुलाउने आसमा ११ बजेसम्म त्यहीँ बसेका उनी टिकट नदिने जानकारी अगाडि नै नपाएको गुनासो गर्छ। उनीजस्तै बिहीबार बिहानै बसपार्क पुगेका सयौं व्यक्ति रित्तो हातै फर्किएका थिए।

यातायात व्यावसायीले सरकारसामु राखेको माग पूरा गर्ने छाँटकाँट नदेखेपछि बिहीबारदेखि खुला हुने भनिएको दशैंको अग्रिम टिकट बुकिङ रोकिएको हो। यातायात व्यावसायीले भाडा वृद्धि तथा छत राख्ने नपाए टिकट बुकिङ खुला नगर्ने अडान लिएपछि दशैं मनाउन घर जान टिकट काट्न जाने निरास बनेर फर्किएका हुन्।

यातायात व्यवस्था विभाग र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच भदौ २२ गतेबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो। तर सहमति विपरीत व्यवसायीले भाडा समायोजन तथा छत राख्न नपाएसम्म बुकिङ नखुलाउने अडान लिँदा दशैंमा घर जाने हजारौं यात्रु अलमलमा परेका हुन्। तर व्यावसायी भने सार्वजनिक सवारीको भाडादर समायोजन र बसको छत राख्न पाउनुपर्ने माग पूरा नहुँदा अग्रिम टिकट नखुलेको बताउँछन्।

महासंघले सर्वसाधारणको यात्रा लगेज साथमा लग्न सक्ने व्यवस्था हुने गरी छतमा सामान राख्न आह्वान गरे पनि सरकारी पक्षले त्यसमा सहमति जनाएको छैन। त्यस्तै सडकको अवस्था सुधार्न नसके पनि कमसेकम सडकका खाल्डखुल्डी पुर्नुपर्ने माग महासंघले राखेको थियो।

सडकको अवस्थाले गर्दा गाडी समयमा आउन नसक्ने तथा खर्च पनि बढ्ने भएकाले भाडा समायोजन गरेर मात्र अग्रिम बुकिङ थाल्ने महासंघको योजना रहेको महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ।

उहाँले व्यवसायीका मागप्रति सरकार गम्भीर नभएको आरोपसमेत लगाउनुभयो।
यद्यपि सरकारले व्यवसायीको माग पूरा नगरे पनि सर्वसाधारणलाई दशैं मनाउन घर जान भने नरोक्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो– ‘माग पूरा नभएको खण्डमा सर्वसाधारणलाई रोक्ने पक्षमा व्यवसायी छैन। त्यसका लागि हामी उचित विकल्प निकाल्छौं।’ उहाँले यस विषयमा महासंघले केन्द्रीय समितिको बैठक डाकिसकेको पनि जानकारी दिनुभयो। बैठकले अब के गर्ने भन्ने निर्णण गर्ने उहाँको दाबी छ।

वरिष्ठ उपाध्यक्षले महासंघ त्यसका लागि वैज्ञानिक विकल्पको खोजीमा रहेको र यात्रुका भावना बुझ्दै गाडी थपेर तथा दोहोरो ट्रिप गरेरै भए पनि सर्वसाधारणलाई गन्तव्यमा पुर्याउने विश्वास दिलाउनुभयो।
‘यद्यपि जननिर्वाचित सरकार भएका कारण सरकार जनतालाई सहयोग नगर्ला भन्ने मलाई लाग्दैन।’ –उहाँले भन्नुभयो। यसमा जनताको सरोकार प्रत्यक्ष जोडिएकाले महासंघ आशावादी रहेको समेत बताउनुभयो।

यता यातायात व्यवस्था विभागले भने भाडा समायोजनको काम भइरहेको तर तत्काल वृद्धि गर्न नसकिने जनाएको छ। यातायात महासंघका तीन मागमध्ये भाडा समायोजन र छत राख्न पाउनुपर्ने मागमाथि काम भइरहेको विभागको भनाइ छ।

विभागले तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला नगरिए सम्बन्धित सवारीलाई कारबाही गरिने विभागको भनाइ छ। यद्यपि भाडा समायोजनको काम भने जारी भइरहेको छ, क्यारियर राख्ने कामका लागि नियमावली नै संशोधन गर्नुपर्ने विभागका कर्मचारीको बुझाइ छ।

सडकका खाल्डाखुल्डी पुर्नेलगायत समस्या समाधानका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सडक विभागलाई आग्रह गरिसकेको विभागका प्रवक्ता तथा डा. टोकराज पाण्डेले जानकारी दिनुभयो। उहाँले कसै गरेर पनि सर्वसाधारणलाई दशैंको मुखमा अप्ठइरोमा नपार्ने विश्वास दिलाउन चाहेको बताउनुभयो।

समयमा टिकट नखोलिँदा व्यवसायीले रिजर्भका नाममा यात्रुसँग आफूखुसी रकम लिन नपाएको विभागका एक अधिकारीले बताए। केही व्यवसायीले भने थाहै नदिई अग्रिम बुकिङ खुला गरिसकेका छन्।

यसैबीच व्यवसायीले अग्रिम टिकट बुकिङ नखोल्ने तथा यात्रु नओसार्ने हो भने सरकारले विकल्पको रूपमा साझा बस, प्याब्सन तथा सरकारी निकायसँग भएका सवारीसाधन उपयोग गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको छ।

गुड्नेभन्दा उड्ने रहर
दिपेन्द्र थापा, काठमाडौं

दशैं आएसँगै काठमाडौंमा काम र पढाइको सिलसिला बसेका सर्वसाधारण काठमाडौंबाट बाहिरिने क्रम विस्तारै बढ्न थालेको छ। राजमार्गमा बाटोमा अवरोध हुने भएकाले पनि गुडेर भन्दा उडेर जाने यात्रुको संख्या पनि दिनहुँ बढ्दै गएको छ। सरकारले राजमार्ग विस्तारको काम गरिरहे पनि त्यहाँ आउने अवरोधका कारण हवाई यात्रुको संख्या बढेको हो।

बाढीपहिरोका कारण मुलुकका प्रमुख राजमार्ग अवरुद्ध हुँदा दशैं–तिहार तथा छठमा हवाई यात्रुको संख्या पहिलेभन्दा १५ प्रतिशतसम्मले थपिने जानकार बताउँन्। दशैंकै अवसरमा हुने उडानको अग्रिम बुकिङका रूपमा आधाभन्दा बढी टिकट बुकिङ भइसकेको एअरलाइन्स कम्पनीहरूले जनाएका छन्।

यस समयमा वर्षभरि विभिन्न सेवा सुविधा प्रदान गरेर नियमित उडान गर्दैै आएका हवाई कम्पनीले दशैं तिहारमा भने पूर्ण भाडादर लागू गर्दै आएका छन्। यो मात्र नभएर हवाई कम्पनीहरूले यात्रुको चाप बढ्ने क्षेत्रमा पूर्ण भाडा दर लागू गर्ने कार्य नौलो होइन। दशैंतिहारको कमाइले वर्षभरि धान्नुपर्ने भएकाले पूर्ण भाडा दर लागू गर्ने गरेको जानकार बताउँछन्।

नेपालमा हाल नेपाल वायुसेवा निगम, बुद्ध, यती, सौर्य, श्री, गोमा, तारा, सीता, सिम्रिकलगायत विमानले नियमित आन्तरिक उडान गर्दै आएका छन्।

नेपाल वायुसेवा निगम
निगमका सहप्रवक्ता शैलेन्द्र कंसकारका अनुसार नेवानीको टिकट बुकिङ कार्य जारी छ। नेपाल वायुसेवा निगमका २ मोडर्न आर्ट ६० जहाज र २ वाई १२ ई, ४ टुइनअटर जहाजमार्फत निगमले आन्तरिक उडान गर्दै आएको छ। निगमले हाल टुइनअटर खोटाङको खानीडाँडा, भोजपुर, रुकुम, सिमीकोट बाजुरा, तुम्लिङटार, नेपालगन्ज, ताप्लेजुङ, जुम्ला र भोजपुरका क्षेत्रमा उडान गर्दै आएको छ।

निगमको अर्काे ५६ सिटे २ माडर्न आर्ट ६० जहाजमार्फत दैनिक रूपमा विराटनगर, धनगढी र हप्तामा तीन दिन भद्रपुर र नेपालगन्जमा उडान हँदै आएको छ। त्यस्तै वाई १२ ई १७ सिटे जहाजबाट निगमले पोखरा, सिमरा, भैरहवामा नियमित उडान गर्दै आएको छ।

निगमले दशैंतिहारलाई भनेर कुनै खास योजना ल्याएको छैन। निगमले हाल सस्तो भाडादेखि पूर्ण भाडादर टिकट विक्री गरिरहेको छ।

बुद्ध एयरलाइन्स
निजी सेवा प्रदायक कम्पनी बुद्ध एयरलाइन्सले पनि दशैंतिहारका लागि खासै नयाँ योजना ल्याएको छैन। कम्पनीले पूर्ण भाडादर बुद्ध एयरका मार्केटिङ मेनेजर विनिता थापाले जानकारी गराउनुभयो। उहाँका अनुसार कम्पनीले टिकट मूल्यमा कुनै परिर्वतन गरिएको छैन।

कम्पनीका सबै उडानका ३० प्रतिशत मात्र बुकिङ हुन बाँकी रहेको छ। एयरलाइन्सका साना ठूला गरी १० जहाज छन्। बुद्धले पोखरामा नियमित ५ देखि ६ उडान, विराटनगर ५, भद्रपुर २, जनकपुर २, भरतपुर ७ ,भैरहवा ४, नेपालगन्ज २, धनगढी २, तुम्लिङटार २ र माउन्टेन फ्लाइट ७ देखि १० नियमित उडान गर्दै आएको छ। एयरलाइन्सले १८ सिटे दुईवटा, ४२ सिटे ३ वटा र ७२ सिटे ५ वटा जहाजमार्फत सेवा प्रदान गरिरहेको छ।

यती एयरलाइन्स
यती एयरलाइन्सको दशैंका लागि भनेर ८० प्रतिशत टिकट बुकिङ भइसकेको कम्पनीले जनाएको छ। कम्पनीका प्रबन्धक भीमराज राईका अनुसार दशैंका लागि बुकिङ आउने क्रम जारी रहेको छ। कम्पनीको ७ ओटा साना ठूला जहाजले उडान भरिरहेका छन्। कम्पनीको ७२ सिटे १ वटा र ३० सिटे जहाजमार्फत दैनिक भद्रपुर २ वटा, तुम्लिङटार एउटा, विराटनगर ४ वटा, जनकपुर एउटा, भरतपुर ५ वटा, भैरहवा र नेपालगन्ज ३–३ वटा र पोखरा ८ वटा नियमित उडान गर्दै आएको छ। कमपनीले दशैंतिहारमा पूर्ण भाडादरमा नै टिकट विक्री हुने बताएको छ।

श्री एयरलाइन्स
श्री एयरलाइन्सले ५० सिटे र ७० सिटे जहाजमार्फत दैनिक भद्रपुर १, विराजनगर १, भैरहवा २, नेपालगन्ज २, धनगढी २ उडान हुँदै आएको छ। एयरलाइन्सका कपोरेट म्यानेनेजर अनिल मानन्धरका अनुसार यात्रुको चापलाई ध्यानमा राखेर आवश्यक परेमा सोही रुटमा थप उडान थप गर्नै योजना रहेको छ।

सौर्य एयरलाइन्स
सौर्य एयरलाइन्सले पनि २ वटा जहाजमार्फत विराटनगर दैनिक ३, भद्रपुर १, भैरहवा २, धनगढी १ र नेपालगन्ज २ वटा नियमित उडान गर्दै आएको छ। कम्पनीका मार्केटिङ शाखाकी कर्मचारी रोशनी अधिकारीका अनुसार १८ तारिखदेखि कम्पनीले पूर्ण भाडादर लागू गर्नेछ। यात्रुको चापलाई ध्यानमा राखेर उडान थपघट हुनेसमेत उहाँको मनाइ छ।

प्रतिक्रिया दिनुहोस्