खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजार हुने



 

खोटाङ, २३ भदौ । स्थानीय तह पुनःसंरचनाको शुरुबाटै विवादमा रहेको खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजारमा रहने भएको छ । जिल्लाको पुरानो सदरमुकाम रहेको खोटाङबजार र व्यापारिक केन्द्र इन्द्रेणीपोखरीमध्ये कुनै एक ठाँउमा केन्द्र रहनुपर्ने विषयको विवाद मतदानमार्फत टुङ्ग्याइएको हो ।

निर्वाचन आयोगले अस्थायीरुपमा खोटाङबजारमा नै गाउँपालिकाको केन्द्र राख्न परिपत्र गरे पनि इन्द्रेणीपोखरीमा केन्द्र राख्न प्रस्ताव आएपछि गाउँसभाले मतदानमार्फत केन्द्र तय गरेको जनाइएको छ ।

केन्द्रका विषयमा गाउँसभाले गरेको मतदानका क्रममा ४९ जना सदस्यले मतदान गरेका थिए । मतदानका क्रममा खोटाङबजार केन्द्रका पक्षमा २६ र इन्द्रेणीपोखरीको पक्षमा २३ मत खसेको वडा नम्बर ७ का वडाअध्यक्ष शिवप्रसाद पराजुलीले जानकारी दिनुभयो । स्थानीय निर्वाचनपश्चात् ६ महिनाभित्रमा नगरपालिका वा गाउँपालिकाको नाम तथा केन्द्र परिवर्तन गर्न पाउने व्यवस्थाअनुसार मतदानमार्फत केन्द्रको टुङ्गो लगाइएको हो ।

पुनःसंरचनाका क्रममा साबिकको इन्द्रेणीपोखरी, सिम्पानी, लिच्किराम्चे, खोटाङबजार, लिकुवापोखरी, सावाकटहरे, बडकादियाले, वाप्लुखा र चिप्रिङ गाविस गाभेर नौ वडा निर्माण गरिएको छ । उक्त गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको थियो ।

निजामती दिवसमा चार कर्मचारी सम्मानित

यसैबीच, निजामती सेवा दिवसका अवसरमा दिक्तेलमा बिहीबार आयोजित कार्यक्रममा जिल्लाका चारजना कर्मचारी सम्मानित भएका छन् । सेवानिवृत्त हुन लाग्नुभएका जिल्ला समन्वय समितिका लेखापाल भक्तकुमार सैँजू, जिल्ला अदालतका तामिलदार कृष्णकुमार खत्री, जिल्ला हुलाक कार्यालयका हुलाकी टेकप्रसाद आचार्य र जिल्ला मालपोत कार्यालयका कार्यालय सहयोगी टेकबहादुर बस्नेतलाई सम्मान गरिएको हो ।

सम्मानित कर्मचारीलाई लोक सेवा आयोग सगरमाथा अञ्चल कार्यालय, खोटाङका निर्देशक सूर्यनाथ कोइराला र प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले सम्मानपत्र प्रदान गर्नुभएको थियो । ‘निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने नाराका साथ मनाइएको १४औँ दिवसका अवसरमा प्रभातफेरीसमेत निकालिएको थियो ।

दिक्तेलस्थित हेलिप्याडबाट शुरु गरिएको प्रभातफेरी हाटडाँडा, पुरानो बेस क्याम्प हुँदै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा आयुर्वेद कार्यालयका प्रमुख अजय झा, सहायक प्रजिअ सन्तोष सुवेदी, शिक्षा कार्यालयकी रेखा राई लगायतले कविता वाचन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्