महरा–खस्याङबीच भेटवार्ता, तातोपानी नाका खुलाउन नेपालको जोड



 

नेपाल समाचारपत्र
काठमाडौं
चीनको औपचारिक भ्रमणमा रहनुभएका उप–प्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिहीबार चिनियाँ प्रधानमन्त्री ली खस्याङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सो भेटवार्ता द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा केन्द्रित थियो।

वर्षौ पुरानो द्विपक्षीय सम्बन्धलाई अझ निकट बनाउने बारेमा उहाँहरूबीच छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। त्यसअघि मन्त्री महराले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएको थियो।

यसक्रममा दुवै मुलुकबीच नेपालको उर्जा क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा सघाउनेबारेमा द्विपक्षीय सम्झौता भएको बताइएको छ। सो भेटवार्तामा नेपालले चीनसँग सीमा जोडिएका उत्तरी नाका खुलाउन फेरि चीनलाई आग्रह गरेको छ।

गत महिना नेपाल भ्रमणमा आउनुभएका चिनियाँ उप–प्रधानमन्त्री वाङ याङसँगको द्विपक्षीय भेटवार्ताका क्रममा पनि नेपालले नाका खुलाउन चिनियाँ पक्षलाई आग्रह गरेको थियो।

बिहीबार महरा–वाङबीचको भेटवार्ताका क्रममा भूकम्पपछि अवरुद्ध रहेको तातोपानीसहित अन्य नाका सञ्चालनमा ल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यससँगै नेपालले रेल्वे पूर्वाधार निर्माण, भूकम्पपछिको पुनर्निर्माण, चिनियाँ लगानी बढाउनेलगायतका बारेमा चिनियाँ पक्षसँग छलफल गरेको बताइएको छ।
विगतमा दुवै मुलुकबीच भएका सहमति कार्यान्वयनमा जोड दिँदै चीनले रसुवागढी–स्याप्रुबेंसी सडक स्तरउन्नतीमा सघाउने जनाएको छ।

सो भेटवार्ताका क्रममा नेपाल र चीनबीच केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल सेवा सञ्चालन गर्ने सम्भाव्यता अध्ययन गर्ने विषयमा चीनसँग सकारात्मक छलफल भएको परराष्ट्र स्रोतले जनाएको छ। चीनले अघि बढाएको ‘वेल्ट एन्ड रोड इनिसियटिभ’ मा जनस्तरको सम्बन्ध, व्यापार, पर्यटन र लगानी प्रवद्र्धन, रेल सेवा, सडक र अन्य पूर्वाधार विकासमा नेपालले लाभ लिन सक्नेबारेमा महराले समकक्षी वाङलाई बताउनुभएको थियो।

चीनले सन् २०१७ लाई ‘गन्तव्य नेपाल’ कार्यक्रम सञ्चालन गरेकोमा मन्त्री महराले चीन सरकारप्रति आभार व्यक्त गर्नुभएको थियो। साथै उहाँले नेपाल ‘एक चीन’ नीतिमा प्रतिवद्ध रहेकोमा विश्वस्त हुन चिनियाँ पक्षलाई आग्रह गर्नुभएको बताइएको छ। प्रतिउत्तरमा विदेशमन्त्री वाङले आफ्नो मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको प्रष्ट्याउँदै नेपालको विदेश नीतिबारे कहिले पनि प्रश्न नउठाएको धारणा राख्नुभएको थियो।

‘तिब्बत, ताइवानसहित एक चीन नीतिको नेपालले सधैं समर्थन गरेको छ र नेपालको भूमि प्रयोग गरेर चीनविरोधी गतिविधि हुन दिएको छैन, यसमा चीनले हार्दिक प्रशंसा गर्न चाहन्छ’ –द्विपक्षीय भेटवार्तापछिको पत्रकार सम्मेलनमा मन्त्री वाङले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्