एघार वर्षपछि मध्यपुरमा जिब्रो छेड्ने जात्रा



 

पुष्कर बुढाथोकी, भक्तपुर
मध्यपुर थिमिमा ११ वर्षपछि जिब्रो छेड्ने जात्रा मनाइएको छ। इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा स्थानीय युवाको पहलमा मनाइएको हो।

मध्यपुर थिमि नगरपालिका वडा नं ५ का वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर यो जात्रालाई लोप हुनबाट जोगाउनुभएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन बेलुका जात्रा मनाइने प्रचलनअनुसार थिमिकै दिगु टोलस्थित दिगुभैरव मन्दिरअगाडिको डबलीमा नातु अर्थात् सुइरोले जिब्रो छेडाएको थियो।

समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसबाट पीडित भएपछि थिमिका जनतालाई दुःखबाट छुटकारा दिलाउन थिमिका आरध्यदेवी बालकुमारीको साधना गरेपश्चात् भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षस यस ठाउँमा यस्ता साहसिक व्यक्तिको रहेको भन्दै भागेको जनश्रुति रहेको बताउनुभयो।

जिब्रो छेड्ने दिनलाई द्यः दुसालेगु भन्ने गरेको र त्यसदिन बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको बली दिएर बालकुमारीको साधना गर्नुपर्ने प्रचलन छ।

आर्थिक तथा विभिन्न कारणले लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय युवाले यसलाई जोगाउन जात्रा सञ्चालन गरेका हुन्। जात्रालाई व्यवस्थित एवं मर्यादित ढंगबाट सञ्चालन गर्न येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर मध्यपुर थिमि नगरबासी तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहयोगमा जात्रा सञ्चालन भएको हो।

समितिका अध्यक्ष श्रेष्ठले पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरूलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरूबाट पीडित भएपछि थिमिका जनताहरूलाई दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधन गरेपश्चात् भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरू यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरूको रहेको भन्दै भागेको जनश्रुति रहेको बताउनुभयो।

अध्यक्ष श्रेष्ठले जिब्रो छेड्ने जात्राका लागि करिब एक महिना अगाडिदेखि नै गरेको तयारी भएको बताउनुभयो। जिब्रो छेड्ने नातु (सुइरो) बनाउनका लागि करिब एक महिनाअगाडि नातु बनाउने नकर्मीलाई खबर गर्न जाने परम्परा रहेको छ। नातु बनाउन खबर गर्न जाँदा रातो भाले, समेबजिसहित नकर्मीको घरमा जाने र नकर्मीले नातु बनाइसकेपछि ३ हप्ताजति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राख्नु पर्ने प्रचलन रहेको उहाँले बताउनुभयो। उहाँले जात्राका लागि त्रिशूल जस्तै ३ तीर भएको नातु अर्थात् सुइरो बनाएको बताउनुभयो।

जिब्रो छेड्न ८ दिनलाई द्यः दुसालेगु भन्ने गरेको र त्यसदिन बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको बली दिएर बालकुमारीको साधना गर्नुपर्ने प्रचलन रहेको बताउनुभयो।

जिब्रो छेड्ने जात्राको ४ दिनअगाडि थिमिको लाय्कूका पःमाहरूले हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर जात्रामा डबलीमा राख्ने प्रचलनमा रहेको जानकारी दिदैं अध्यक्ष श्रेष्ठले इन्द्र« जात्राको दिनमा बालकुमारीमा छ्वयला ब्वः, रातो भालेको बलीसहितको पूजा गरी भोज खुवाउने प्रचलन रहेको बताउनुभयो।
त्यसैको भोलिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ।

त्यसदिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ। जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारीदेखि दिगु भैरवसम्मको स्थानमा बत्ती दिन गइन्छ। त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ। यो पूजापश्चात् जिब्रो छेड्ने व्यक्तिमा दैवीशक्ति प्राप्त हुने जनविश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्