उपचारको माग राख्दै, अनिश्चित्कालीन यातायात बन्द



 

दीपेन्द्र शर्मा, जाजरकोट
बस दुर्घटनाका घाइतेहरूको उपचारको माग गर्दै अनिश्चित्कालका लागि जाजरकोटमा यातायात बन्द गरिएको छ। गत फागुन २६ गते यात्रुवाहक बस भेरी नगरपालिका ४ बोहरामा भएको दुर्घटनाका घाइतेहरूको उपचारमा ध्यान नदिएको तथा मृतकका आफन्तलाई राहत नदिएको भन्दै पीडितका आफन्तहरूले अनिश्चित्कालका लागि यातायात बन्द गरेका छन्। जिल्लाबाट बाहिरिने र भित्रिने सवारीसाधन ठप्प भएपछि जाजरकोटका स्थानीय समस्यामा परेका छन्। बन्दका कारण जाजरकोटबाट बाहिर जाने यात्रुहरू बसपार्कमा अलपत्र परेका छन्।

गत फागुन २६ गते जाजरकोटको सदरमुकाम खलंगाबाट पश्चिमको छेडागाड नगरपालिका–१ खारासम्मका लागि छुटेको ना३ख २२७९ नम्बरको बस छिन्छु–जाजरकोट सडकअन्तर्गत भेरी नगरपालिका ४ बोहरामा दुर्घटना भएको थियो। दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो। ३५ जना घाइते भएका थिए। तीमध्ये ३१ जनाको सफल उपचारपश्चात् आ–आफ्नो घर फर्किसकेका छन्। बाँकी ४ जनाको भने उपचारत् छन्।

बस दुर्घटनामा घाइते भएका भेरी नगरपालिका–११ का सन्तोष मल्ल र भेरी नगरपालिका १२ का प्रताप गिरी टिचिङ हस्पिटल काठमाडौंमा रहेका छन्। यस्तै उपचारकै क्रममा बी एन्ड बी हस्पिटल काठमाडौंमा भेरी नगरपालिका–१३ का सुजन गिरीको उपचार भइरहेको छ।
घाइतेहरूलाई उपचार गर्नमा बिलम्ब गरेको तथा मृतकका आफन्तलाई राहत नभएको भन्दै घाइतेका आफन्तहरूले बिहीबारदेखि जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका सवारीसाधन चल्नमा रोक लगाएको घाइतेका आफन्त मोती गिरीले बताए। जिल्लाको कुदुमा घाइतेका आफन्तहरूले बिहानैदेखि सडकमा बसेर यातायात सञ्चालनमा रोक लगाइरहेको गिरीले बताए।

घाइतेको शीघ्र्र उपचारको व्यवस्था तथा पीडितलाई तत्काल राहत उपलब्ध गराउने बारेमा सम्बन्धित सरोकारवालाहरूलाई बोलाएर छलफल गरी समाधान निकाल्ने जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले जानकारी दिए। ‘बुधबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा स्थानीय जनप्रतिनिधि, पीडितका आफन्त, यातायात व्यावसायीबीचमा छलफल गर्दा समितिले २५ गतेभित्र बिरामीको उपचार गर्ने सहमति भएर पीडितका आफन्त जानुभएको हो, आज फेरि यातायात बन्द गर्नुभएछ’ –उनले भने। आजै बोलाएर छिट्टै यातायात खोल्ने प्रयास गरिने निमित्त प्रजिअ शर्माले बताए।

 

प्रतिक्रिया दिनुहोस्