निजामती दिवसमा रक्तदान



 

नेपाल समाचारपत्र
म्याग्दी
‘निजामती कर्मचारीको प्रतिबद्धताः पारदर्शिता र चुस्तता’ भन्ने मूल नारासहित बिहीबार म्याग्दीमा १३औं निजामती सेवा दिवस–२०७४ मनाइएको छ। निजामती सेवा दिवस मूल समारोह समिति म्याग्दी र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति म्याग्दीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरी दिवस मनाइएको हो। जिल्ला स्वास्थ्य कार्यालयको प्राङ्णमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न १९ जनाले रक्तदान गरेका छन् भने १९ पिन्ट रगत संकलन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायाधीश रामप्रसाद शर्माले रक्तदान जीवनदान भएकाले धार्मिक हिसाबले पनि पूर्णित कार्य भएको बताए।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले तराईमा आएको बाढी तथा डुबानलगायतका कारण देश शोकको अवस्थामा रहेकाले मानवीय सहयोग पुर्याउन रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए।

कार्यक्रमको अवसरमा म्याग्दी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारी र नेपाली सेनाका जवानहरूले रक्तदान गरेका थिए। कार्यालयका प्रमुख तथा प्रतिनिधि, निजामती कर्मचारी र पत्रकारलगायत सहभागी रहेको कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले सञ्चालन गरेका थिए।

नेपालमा वि.सं. २०१३ सालमा निजामती सेवा शुरू भए पनि दिवस मनाउन थालिएको भने १३ वर्ष पूरा भएको हो। निजामती सेवा ऐन २०४९ समेत लागू भएको छ। तर, हरेक वर्ष दिवस मनाउँदै आए पनि निजामती सेवा परिणाममुखी र जनमुखी बन्न नसकेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्