शाहको इच्छा पूरा भएन



 

गत भदौ ६ गते नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा भएको थियो। सो उद्घाटन सत्रमा नेपाली क्रिकेटको विवाद साम्य गर्न छलफल गरिएको थियो। सोही कार्यक्रममा निर्वाचित क्यानले विवादित मुद्दामाथि सकारात्मक निर्णय पनि भएको थियो। सो साधारणसभामा युवा तथा खेलकुदमन्त्री राजन केसीले क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

त्यतिबेला शाहले नेपाली क्रिकेटमा विवाद आएकोमा चिन्तित हुँदै सल्लाह दिएका थिए। उनले भनेका थिए– ‘नेपाली क्रिकेटमा विवाद आउनुमा कसको दोष भनेर सोच्नुभन्दा अहिलेको अवस्था कसरी सुधार्न सकिन्छ त्यसमा सोच्न जरुरी भएको छ।’

यही नै कार्यक्रममा शाहले आफ्नो उच्चतम स्कोर ९६ रनझैं आफू पनि जीवनमा ९६ वर्षसम्म बाँच्ने इच्छासमेत राखे। तर, यो इच्छा पूरा हुनुअगाडि नै नेपाली क्रिकेटलाई माया गर्ने यी व्यक्ति आज हामीमाझ रहेनन्। शाहले आफ्नो खेलाडी करियरमा शतक बनाउन भने सकेका थिएनन्।

शाहले यो इच्छा गरेको केही सातामै ८९ वर्षको उमेरमा यही भदौ २१ गते उनको निधन भएको थियो। लामो समयदेखि मुटुको रोगबाट ग्रसित शाहको एक हप्ताअघि मात्रै आफ्नै निवासमा बाथरुममा लडेर टाउकोमा गम्भीर चोट लागेको थियो। उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुँदै थियो। तर, उनी मृत्युसँग हार खान पुगे ।उनले दुई सातअघि भनेका थिए– ‘म ९० मा पुग्न लागेको छु। उच्चतम ९६ रनझैं जीवनमा पनि ९६ वर्षसम्म पुगौंला। हेरौं के हुन्छ ?’

स्व. जयकुमारनाथ शाह
क्यान, पूर्वअध्यक्ष

शाहको निधनले क्रिकेटमा अपूरर्णीय क्षति पुर्याएको छ। क्यानको नेतृत्व शाहले लामो समयसम्म गरेका थिए। २०२२ सालदेखि करिब ४० वर्ष क्यानको नेतृत्व गरेर नेपालमा क्रिकेटको विकासमा टेवा पुर्याएका थिए। उनी करिब २०६२ सालसम्म क्यानको नेतृत्वमा रहेका थिए। शाहको कार्यक्रालमै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान बनायो। तर, गणतन्त्र आएपछि र शाह क्यानबाट अलग भएपछि भने नेपाली क्रिकेटमा धेरै असर पर्यो। यो क्रम अहिलेसम्म पनि जारी छ।

राष्ट्रिय खेलाडीसमेत रहेका शाहको करिअरमा केही पुरस्कारबाट पनि सम्मानित भएका थिए। जसमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) द्वारा सन् २००३ मा लाइफटाइम सर्भिस अवार्डबाट सम्मानित हुनेमा पनि उनी पहिलो नेपाली खेलाडी थिए। त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्चले पनि शाहलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो। उनको बिहीबार पशुपति आर्यघाटमा दाह संस्कार गरियो।

प्रतिक्रिया दिनुहोस्