‘अंग्रेजलाई हराउनेको सन्ततिले सबैलाई हराउन सक्छन्’



 

गत सोमबार नेपाल बक्सिङ संघले कजाखस्तानका प्रशिक्षक मुख्तार बर्दिमबेतोभलाई बिदाइ गर्यो। एसियाली बक्सिङ महासंघको सहयोगमा गत जुन ९ तारिखमा नेपाल आएका मुख्तार ३ महिनाको नेपाल बसाइपछि स्वदेश फर्केका हुन्। उनको हवाई टिकट र ३ महिनाको पारिश्रमिक एसियाली बक्सिङ महासंघले बेहोरेको थियो। यस्तै नेपाल बक्सिङ संघले नेपाल बसाइको क्रममा खान, बस्न र स्थानीय यातायातको व्यवस्था मिलाएको थियो।

आफ्नो बसाइको क्रममा उनले राष्ट्रिय टोलीका खेलाडीका साथै विभागीय टोली र क्लबस्तरका खेलाडीलाईसमेत तालिम दिएका थिए। यसै गरी बक्सिङको दायरा फराकिलो पार्न विभिन्न स्कुलमा पनि डेमोन्स्ट्रेसन कक्षाहरूको आयोजनामा उनी संलग्न भएका थिए। कुनै पनि खेलका लागि ३ महिनाको प्रशिक्षणलाई छोटो अवधि मानिन्छ। यद्यपि छोटो अवधिमा पनि धेरै ज्ञान बाँड्नु र हासिल गर्नु प्रशिक्षक र प्रशिक्षार्थी दुवैका लागि उपलब्धिमूलक हो। छोटो अवधिमा नेपाली बक्सिङ खेलाडीमा खेलप्रतिको लगाव र खेल्ने शैलीमा देखिएको भिन्नताले यो प्रस्ट हुन्छ।

आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता तथा हाल बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगरले मुख्तारको प्रशिक्षणबाट खेलाडीको टेक्निकमा धेरै सुधार आएको बताए। उनले सन् १९९९ मा नेपालमा नै आयोजना गरिएको आठौं दक्षिण एसियाली खेलकुदपछि नेपालले बक्सिङमार्फत् अन्तर्राष्ट्रिय स्वर्ण जित्न नसकेको अवस्थामा मुख्तारको प्रशिक्षणलाई लामो समय निरन्तरता दिन सकेमा राम्रो परिणाम आउन सक्ने बताए। आठौं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रशिक्षणको अनुभव पाएका उनले मुख्तारको प्रशिक्षणलाई नै त्यसपछिको उच्चकोटीको स्वीकारेका छन्।

मुख्तार बर्दिमबेतोभ,
कजाखस्तानका,
बक्सिङ प्रशिक्षक

यस्तै अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी दिनेश श्रेष्ठले पनि विदेशी प्रशिक्षकसँग तालिम लिएपछि टेक्निकमा सुधार आउनुका साथै आत्मविश्वास पनि बढेको बताएका थिए। बिदाइको क्रममा नेपाली खेलाडीले उनलाई विभिन्न उपहार दिएका थिए। तर, उनले खेलाडीलाई विभिन्न उपहार दिएर भन्दा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेपछि मात्र आफू वास्तवमै खुसी हुने बताएका थिए। यसअघि पनि बंगलादेशमा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुद तयारीका क्रममा मंगोलियाबाट बक्सिङ प्रशिक्षक आएका थिए। त्यसयता लामो अन्तरालपछि नेपाली बक्सिङमा विदेशी प्रशिक्षकको रूपमा मुख्तार भित्रिएका हुन्।

मुख्तारको ३ महिने नेपाल बसाइको क्रममा नेपाली खेलाडीको स्तरमा पारेको प्रभाव, प्रशिक्षण गर्ने तरिका र नेपाली बक्सिङलाई परिणाममुखी बनाउन के–कस्तो गृहकार्य अवलम्बन गर्न सकिन्छ भन्ने सन्दर्भमा भाषा अनुवादक लक्ष्मीप्रसाद त्रिपाठीको सहयोगमा कविरस शर्मासँग भएको कुराकानी यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ।

तपाईंको प्रशिक्षणपछि नेपाली खेलाडीमा कस्तो सुधार आएको छ ?

शुरुमा नेपाली खेलाडीमा अटइक र काउन्टर अटइकको ज्ञान भए पनि कन्फ्युज थिए। आफ्नो प्रतिद्वन्दीलाई सटिक मुक्का हान्दा कति दूरीमा बस्नुपर्छ भन्ने ज्ञानको कमी थियो। प्रायः पन्चहरू लामो दूरीमा बसेर प्रहार गर्थे र खेर जाने गर्दथ्यो। तर, अहिले दूरी मापन गरेर मुक्का हान्ने तरिकामा सुधार आएको छ।

खेलाडीको कमजोरीलाई सुधार्न के गर्नुपर्छ ?

पहिलो समस्या भनेको बक्सिङ प्रतियोगिताहरूको कमी हो। अर्को, यहाँ एक महिना प्रशिक्षणपश्चात् विदेशी खेलाडीसँग स्पेरिङका लागि अवसर नमिल्नु हो। आफ्नो स्तर जाँच्न आफूभन्दा स्तरीय खेलाडीसँग प्रतिस्पर्धा गर्न जरुरी छ। यसका लागि निश्चित् अन्तरालमा विदेशी खेलाडीसँग खेल्नुपर्दछ। यसो गर्दा अनुभव बढ्नुका साथै खेलाडीको स्तर उकास्न पनि सहयोग मिल्दछ। यसले प्रशिक्षकलाईसमेत कमी–कमजोरी औंल्याउन सहयोग पुग्छ।

नेपालको प्रशिक्षणमा कस्ता चुनौतीहरू छन् ?

बक्सिङलाई उकास्न खेलाडीको अवस्थामा सुधार ल्याउनुपर्दछ। यो खानपान र बसोबाससँग गाँसिएको हुन्छ। शुरुमा यसमा सुधार आउन जरुरी छ। मुख्य कुरा भनेको खेलाडी अनुशासनको परिधिभित्र बस्नुपर्छ। समयलाई महत्त्व दिनुपर्छ।

उचित समयमा खाने, सुत्नेलगायत क्रियाकलाप गर्नुपर्दछ। खेलाडीले आफूलाई बक्सिङप्रति नै पूर्ण समर्पित गर्नुपर्छ। योबाहेक सम्बन्धित निकायले खेलाडीको समस्या र आर्थिक अवस्थालगायत दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा ध्यान दिई उनीहरूलाई खेलप्रति जिम्मेवार बनाउन सहयोग गर्नुपर्दछ।

ओलम्पिक र दक्षिण एसियाली खेलकुदमा भारतीय बक्सर अगाडि छन्, उनीहरूलाई हराउन नेपाल कति सक्षम छजस्तो लाग्छ ?

तपाईंहरू पनि भारतीय बक्सरहरूभन्दा कम हुनुहुन्न। तुलनात्मकरूपमा भारत आर्थिक रूपले पनि सबल भएकाले उनीहरू समयअनुसार विभिन्न देशमा गएर प्रशिक्षण गर्ने गर्दछ। त्यहाँबाट उनीहरूले नयाँ टेक्निकहरू सिकेका छन्। तर, मेरो मान्यतामा तपाईंहरू कमजोर हुनुहुन्न। तपार्ईंको पुर्खाले ब्रिटिससँग हार मानेनन्। तपाईंहरू लडाकू स्वभावका हुनुहुन्छ। त्यसैले तपाईंहरूलाई निरन्तर र वैज्ञानिक प्रशिक्षणको मात्र अभाव छ। त्यसका लागि नियमित प्रशिक्षणका साथै देश विदेशमा गएर स्पेरिङ अनिवार्यरूपमा गर्न जरुरी छ। वर्तमान परिप्रेक्ष्यमा विश्वका उत्कृष्ट बक्सरको जमात रहेको देश क्युबा पनि गरिब देशमा गनिन्छ। तैपनि क्युबाले विश्वस्तरको प्रतियोगितामा स्वर्ण जितिरहेको छ भने नेपालले पनि नसक्ने कुरै आउँदैन। त्यसैले बक्सिङमा उत्कृष्ट हुन नियमित र वैज्ञानिक प्रशिक्षण आवश्यक छ।

तपाईंसँग अन्तर्रँष्ट्रिय बक्सिङमा २५ वर्षको अनुभव छ, नेपाली बक्सिङको स्तर कसरी बढाउन सकिन्छ ?

नेपाली बक्सिङको स्तर उकास्न नियमित प्रशिक्षण गराउन जरुरी छ। प्रत्येक दुई–दुई महिनाको अन्तरालमा विदेशी खेलाडीसँग खेलाउनुपर्दछ। यसले हरेक २ महिनाभित्र गरेको तालिमको विश्लेषण गर्न सजिलो हुन्छ र कमी–कमजोरीलाई सुधार्न मौका मिल्दछ। योबाहेक यहाँका प्रशिक्षकहरूले पनि समयसापेक्ष प्रशिक्षणलाई परिमार्जित गर्नुपर्दछ। अंग्रेजलाई हराउनेको सन्ततिले सबैलाई हराउन सक्छ। संसारका कुनै पनि देशका खेलाडीलाई हराउन सक्ने सामथ्र्य नेपाली खेलाडीमा छ। तपाईंहरूमा भएको त्यो आँटलाई सही तरिकाले प्रयोग गर्ने माध्यमको मात्र खाँचो भएको म देख्छु।

तपाईंको देशमा र यहाँ ग्रासरुटदेखि बक्सिङ खेलाडीको उत्पादनमा के भिन्नता छ ?

हाम्रो देशमा ८–१० वर्षका बच्चालाई बटुलेर नियमितरूपमा बक्सिङको स्पोर्टस् क्लासहरू सञ्चालन गर्ने गरिन्छ। अनि त्यसमा राम्रो गर्नेहरूलाई छनोट गरी खाना र बस्ने सुविधासहित प्रशिक्षण गराइन्छ। अनि विभिन्न प्रतियोगिताहरूमा तिनै बच्चाहरूले गरेको प्रदर्शनको आधारमा एकेडेमीमा सामेल गराइन्छ। जसले गर्दा बलियो राष्ट्रिय टिम तयार पार्न सहयोग मिलेको छ। नेपालमा पनि यस्तै गर्न जरुरी छ। तर, नेपालमा स्कुल लेभलदेखि बक्सिङ खेल्नेहरू दुर्लभ नै देखियो। ग्रासरुट लेभलदेखि बक्सिङ विकास गर्ने हो भने स्कुल लेभलदेखि नै बक्सिङ प्रशिक्षण गराउनुपर्दछ।

प्रतिक्रिया दिनुहोस्