रानीको रात सार्वजनिक



 

नेपाली फिल्मका अनुभवी तथा पुराना निर्देशक दयाराम दाहालले निर्देशन गरेको फिल्म रानीको रातको जुन हेर्दै सम्झन्छु तिमीलाई बोलको श्रव्यदृश्य बिहीबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

रिलिज गरिएको भिडियोमा पूर्वमिस नेपाल मलिना जोशी तथा नवनायक सरुक ताम्राकार र मनिससुन्दर श्रेष्ठले स्क्रिन शेयर गरेका छन्। नवनायकद्वय सरुक पुराना कलाकार सानु ताम्राकार र मनिस चर्चित अभिनेता शिव श्रेष्ठको दाइका छोरा हुन्। उक्त गीतमा विजय घिमिरे र निकिता थापाले स्वर दिएका छन्।

फिल्ममा अनुपविक्रम शाही र सुसान खड्का पनि प्रमुख भूमिकामा रहेका छन्। जय माँ अम्बे फिल्म्स्को ब्यानरमा भानु महर्जनद्वारा प्रस्तुत फिल्मको निर्माता विमल गुभाजु रहेका छन्। आगमी कात्तिक २ गते रिलिजमा आउने फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको यसका निर्देशक दयाराम दाहालले जानकारी गराए। ‘फिल्ममा प्रेमभित्रको त्याग, समर्पण र इष्र्यालाई निकै सूक्ष्मरूपमा देखाउन खोजिएको छु, निर्देशक दाहालले भने– ‘यसमा पारिवारिक स्पर्श पनि पाइनेछ।’ झण्डै २ वर्षअघि लुटेरा फिल्म निर्देशन गरेका दाहालले यो फिल्मबाट समयअनुसार फरक विषयवस्तु बोकेको दाबी गरे। उनले फिल्ममा नयाँ धार भन्ने कुरा नहुने प्रस्ट पार्दै यसलाई विषयवस्तु र परिवेशका रूपमा लिन आग्रह गरे। दाहालले समयअनुसार बदलिन सक्नुपर्ने र त्यसको प्रभाव फिल्ममा पनि देखिनुपर्ने औंल्याए। अहिलेको अवस्थामा पुराना शैलीका फिल्म किन चल्दैन भन्ने प्रश्नमा निर्देशक दयारामले यसमा फिल्मलाई दोष दिन नमिल्ने र फिल्मी क्षेत्रमा लाग्ने हर कोही समयअनुसार परिवर्तित हुनुपर्नेमा जोड दिए।

पहिलेका पुस्तासँग पनि काम गरेर चर्चा पाएका निर्देशक दाहालले फरक प्रसंगमा भने– ‘कुनै पनि फिल्म निर्माण गर्दा त्यही समयको विषयवस्तु र परिवेशलाई केन्द्रमा राख्नुपर्छ। मैले रानी फिल्म निर्देशन गरेर समयसँगै हिँड्ने प्रयास गरेको हुँ।’

नयाँ धारको फिल्म सफल हुने र पुराना धारको फिल्म असफल हुने कुराको खण्डन गर्दै निर्देशक दाहाल भन्छन्– ‘कुनै पनि फिल्मको पहिलो प्राथमिकता भनेको दर्शकलाई मनोरञ्जन र सन्देश दिनु हो। दर्शकलाई फिल्म अवधिभर बाँधेर राख्ने खालको फिल्म निर्माण गर्न सके नयाँ र पुरानो भन्ने कुराको सवाल उठ्दैन।’

कार्यक्रममा अभिनेता शिव श्रेष्ठले अहिलेका पुस्तामा आफूमाभन्दा धेरै क्षमता रहेको र आफूले मनिस (फिल्मका नवनायक) लाई फिल्म खेलाइदिन पर्यो भनेर कसैसँग नगुहारेको प्रस्ट पारे। ‘नेपाली फिल्मका निर्देशक राजाले रानी फिल्म बनाएका छन्। मलाई विश्वास छ यो फिल्म राम्रो बनेको छ’ –शिवले भने।

फिल्मकी अभिनेतृ मलिनाले रानी फिल्ममा अभिनय गर्न पाउनु आफ्नो लागि निकै खुसी र अविस्मरणीय हुने बताइन्। ‘यो फिल्ममा हामी सबैले राम्रो काम गरेका छौं र आशा गरौं हामी सफल पनि हुन्छौं’ –उनले भनिन्। एक रमाइलो प्रसंगमा मलिनाले मनिससुन्दर श्रेष्ठ रोमान्टिक र सरुक ताम्राकार अलि लजालु स्वभाव भएको बताइन्।

त्यसै गरी नवकलाकारद्वय मनिस र सरुकले फिल्ममा राम्रो काम देखाउने प्रयास गरेको बताए।

प्रतिक्रिया दिनुहोस्